दलित बालिका बलात्कार गर्नेलाई १८ वर्ष कैद सजाय

दलित अनलाईन १६ माघ २०७७, शुक्रबार १०:३५

विराटनगर — दलित बालिका बलात्कार गर्ने चारजना अभियुक्तलाई जिल्ला अदालत धनकुटाले जनही एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्तिसहित १८ वर्ष कैद सजाय सुनाएको छ ।

धनकुटा नगरपालिका– ६ चानुवाका ५० वर्षीय मदन अधिकारी, ५२ वर्षीय गौरी अत्री, सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका ५५ वर्षीय भक्तबहादुर मगरलाई अदालतले क्षतिपूर्तिसहित १८ वर्ष कैद सजाय सुनाएको हो ।

उनीहरू सुस्तमनस्थिति भएकी १४ वर्षीया दलित बालिकाको सामूहिक बलात्कार गरेको अभियोगमा थुनमा छन । जिल्ला न्यायाधीश फणिन्द्र नेपालको इजलासले मुलुकी अपराध संहिताको दफा २१९ अनुसार यस्तो फैसला गरेको हो ।

अदालतले शिक्षक पेसामा रहेका अधिकारीलाई थप ६ महिना कैद र थप ५० हजार रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको छ । अधिकारी धनकुटा गोकुण्डेश्वर माविमा पढाउने शिक्षक हुन । पीडित बालिका उनकै विद्यालयमा कक्षा ८ मा अध्ययन गर्थिन । सजाय पाएका श्रेष्ठ धनकुटाको सिरानबजारमा खाजा पसल सञ्चालक हुन । अत्री स्थानीय व्यवसायी र मगर नगरपालिकाका पूर्वकर्मचारी हुन ।

अधिकारी अखिल नेपाल शिक्षक संघ प्रदेश १ का पूर्वमहासचिवसमेत हुन । घटनालगत्तै फरार भएका अधिकारीले चौतर्फी दबाबपछि प्रहरीमा आत्मसमर्पण गरेका थिए ।आमा नभएकी, बाबुले पनि कान्छी श्रीमती ल्याएकी र आर्थिक अवस्था दयनीय भएकी ती बालिका विद्यालय जानबाट वञ्चित हुँदै आएकी थिइन । उनलाई चारैजनाले ललाइफकाइ तथा डर–धम्की दिएर यौनशोषण गर्दै आएका थिए ।

बालिका पाँच महिनाको गर्भवती भएपछि घटना बाहिर आएको थियो । घटना सार्वजनिक भएपछि बालिकालाई तीन लाख रुपैयाँ दिएर मिलापत्र गराई बलात्कारीलाई जोगाउन खोजिएको थियो । तर, नैन विश्वकर्मा, कोपिला शंकर, अमर बराइलीलगायत दलित र महिला अधिकारकर्मीले दोषीलाई सजाय दिलाउन संघर्ष गरेका थिए । उनीहरूकै पहलपछि प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो । गत २१ जेठमा सरकारी वकिलको कार्यालय धनकुटाले जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank