प्रहरीमा ८६ ‘दलित सेल’

प्रकाश धौलाकोटी १० फाल्गुन २०७९, बुधबार ०७:५६

काठमाडौँ — नेपाल प्रहरीले संघ, प्रदेश र जिल्लास्तरका प्रहरी इकाइहरूमा दलित सेल स्थापना गरेको छ । दलित समुदायमाथि हुने छुवाछुत र भेदभावमा आधारित अपराधका घटनामा जाहेरी, अनुसन्धान र पीडितसँग समन्वयका लागि प्रहरीले देशभर ८६ दलित सेल गठन गरेको हो । प्रहरीले केन्द्रीय कार्यालय र काठमाडौं उपत्यका प्रहरी कार्यालयसहित सबै प्रदेश प्रहरी कार्यालय र ७७ वटै जिल्लामा रहेका जिल्लास्तरीय प्रहरी कार्यालयहरूमा दलित सेल स्थापना गरी सञ्चालनमा ल्याएको हो ।

प्रहरीले विगतदेखि सञ्चालनमा रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रसँगै रहने गरी दलित सेल गरेको छ भने सोही केन्द्रमा कार्यरत प्रहरी कर्मचारीलाई दलित सेलको समेत जिम्मेवारी तोकेको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दलित समुदायमाथि अझै पनि जातकै आधारमा भेदभाव र त्यही आधारमा जघन्य प्रकृतिका अपराध हुने क्रम नरोकिएपछि त्यस्ता घटनामा अनुसन्धान र समन्वयका लागि संघ, प्रदेश र जिल्लामा रहेका प्रहरी युनिटहरूमा दलित सेल स्थापना गरिएको बताए ।

‘संविधान र कानुनको व्यवस्थाबमोजिम सबै प्रकारका भेदभाव र अपराधमा दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी सधैँ प्रयत्नशील छ । तर, दलित समुदायमाथि हुने भेदभावजन्य घटनामा कहिलेकाहीँ प्रहरीले पनि संवेदनशीलता बुझ्न सकेको देखिँदैन,’ प्रहरी महानिरीक्षक सिंहले भने, ‘त्यसकारण दलित मुद्दाको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले महिला, बालबालिका सेवा केन्द्रसँगै दलित सेल गठन गरेको छ ।’ उनले आफूले देशभरका प्रहरी अधिकारीलाई संविधान र कानुनको व्यवस्थाबमोजिम दलित समुदायमाथि हुने भेदभावका घटनामा संवेदनशील भएर अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताए ।

दुई साताअघि दलित मुद्दामा प्रहरी संवेदनशील नभएको गुनासो बढेको भन्दै राष्ट्रिय दलित आयोगले प्रहरी महानिरीक्षक सिंहलाई बोलाएर त्यसबारे जिज्ञासा राखेको थियो । आयोगको जिज्ञासापछि प्रहरीले आयोगका पदाधिकारीलाई बोलाएर दलित मुद्दामा प्रहरीले गरिरहेका गतिविधि र दलित सेल गठनको अवस्था र कार्यान्वयनबारे छलफल गरेको थियो ।

(यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank