सम्झनाः पदमसिंह विश्वकर्मा

महेशकुमार खाती १ माघ २०७८, शनिबार १८:०७

नेपाली प्रजातान्त्रिक र दलित आन्दोलनका अगुवा पदमसिंह विश्वकर्मा यो दुनियाबाट विदा हुनुभयो। केही बेर फोटो हेरिरहें। अनि मनमा अनेक कुराहरु खेले। यो धर्तीमा जन्मेपछि एकदिन त हामी सबै भौतिक शरीरलाई संसारबाट विदा गर्नैपर्छ। अजम्बरीको वरदान कसैले पाएको पनि छैन। मेरो मनमा आदरणीय व्यक्तित्व पदमसिंह विश्वकर्माका सम्झनाहरु चलचित्रको रिलझैं घुमिरहे।

उनले यो संसार छाडेसँगै मेरो एउटा सपना पनि अधुरो रह्यो। साथी सज्जन र मैले दलित आन्दोलनका संस्थापक भगवत सर्वजीत विश्वकर्माबारे एक डकुमेन्ट्री बनाउने सोच बनाएको थिएँ। केही पहिलेदेखिको योजना भए पनि विभिन्न कारणले अघि बढ्न सकेको थिइनँ। त्यो डकुमेन्ट्री सर्वजीतमा केन्द्रित हुने भए पनि पदमसिंहलाई मुख्य स्रोत बनाउने हाम्रो टिमको सोच थियो। उनी आन्दोलन र सर्वजीतका सहयात्री थिए। पक्कै पनि धेरै कुरा अपुरो हुनेछ त्यो डकुमेन्ट्रीमा। यस मानेमा पनि म ज्यादै दुःखी छु।

आदर्श, त्याग, निष्ठा र इमान्दारीको राजनीति गर्ने एक व्यक्ति थिए। आफ्नो भन्दा पनि देश, जनता, लोकतन्त्र र दलित समुदायको मुक्तिको चाहाना राख्ने योद्धा थिए। जसले अवसर तथा लाभका लागि कहिल्यै राजनीति गरेनन्। जति बाँचे इमान्दार मात्र भए। समाज परिवर्तनको सपना देखेर राजनीतिमा हाम फालेका पदमसिंह विश्वकर्मा बाँचुञ्जेल नेपाली कांगे्रसको चारतारे झण्डा फरफराउन दिलोज्यान दिएर लागे। उनको प्रिय पार्टीले उनलाई कहिल्यै आफ्नो सम्झेन। सादा जीवन उच्च विचारमा रमे। सधैं अभावको जिन्दगी बाँचे। नेपाली प्रजातान्त्रिक सँगै दलित आन्दोलनमा उनको नाम अग्रपंक्तिमा आउँछ। आजीवन राजनीतिक र सामाजिक अभियानमा सक्रिय भइरहे। तर, बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भनेजस्तै पदमसिंह पनि जीवनभर छायाँमा परे।

उनको जीवनको राजनीतिक तथा सामाजिक भूमिका तथा योगदान उल्लेख्यनीय पाइन्छ। १९९० साल चैत २१ गते बागलुङ नगरपालिका –९ लम्गाँउमा जन्मिएका विश्वकर्माले संस्कृतमा उत्तरमध्यमा (प्रवीणता सरह) सम्मको अध्ययन गरेका थिए। विसं १९९७ मा बागलुङमा भगत सर्वजीत विश्वकर्माद्वारा स्थापित विश्व सर्वजन संघको २००६ सालमा सदस्यता लिई जातीय विभेद र छुवाछुतविरुद्ध आन्दोलन गर्दा तत्कालीन राणा शासनले जेल सजाय गरेको थियो। उनको अगुवाइमा गाउँमा आरनको टुडाल भाँच्ने अभियान सञ्चालन भएको थियो। २०१५ सालमा भएको नेपाल विश्वकर्मा संघको तेस्रो महाधिवेशनबाट सभापति चुनिए। भारतमा रहँदा नेता केआई सिंहसँग भेट भएपछि राजनीतिमा लाग्न प्रेरित भएका उनले कांग्रेस नेता सुवर्णशमशेर राणासँगको भेटपछि नेपाली कांग्रेसको साधारण सदस्यता लिएका थिए। २०१२ सालमा नेपाल फर्केपछि २०१५ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको प्रचारमा क्रियाशील भई खटे। २०१५ सालमा भगत सर्वजीत विश्वकर्माले स्थापना गरेको विश्व सर्वजन संघसंस्थाको नाम परिवर्तन गरी विश्वकर्मा सर्वजन सुधार संघ राखियो, जसको संस्थापक समेत भए। २०४८ सालमा झापाको कलबलगुडीमा सम्पन्न नेपाली कांग्रेसको महाधिवेशनमा दलितहरुको पक्षमा काम गर्न भातृ संगठनको माग गरे।

