दलितलाई आवास कार्यक्रम : एक दशकमा पाए पाँच हजार घर

दलित अनलाईन ९ श्रावण २०७८, शनिबार २१:१७

सिरहा— जनता आवास कार्यक्रमअन्तर्गत विगत एक दशकको अवधिमा सिरहा र सप्तरीका करिब पाँच हजार दलित तथा विपन्न परिवारले पक्की भवन पाएका छन् ।

जनता आवास कार्यक्रम अन्तर्गत आर्थिक ०६६/०६७ देखि हालसम्ममा सिरहाका दुई हजार ३ सय ७७ र सप्तरीका दुई हजार ५ सय ८६ गरी दुवै जिल्लाका चार हजार ९ सय ६३ दलित तथा विपन्न परिवारले पक्की आवास भवन पाएका हुन् ।

फुसको छाप्रोमा कष्टकर जीवनयापन गर्दै आएका दलित विपन्न परिवारले पक्की आवास भवन पाएपछि हर्षित बनेका छन् । सङ्घीय सरकारको बजेटबाट गत आर्थिक वर्ष २०७६/०७७ मा मात्र सिरहाका २०० र सप्तरीका २ सय ८५ दलित विपन्न परिवारलाई पक्की आवास निर्माण गरी हस्तान्तरण गरिएको शहरी विकास तथा भवन कार्यालय राजविराजका प्रमुख कृष्णदेव झाले जानकारी दिए ।
प्रमुख झाका अनुसार सिरहामा ३ सय १५ आवास भवन बनाउने योजना रहेकोमा २ सय भवन निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेको र १ सय १५ भवन निर्माणाधीन अवस्थामा छ भने सप्तरीमा ५ सय ३ आवास भवन निर्माण गर्नुपर्नेमा २ सय ८५ भवन निर्माण सम्पन्न भइसकेको र बाँकी २ सय १८ भवन निर्माणाधीन अवस्थामा छ ।

बजेट अभावका कारण आर्थिक वर्ष ०७७/०७८ मा सिरहाको औरही गाउँपालिकामा ५ सय आवास भवनबाहेक अन्य ठाउँमा आवास भवन थपिएको छैन । सिरहाको औरही–१ देखि ५ सम्ममा ५ सय घर आवास भवन बनाउन सम्झौता भएर निर्माण कार्य शुरु भएको र त्यसबाहेक सिरहा र सप्तरीमा कुनै आवास भवन बनाउने योजना नआएको प्रमुख झाको कथन छ ।

बरण्डासहित दुई कोठे पक्की भवनका लागि सरकारले प्रतिघर रु तीन लाख ३२ हजार ५ सयका दरले बजेट छुट्याएको छ । यसका साथै घरसँगै शौचालय निर्माणका लागि थप रु १५ हजार विनियोजन गरिएको कार्यालय प्रमुख झाले बताए ।
अतिविपन्न तथा दलित समुदायलाई आवास उपलब्ध गराउने सरकारी योजनाअनुसार आर्थिक वर्ष ०६६÷०६७ देखि सिरहा, सप्तरीलगायतका जिल्लामा जनता आवास कार्यक्रम सञ्चालन भइरहेको छ ।

आव ०७३/०७४ सम्म जनता आवास कार्यक्रम सङ्घीय सरकारले सञ्चालन गर्दै आएकामा आर्थिक वर्ष ०७४/०७५ बाट प्रदेश सरकारले सो कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank