दलित भएकै कारण यसरी मारिएका थिए दिलबहादुर रम्तेल

दलित अनलाईन १४ फाल्गुन २०७७, शुक्रबार १३:०८

जनयुद्धका पहिलो सहिद

 

काठमाडौ– २०५२ साल फागुन १४ गते गोरखामा स्कुल पढ्न गएका ११ वर्षीय बालक दिलबहादुर रम्तेलमाथि प्रहरीको गोली लाग्दा मृत्यु भएको थियो । तत्कालीन विद्रोही पक्ष माओवादीले उनलाई ‘जनयुद्ध’ का क्रममा पहिलो पटक गोली हानी हत्या गरिएको भन्दै पहिलो सहिद मान्यो।

२०५२ फागुन १४ गते गोरखाको सूर्यज्योति माध्यामिक विद्यालय ताकुकोटका प्रधानाध्यापक वीरबहादुर गुरूङ र शिक्षक आशाकाजी श्रेष्ठलाई विद्यालयबाटै गिरफ्तार गर्न ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो। आशाकाजी उम्कन सफल भए तर, वीरबहादुरलाई प्रहरीले गिरफ्तार गर्‍यो।

उनलाई लिएर ताकुबाट पन्द्रुङ देउराली हुँदै घ्याम्पेसाल जानु पर्ने प्रहरी पन्द्रुङ देउराली जराङतिर लाग्यो। जराङस्थित् ब्रह्मचारिणी निम्न माध्यामिक विद्यालय नजिक पुग्दा विद्यार्थीले शिक्षक गिरफ्तारीको विरोध गरे। विद्यार्थीहरुले शिक्षक पक्राउ गरेर लैजान नहुने भन्दै विरोध स्वरुप प्रहरीलाई अवरोध गरे।

यसरी विवाद हुदै जाँदा प्रहरीको तर्फबाट फाइरिङ सुरु भयो। प्रहरीले चलाएको गोली लागि दुई विद्यार्थी घाइते भए। गोली लागि रामप्रसाद भट्ट र ४ कक्षामा पढ्ने ११ वर्षीय दिलबहादुर रम्तेल घाइते भए। उपचारपछि भट्ट बाँचे भने उपचार गर्न लैजाने क्रममा साविक ताप्ले गाविस छापथोकमा पुर्‍याउदा दिलबहादुरको मृत्यु भयो।

‘जनयुद्ध’ सुरु भएपछि राज्यले हत्या गरेको पहिलो व्यक्ति भएकोले रम्तेललाई तत्कालीन माओवादीहरुले ‘जनयुद्ध’का प्रथम सहिद मान्न थाले। रम्तेलको जन्म घरमा बारपाक सुलिकोट हो। बारपाक सुलिकोट गाउँपालिकामा रम्तेलको नाममा सहिद स्मृती पार्क बनाएको छ। पुष्पकलम दाहाल  ‘प्रचण्ड’ले उक्त शहिद पार्कको २०७५ सालमा उद्घाटन गरेका थिए।

पहिलो जनयुद्धका घाइते राम भट्टको पत्र 

दिल बहादुर, तिमी मेरो मिल्ने साथी थिर्यौ । उमेर र कक्षा नमिले पनि हाम्रो दौतरी मोजाको फुटबल खेल्ने बेला देखि नै मिल्थ्र्यौ । गाउँ कै ब्रम्हचारिणी स्कुलबाट हाम्रो भेट भयो र बिछोड पनि ।

अझै मन कटक्क दुख्छ ,त्यो दिन सम्झँदा जुन दिन हामी अनाहकमै कक्षा छोडेर रमिता हेर्न गयौं । नजाने पनि कुनै कारण थिएन , अरु सबै साथीहरु पनि त गएकै थिए । पहिलो पल्ट गाउँमा पुलिसले मान्छे समातेको समाचार सुन्नमा आयो । अर्को विद्यायका वीरबहादुर प्रिन्सिपललाई समातेको हेर्न र हुल बाँधेर मान्छे गए छोइदिन्छन् भनेर हामी पनि गएका थियौं । कति अजिवको रमिता थियो त्यो पुलिसले मान्छे समातेको । सायद, समातिएका सर छोडेको भए ?पुलिसले अन्धाधुन्ध गोली नचलाएको भए ?तिमीलाई र मलाइ गोली नलागेको भए ? आहा कति रमाइलो रमिता हुन्थ्यो त्यो क्षण ।