सादा जीवन उच्च विचारमा रमे। सधैं अभावको जिन्दगी बाँचे। नेपाली प्रजातान्त्रिक सँगै दलित आन्दोलनमा उनको नाम अग्रपंक्तिमा आउँछ। आजीवन राजनीतिक र सामाजिक अभियानमा सक्रिय भइरहे। तर, बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भनेजस्तै पदमसिंह पनि जीवनभर छायाँमा परे।

‘नेपाल दलित संघ’ गठन हुनुलाई पदमसिंहको महत्वपूर्ण भूमिका रहेको मानिन्छ। विश्वकर्मालाई २०५५ सालमा नेपालगन्जमा भएको नेपाल दलित संघको महाधिवेशनले दलित नेता घोषणा गरेको थियो। उनले २०५८ चैत ६ गते राष्ट्रिय दलित आयोगको संस्थापक अध्यक्षको जिम्मेवारी पाए। राजनीतिक रुपमा २०३६ सालको जनमत संग्रहमा नेपाली कांग्रेसको तर्फबाट सक्रिय सहभागिता जनाएका विश्वकर्मा २०५३ सालमा नेपाली कांग्रेस बागलुङ क्षे नं. १ को सभापति भई ५ वर्षसम्म काम गरे भने  २०५७ सालमा जिल्ला कार्य समितिको निर्वावित सदस्य बने। त्यसपति कांग्रेसको महासमिति सदस्य भए।

२०४६ को जनआन्दोलन र लोकतान्त्रिक आन्दोलन २०६२/०६३ मा पनि उनी अग्रमोर्चामा सामेल भएका थिए। राजा ज्ञानेन्द्रले निरंकुशता लादेपछि उनी पनि सडकमा ओर्लिए। २०६३ मा उनको नेतृत्वमा  बागलुङ बजारमा दलित समुदायको प्रदर्शनले निषेधाज्ञा तोड्न सफल भएको थियो।

बनारसमा संस्कृत अध्ययन गरेका विश्वकर्मा हिन्दु धर्म तथा संस्कृतका कुशल ज्ञाता तथा अभ्यासकर्ता थिए। संस्कृतका श्लोकहरु कण्ठस्त थिए। हक्की र निडर स्वभावका उनी स्पष्ट वक्ता थिए। लोकतन्त्रको पक्षमा तथा दलित समुदायको मुक्तिको सवालमा उनी सक्रिय रहुन्जेल बोलिरहे। उनी भाषण गर्दा संधै भन्ने गर्थे, ‘मनमा इमान्दारी, काँधमा जिम्मेवारी र मस्तिष्कमा बफादारी हुनुपर्छ।’ हक्की स्वभावका उनको भाषण सुनी रहूँ जस्तो लागिरहन्थ्यो। बनारसबाट फर्केपछि नेपाली कांगे्रसको राजनीति सँगै आफ्नै गाउँको लहरेपीपल माध्यमिक विद्यालयमा प्रधानाध्यापक भएर चेतना छरे। जसका कारण बागलुङमा उनलाई ‘पदमसिंह मास्टर’ भनेर पनि धेरैले चिन्छन्। २०५६ सालको संसदीय निर्वाचन अघि शिक्षण पेसालाई त्यसै छाडेर पूर्णकालीन राजनीतिमा लागे। बागलुङ क्षेत्र नम्बर १ बाट सांसदको दाबेदार रहेका उनी पार्टीमा शक्ति र सम्पत्ति नभएका कारण नै पछि परे। टिकट पाउनुपर्ने पालो उनको थियो। कांग्रेसको तर्फबाट टंकप्रसाद शर्मा कँडेल विजयी भए। पार्टीले राष्ट्रिय सभामा मनोनित गर्ने भनेको थियो। तर, धोका पाए।

उनले इमान्दारी पूर्वक पार्टीको निर्णय माने। कहिल्यै पदको बार्गेनिङ गरेनन्। लाभको पदमा पुग्न कुनै नेताको दैलो चाहरेनन्। पार्टी विभाजन सँगै उनी शेरबहादुर देउवा नेतृत्वको पार्टीमा लागे। त्यतिबेला गिरिजाप्रसाद कोइरालाले बैठकमा भनेका थिए रे, ‘खै त पदमसिंह विश्वकर्मा पण्डित’ भनेर। देउवा प्रधानमन्त्री भएपछि राष्ट्रिय दलित आयोग गठन गरे। जसको संस्थापक अध्यक्ष पदमसिंह भए। पहिलो र अन्तिम लाभको पद त्यही थियो उनको जीवनको। छोटो समयमा आयोगमा रहेर आयोगलाई संवैधानिक बनाउनुपर्छ, दलित आन्दोलनका संस्थापक भगवत सर्वजीत विश्वकर्मालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ, उनको हुलाक टिकट प्रकाशन गर्नुपर्छ भन्ने जस्ता योजना अघि सारे। जसमध्ये सरकारले हुलाक टिकट केही अघि प्रकाशन गरेको छ। त्यसपछि भने उनी सधैं पाखा लगाइए। आयोगबाट हटेसँगै पदमसिंह काठमाडौंबाट बागलुङ फर्के। आपूmसँगै वृद्ध र अस्वस्थ श्रीमतीका साथ। अनि सुरु भयो उनको जिन्दगीमा अभाव। आयोगमा रहँदा पनि पछिको भविष्य सोचेर दुई पैसा जोर्न चाहेनन्।

घर खर्च तथा औषधोपचार गर्न पनि हम्मे पर्ने अवस्था आयो। हुदाँखाँदाको शिक्षण पेशा पनि राजनीतिकै कारण पहिल्यै त्यसै छाडेर बसेका थिए। स्रोत केही थिएन। अनि किन नपरोस् आर्थिक समस्या । पछिल्लो समयमा छोरी र ज्वाइँ बाबुराम घमालको साथ सहयोगमा उनी चलेका थिए। पार्टीले भने त्यति वास्ता गर्दैन्थ्यो तर, कांग्रेसको केन्द्र र जिल्लासँग सधैं सम्पर्कमा रहिरहन्थे। अदालतले भ्रष्टचारी घोषणा गरेर वर्षौं जेल सजायँ काटेकालाई पनि उपचार खर्च भनेर लाखौं रुपैयाँ दिने कांग्रेस नेतृत्वको सरकारले पनि विश्वकर्मा जस्ता इमान्दार र त्यागी नेताको जीविकाको सवाल त परै जाओस् उपचारमा पनि सहयोग गरेन। त्यसो त यही नेपालको सरकार हो, जसले नेताहरुलाई उपचारका लागि हरेक वर्ष विदेशका महँगा अस्पतालमा करोडौं रुपैयाँ तिर्छ। तर, विश्वकर्माहरु कहिल्यै नजरमा परेनन्।

उमेरले वृद्ध भए पनि विचार र काम गराइमा उनी युवाभन्दा कम थिएनन्। उनी अध्यक्ष रहेको भगवत सर्वजीत विश्वकर्मा प्रतिष्ठानले सर्वजीतको शालिक निर्माण सम्पन्न गराइछाड्यो। पदमसिंहको चाहना थियो—त्यो शालिक बागलुङ बजारको केन्द्र लोकतान्त्रिक चोकमा निर्माण गर्ने। तर, विभिन्न कारणले सफल हुन नसकेपछि सर्वजीतको गाउँको विश्वकर्मा उच्चमाविमा निर्माण भएको छ। राजनीतिक घटनाहरुमा अपडेट भइरहने र आफ्नो धारणा बनाइहाल्थे। कुनै पनि विषयमा उनको प्रष्ट विचार हुन्थ्यो। अध्ययन र लेखनमा सक्रिय उनले दलित सम्बन्धी किताबको पाण्डुलिपि तयार गरेका छन् । ‘दलित दिग्दर्शन’  पुस्तक निकाल्न पाण्डुलिपि तयार पारे पनि त्यो आर्थिक अभावमा प्रकाशन हुन सकेन।

दलित समुदायको मुक्तिको सवालमा पनि उनी प्रष्ट थिए। दलित समुदायलाई वर्षौं पहिले राज्यले नै योजनाबद्ध तवरले दलन गरेको र त्यहाँबाट माथि उठाउन पनि राज्यले विशेष योजना ल्याउनुपर्ने उनको धारणा थियो। शिक्षामा विशेष जोड दिएमात्र माथि उठ्न सकिन्छ भन्थे उनी। समाजमा शिक्षा, आर्थिक, राजनीतिक लगायत कारण दलित समुदाय गैरदलित भन्दा तल रहेको भन्दै विभेद अन्त्य गर्न गैरदलित बढी अग्रसर हुनुपर्ने माग गर्थे। उनी सधैं भन्ने गर्थे, ‘जे पनि माथिबाट तल खस्छ, जातीय छुवाछुत तथा विभेदहरु पनि माथिबाट भत्कनुपर्छ।’ उनी नेपाली दलित आन्दोलनको एक इतिहास थिए ।

बाँचुञ्जेल दलित आन्दोलनले पनि उनको योगदानको सही कदर गर्न सकेन। दलित समुदायलाई ब्राह्मणवादी राज्यसत्ताले सधैं दमन गरिरने बताउने पदमसिंहलाई सास फेरुन्जेल पार्टी तथा दलित मुक्तिको चर्का कुरा गर्नेहरुले वास्ता गरेनन्। अब केही दिन उनको योगदानको खुबै चर्चा हुनेछ। स्वास्थ्यबारेमा जानकारी समेत नलिनेहरुले निधन हुँदासाथ पार्टीको झण्डा ओढाउन हतारो गरे। आखिर यस्तै छ हाम्रो समाज बाँचुन्जेल कसरी बाँचेको छ कस्तो छ अवस्था केही वास्ता हुँदैन। मरेपछि भने खुबै गुणगान गाइन्छ। यो क्रम पदमसिंह विश्वकर्मामा पनि लागु हुनेछ। लोकतन्त्र र दलित आन्दोलनको महान र अथक योद्धाको अवसान भएको छ। नयाँ पुस्ताको काँधमा अब जिम्मेवारी थपिएको छ, विश्वकर्माले पु¥याएको योगदान, बौद्धिक क्षमताको खोज तथा अनुसन्धान र प्रचार गर्नुपर्ने हुन्छ। तबमात्र उनले देखेको सपना पुरा हुनेछ। अनि बल्ल उनी प्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ। आफ्नो व्यक्तिगतभन्दा पनि बृहत समाजको हितको लागि अभावमा भएपनि आदर्श, निष्ठा र इमान्दारीपूर्वक बाँचेर सच्चा छवि निर्माण गर्ने आदरणीय पदमसिंहप्रति हार्दिक श्रद्धाञ्जली।…अलविदा ।

khatibaglung@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank