काठमाडौं— अन्तरजातीय प्रेम गरेको निहुँमा रुकुम पश्चिममा नवराज विकसहित ६ जनाको हत्या भएको घटनाबारे संयक्त दलित संघर्ष समितिले गृहमन्त्री बालकृष्ण खाणलाई १२ बुदेँ ज्ञापन पत्र बुझाएको छ ।
सोमबार मृतक नवराज विकसहित ६ जनाका आमासहित सिंहदरबारमा रहेको गृहमन्त्रालयमा पुगेर समितिले खाणलाई १२ बुदेँ मागसहितको ज्ञापन पत्र बुझाएको हो ।
घटनाका सबै दोषीलाई कानुन बमोजिम हदैसम्मको कडा कारवाही हुनुपर्ने, घटनामा मारिएका ६ जनालाई नै सामाजिक रुपान्तरका शहीत घोषणा गर्नुपर्ने, मृतका परिवारलाई सरकारले कम्तीमा पनि प्रतिव्यक्ति २५ लाख रुपैयाका दरले क्षतिपूर्ति दिनुपर्ने माग गरिएको ज्ञापन पत्र पेश गर्न पुगेका अधिवक्ता त्रिलोकचन्द्र विस्वासले जानकारी दिए ।
उनका अनुसार उक्त घटनामा बाँच्न सफल १२ जना घाइतेलाई जिवित सहीद घोषणा गरेर कम्तीमा प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, अहिलेसम्म भएका छानविन समितिका सिफारिस कार्यान्वयन गर्नुपर्ने लगायतका माग गरिएको छ ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा संविधान सभा सदस्य कमला विश्वकर्मा, दलित गैर सरकारी संस्था महासंघका अध्यक्ष जेवी विश्वकर्मा,डिवी विश्वकर्मा, दलित सेवा संघका टंक विश्वकर्मा, अधिवक्ता सुन्दर स्नेहीको सहभागिता थियो ।
Leave a Reply