अझै सम्झन्छु दिल, जब जोडले कुनै कुरा पड्केको आवाज आयो, मेरो पेटमा केहि कुराले छेडिसकेको थियो । तिमी माथिल्लो गरामा लडिसकेका थियौ । हामीलाई गोली लागेको खबर सुन्ने बितिकै मेरो बुबा आएर मलाई उपचारका लागि लिएर गए तर तिमीलाई उपचारका लागि लाने मान्छे खोज्न हम्मे पर्यो । तल्लो जातको भएकै कारणले तिमीलाई त्यही छोडेर गए । कसैले छुन मानेनन् , तिम्रा बुबा आफनो मान्छे खोजेर आउँदा ढिला भैसकेको थियो । पछि सुन्छु, मलाइ त्यही रात काठमाडौं पुर्याए तर तिमीले बीच बाटोमै प्राण त्याग्यौं । मलाई अझै सम्म मन भित्र गड्ने कुरा नै यही बन्यो की मेरो बाल्यकालको मिल्ने साथी दलित कारण समयमा उपचार नपाएर मर्नु पर्यो । यो समाजले तिमीलाई जनयुद्धको प्रथम सहिद बनाइदियो र मलाई प्रथम घाइते ।
समाजले के भन्ला भन्ने प्रवाह नगरी हामी संगै खेल्थ्यौं, संगै खान्थ्यौं । मलाई अझै याद छ जब हामी खेलेर हाम्रो घर आएर पानी खान्थ्यौं आमाले तिमीलाई अम्खोरा छुन दिनुहुन्नथ्यो तर म तिमीलाई लुकाएर दिन्थे ।

दिल, गोलीले जरजर बनाएको मेरो ज्यान अझै निको भइसकेको जस्तो लाग्दैन । बिसेक होला भन्ने पनि लाग्दैन । नियमति औषधि खाएर बसेकै छु । कहिलेकाहीँ त लाग्छ तिमीसंगै बर मरेर गएको भए यत्रो सास्ती त भोग्नु पर्दैनथ्यो । उहिले घाउबाट पीप निस्किँदा स्कुलमा सबैले “अब रामे मर्छ” भनेर जिस्क्यिाउँथे । आजभोली समाजले “जिउँदो शहीद” भनेर गिज्याउँछन् । राम्रो ओखतीमुलो नपाएरै त मलाई सबैले गिज्याए जस्तो लाग्छ । नत्र त थोरै भए पनि सम्मान त मिल्थ्यो होला नि ! हगी ?
देशमा यत्रो परिवर्तन ल्याउने क्रममा बलिदानी दिएको तिम्रो त्यागको कदर किन गरिदैन ? किन तिम्रो घरको हालत अझै उस्तै छ जस्तो ५२ को आसपास थियो ? किन अझै सेते काका बुढो ज्यान लिएर खेतमा जोतिनु हुन्छ ? किन सरीमाया काकी अझै एक गाग्री पानी थाप्न उकालो ओरालो गर्नुहुन्छ ? यो सबै देख्दा तिमीलाई पनि समाजले गिज्याएजस्तो लाग्छ ।

दिल बहादुर रम्तेलको बुवा सेते रम्तेल र आमा सरीमाया रम्तेल

त्यो १० वर्षको बीचमा हजारौं परिवारमा हाम्रो जस्तै पीडा थपियो । तिमी जस्ता हजारौं मरे, म जस्तो हजारौ घाइते बने । आज पनि छोरा गुमाएका हजारौ आमाबुबाहरु आफनो सन्तानलाई किन मारियो भन्ने जवाफ कुरिरहेका छन् । अझै कति कुर्नुपर्ने हो , त्यो थाहा छैन । तर तिम्रो सम्मानको लागि र हामीले पाउनुपर्ने न्यायको लागि भने सदैव लड्ने नै छु । निरन्तर आशा जगाइदिने तिम्रो अनुहार म सधैँ सम्झिन्छु…..

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank