सप्तरी -सप्तरीमा दलित समुदायका लागि पक्की आवास निर्माण हुने भएको छ ।अति विपन्न दलित समूदायलाई ‘जनता आवास कार्यक्रम’ अन्तर्गत सप्तरीमा यस वर्ष ६ सय ६६ वटा पक्की आवास निर्माण हुने भएको छ ।
जिल्लाका मरिक (डोम) तथा मेहतर समूदायका लागि आवास निर्माण गर्न थालिएको योजनाअनुसार पहिलो चरणमा २ सय ७१ वटा पक्की आवास निर्माण प्रक्रिया सुरु भएको हो । निजी तथा गाउँ ब्लकको जग्गामा बसोवास गरिरहेका परिवारका लागि आवास निर्माण सुरु भएको छ ।
प्रदेशसभा सदस्यसमेत रहेका संयोजक विदेश्वरप्रसाद यादवले जनता आवास कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७६-०७७ मा सप्तरीमा ६ सय ६६ वटा पक्की आवास निर्माण गर्ने तयारी रहेको बताए ।
कार्यक्रम अनुसार २ सय ७१ वटा आवास निर्माण थालिएको छ भने ऐलानी र अन्य जग्गामा बसोवास रहेको ती समूदायको आवास निर्माण गर्न स्थानीय तहले हालसम्म सिफारिस नपठाएकोले कार्य सुरु गर्न ढिलाई भएको बताइएको छ ।
अन्य आवास निर्माण पनि स्थानीय तहले सिफारिस पठाएसँगै कार्य सुरु गर्ने तयारी रहेको संयोजक यादवको भनाई छ ।
Leave a Reply