काँकडभिट्टा — झापामा आठ महिनाकी छोरीसहित एकै परिवारका तीनजनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा कनकाई नगरपालिका १ दुर्गापुरका ३४ वर्षीय रविन विश्वकर्मा, उनकी २९ वर्षीया श्रीमती मुना विश्वकर्मा र आठ महिनाकी छोरी रुविना विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आठ महिनाकी छोरी रुविना सहित बाबु-आमाको झुण्डिएको अवस्थामा सोमबार विहान शव भेटिएको थियो । इलाका प्रहरी कार्यालय सुरुंगाका अनुसार पहिला आठ महिनाकी छोरी रुविनालाई झुण्ड्याएर पछि दम्पतीले आत्महत्या गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको छ ।
नानीलाई आमाले छातीमा टाँसेर बोकेको अवस्थामा देखिएको छ । उनीहरुले आफ्नै घरमा डोरीको पासो लगाएर हात्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । मृतक रविन वैदेशिक रोजगारीमा जानका लागि केही दिन पहिले काठमाण्डौसम्म गएको तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएर आएको स्थानीयले बताएका छन् ।
आत्महत्या गर्नुपर्ने कारण खुल्न सकेको छैन भने अहिले घटनास्थलमा प्रहरीले अनुसन्धान थालेको छ । उनीहरु झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुंगाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिए ।
Leave a Reply