काठमाडौं — नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड स्याफरले कोरोना महामारी नियन्त्रणका लागि जर्मनी र युरोपेली संघले नेपाललाई निरन्तर सहयोग गर्ने बताएका छन् । एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले जर्मनेली दूतावास र गोथे जेन्ट्रम काठमाडौँसँगको सहकार्यमा आज भर्चुअलरुपमा आयोजित अन्तरसञ्जाल सम्मेलनमा स्याफरले भने, ‘म भविष्यमा नेपालमा सीपयुक्त इन्जिनीयरहरू देख्न इच्छुक छु । अन्तर्राष्ट्रिय अवसरका लागि हामी विद्यार्थीलाई जर्मनीका प्रतिस्पर्धी इन्जिनीयरिङ कलेजसँग सहकार्य गरेर अघि बढ्न उत्प्रेरित गर्नेछौँ ।’
गोथे जेन्ट्रम काठमाडौँका निर्देशक सेबस्टेन वैस्टेकले गोथे नेतृत्वदायी भाषा केन्द्र रहेको र विश्वका दुई सयभन्दा बढी संस्था रहेको सञ्जालको पनि यो एउटा हिस्सा रहेको बताए । । गोथे जेन्ट्रम काठमाडौँका भाषा विभागका विभागीय प्रमुख बेन्जामिन म्याट्रेन र संस्थाका परीक्षा विभागका विभागीय प्रमुख विनम कर्माचार्यले जर्मनीको संस्कृति, इतिहास, ऐतिहासिक स्थल, उत्कृष्ट चाडपर्व, पृथक सभ्यता तथा त्यहाँको समृद्ध भाषाका बारेमा प्रस्तुति दिए ।
एड्भान्स्ड कलेज आफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टका अध्यक्ष रमेशकुमार सिलवालले जर्मन भाषाको महत्त्वबारे उल्लेख गर्दै यस किसिमका सम्मेलनले इच्छुक विद्यार्थीलाई मात्रैनभएर सम्पूर्ण सहभागीलाई लाभान्वित गराउने जानकारी दिए । जर्मनीको म्युनिचस्थित टेक्निकल विश्वविद्यालयबाट इन्जिनीयरिङ विषयमा स्नातकोत्तर पूरा गरेका सोजन प्रजापतिले उक्त सम्मेलनको सहजिकरण गरेका थिए । एड्भान्स्ड कलेजका कार्यकारी निर्देशक कपिल रेग्मीले विश्वस्तरका शिक्षा, कला र विपद् व्यवस्थापनबारे यस प्रकारको अनुभव आदान प्रदान कार्यक्रमलाई निरन्तरता दिने बताए ।
photo by : Portrait Botschafter groß, © (c) Deutsche Botschaft Kathmandu
Leave a Reply