कर्णालीमा नाटक घर खाेल्न तम्सिएकाे जाेडी

महेश नेपाली २ भाद्र २०८०, शनिबार १२:०६

जुम्ला —निलाे रङ्गकाे हातबाट चाेर औँला ठड्याएकाे फेसबुक प्राेफाइलमा हिरा नेपाली देख्नुभयाे भने सम्झिनुहाेस् याे खराे टिप्पणी गर्ने मान्छे हाे। समसामयिक घटनामा उसकाे टिप्पणी धेरैका निम्ति पाच्य हुँदैन। पिड्ना(पिठ्युँ) पछाडि जति कुरा काटे पनि ती खरा टिप्पणीकाे प्रतिकार गर्ने आँट सितिमिति कसैले गरेकाे देखिँदैन।

यदि कसैले आँट गरिहाल्याे भने सम्झिनुस्, ऊ बाघकाे अगाडि छ। हिराका टप्का(फेला) पर्‍यो भने उम्किन मुस्किल छ। जसरी बाघकाे पञ्जाबाट फुत्किन असम्भव छ। यति भन्दै गर्दा हिरा एक डरलाग्दो पात्रकाे रुपमा उभ्याइएकाे भान हुन सक्छ। सामाजिक सञ्जाल मात्रै हेरेर धारणा बनाउनेका लागि हाे, पनि यही।

तर, सामाजिक सञ्जालभन्दा बाहिर ठुलाे दुनियाँ छ। याे दुनियाँकाे लागि हिरा बिजुलीकाे परिचय माथिका केही वाक्यहरुले पूरा हुँदैन। अविराम संघर्षबाट निर्माण गरेकाे आफ्नाे परिचयकाे फराकिलो आयतनभित्र माथिका वाक्यहरु दाँज्याे भने त्याे विशाल महासागरकाे एक लाेटा पानी जति पनि हुने छैन। त्यसाे भए काे हाे त याे फेसबुक प्राेफाइलमा निलाे हातबाट औँला ठ्याइरहेकाे हिरा नेपाली ?

हिरा नेपाली अर्थात् हिरा बिजुली नेपाली। एक कलाकार। राज्यले विकट मानेकाे मुगुको भूगोलमा जन्मिएको दुर्लभ प्रतिभा। थियटरमा कर्णाली देखाउने कलाकार। बेला-बेला कर्णालीलाई बाेकेर काठमाडौँमा पुगाउने कलाकार। अर्थात् ‘कर्नाली दख्खिन बग्दाेछ’काे पात्र, नाटककाे सर्जकहरुमध्येकाे एक। पम्फा फूल, गर्भछिटाजस्ता चर्चित नाटककाे लेखक, निर्देशक र पात्र। यी नाटकमार्फत् कर्णाली के हाे भनेर देखाउने कलाकार हाे, हिरा बिजुली। आजकाल उसलाई कर्णाली बाेकेर काठमाडौँ जानु झिजाे लाग्छ, सायद। त्यसैले भन्छ, ‘चिनिसक्याै कर्नाली। कर्नाली हेर्न मन छ भने कर्नालीमै आऊ।’

ऊ कलाकार हाे भन्ने थाहा पाइसकेपछि फेरि पिड्ना पछाडि सुरु भइहाल्छ गन्थनमन्थन्। ‘कलाकार भएर यस्ताे खराे टिप्पणी ? सबैकाे माया पाउनलाई सबैको मन राखेकाे हुनुपर्छ। एउटा कलाकारले आफ्नाे भविष्य हेर्नुपर्छ। दुनियाँलाई चिड्याउँदै हिड्ने हाेइन। यसाे गर्दा कलाकारलाई घाटा छ।’

ऊ जाेड घटाउ गरेर प्रस्तुत हुँदैन। कलाकारिताकाे नामबाट उसलाई मनग्ये कमाउनु छैन। घर घडेरी जाेड्नु छैन। ठाजाे जवाफ दिने हिरा बिजुलीलाई यस्ता कुरामा के बाल ! ‘कलाकारिताकाे माध्यमबाट समाज चित्रण गर्ने हाे। समाज जस्ताे छ त्यस्तै देखाइदिने हाे। समाज खुट्टाले टेक्नुपर्ने ठाउँमा टाउकाले टेकाेकाे छ भने खुट्टाले टेक भन्दिने हाे। यसबाट कसैलाई चित्त दुख्छ भने दुखाेस्,’ उसकाे जवाफ हुन्छ।

उसकाे तर्कलाई अझ बलियाे गरी प्रस्तुत गर्न तयार छिन्, रङ्गकर्मी विष्णुमाया परियार। उनकाे नाम हिराकी जीवन साथी मात्रै भनेर जाेड्याे भने अन्याय हुन्छ। आफूमा अन्तरनिहित क्षमतालाई दुनियाँसामु प्रस्तुत गरी हिरा जत्तिकै फराकिलो परिचय निर्माण गर्न सफल विष्णुमाया कर्णालीमा थियटर निर्माण गर्न चाहन्छिन्।

यस्ताे दृढ विचार निर्माणमा उनकाे १३ वर्षे लगाव छ। काठमाडौँमा भएको ‘अन्तर्राष्ट्रिय नाटक महोत्सव- २०७५’मा कर्णाली प्रदेशबाट छनोट भएर मञ्चन गरिएको नाटक ‘गर्भछिटा’ र नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय नाटक महोत्सव– २०७६’ अन्तर्गत सर्वनाम थिएटरमा मञ्चन गरिएको नाटक ‘पम्फा फूल’काे नाम सुनियाे भने विष्णुमायाकाे परिचयकाे आयतन भेटाउने भेउ मिल्छ।

हिरा बिजुलीसँग थियटर निर्माण गर्ने विचार मिलेपछि पढ्दै कालाकरितामा जमिसकेकी विष्णुमाया पाेका पुन्तुरा कसेर, लालाबाला काख च्यापेर कर्णाली फर्किएकी हुन्। चर्चित नाटक गर्भ छिटामा ‘मेरा नाडिउँदाे शक्ति पलाएकाे छ। मेराे ह्याउ बढेकाे छ।’ भन्दै निडर प्रस्तुति दिएकी उनी ह्याउ बढाएरै कर्णाली फर्किएकी हुन्। अर्थाेपार्जनकाे गतिलाे स्राेत नभएकाे उनकाे परिवार हात लागेका भारी काम र मुरी चर्चा छाेडेर कुनै पूर्वाधार नै नभएकाे तर सम्भावना अथाह भएकाे कर्णालीमा फर्किएकाे छ।

‘हात खाली छन्। सिकेको सीप उपयाेग हुन पाएकाे नाई। मनमा एउटा हुटहुटी छ कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा थियटर खाेल्ने,’ उनले भनिन्, ‘बरु पेटलाई डाेरीले बाँधेर बेस्मारी कस्न तयार छाैं। तर, थियटर खाेल्ने सपनाबाट विचलित हुनेवाला छैनौँ।’

दुवैकाे साझा सपना छ, कर्णालीको समुन्नत संस्कृति र सभ्यतालाई कलाका माध्यमबाट बाहिर ल्याएर कर्णालीलाई राज्य सत्ताले हेर्ने नजर र निर्माण गरिएका भाष्यहरुलाई परिवर्तन गर्ने, समाज विश्लेषण गर्ने, चित्र र चरित्रहरुलाई थियटरमा देखाउने, कथा र कलाकरिताकाे उर्वर भूमिमा थियटरकाे खेती गर्ने, कलाकारितालाई फलाउने, फुलाउने। त्यसैले याे जाेडी काठमाडौँमा हात लागेका तमाम काम, दाम र नाम सबै छाेडेर पाखुरीका बलले कर्णालीमा थियटर ठड्याउन आइपुगेको छ। यसका लागि केही सहयोगी हातहरु पनि जुटेका छन्, भने केही जुट्दैछन्।

यही बिचमा आशा, निराशा सबै थाेक भाेगिएकाे हिरा बिजुलीकाे अनुभूति छ। ‘हजार हण्डर खान तयार छाैँ। कदमथकदाचित सुर्खेतमा थियटर खाेल्ने सपना पूरा भएन भने मुगुमै भए पनि खाेल्छाैँ। तर, हार खानेछैनौँ,’ ऊ सेता दाँत देखाउँदै मुस्कुराउँछ।

उनीहरुले आफ्नाे सपना हजारौंलाई सुनाएका छन्। ती भन्दा बढीसँग विचार आदनप्रदान गरेका छन्। विचारबाट प्रभावित भएकाहरु सहयोग गर्न तयार हुन्छन्। यही बीचमा उनीहरुले सुरुमा एक जना साह्रै मनकारी व्यक्ति भेटाएकाे भान गरे। थियटर खाेल्नलाई नि:शुल्क जग्गा पाउने भए। खुसीको सीमा थिएन। व्यापक तयारी थाले। नक्सा बन्याे। जग्गा हेरियाे। उपयुक्त ठाउँ, अनुकुलकाे समय। उत्साह बढेर थामिनसक्नु थियाे।

खुसी खुसीमा थियटर बनाउने जग्गाकाे सम्झाैता तयार भयाे। त्यसमा जग्गाधनीले आफू अनुकुलका बुँदा थप्न थालेपछि उनीहरु छाँगाबाट खसेजस्ता भए। ‘सपना हाे कि विपना जस्ताे लाग्याे। एक तहसम्म भइसकेको काम शुन्यमा झर्‍यो। चुचुरोमा टेक्ने आँटेका पाइलाहरु चिप्लिएर फेदमा पुगेकाे भान भयाे,’ विष्णुमायाले भनिन्। उनीहरुले यसलाई सुर्खेतमा थियटर खाेल्ने काममा एक पल्ट खाएकाे हण्डर सम्झिएका छन्। तर, यस्ता हजार हण्डर खान तयार छन्, हिरा बिजुली र विष्णुमाया। दुवै जनाकाे एक स्वर छ, ‘यस्ता ठक्कर खाइएन भने बलियाे नभइने रहेछ। अब झन् उत्साह थपिएको छ। आँट बढेकाे छ।’

पुँजीवादी व्यवस्थामा मनकारी देखिने धनाड्य भनिएकाहरु, समाजसेवी वा अभियान्ता कहलिएकाहरु स्वार्थ नहेरी लगानी नै नगर्ने हिरा बिजुलीको बुझाइ छ। यसकारण ऊ बेला-बेला सामाजिक सञ्जालमा पचाउनै नसकिने गरी प्रस्तुत हुन्छ। समयकाे यही गुदी कुरा कलामार्फत् देखाउनुछ, उनीहरुलाई। त्यसैले समाजकाे चरित्र झन् व्यापक रुपमा थियटरमा देखिनुपर्ने उनीहरुकाे मत बलियो बन्दै जान्छ।

परिवर्तित समयले लय समाते पनि कुरीति, कुसंस्कार, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासले जगडिएका प्रथा परम्पराहरु परिवर्तन हुन सकेका छैनन्। आवरणमा परिवर्तित तर भित्रभित्रै कुरीति र कुप्रथामा रुमलिएको समाजलाई बदल्न सक्ने धारिलो हतियार भनेकै कला भएकाे उनीहरुको दृढ विश्वास छ। यही बीचमा उनीहरुले बालविवाह, जातीय तथा वर्गीय विभेदसँगै संस्कृति, संस्कार र सभ्यताको विषय गाउँ-गाउँमा खुला रुपमा नाटक देखाउँदै हिँडेका थिए। यसलाई उनीहरु खुला थियटर मान्छन्।

पाइलैपिच्छे भेटिने कथा। तीनकाे जगमा रचिने नयाँ सिर्जना। जाे समाज परिवर्तनका सम्वाहक बन्ने हुनाले नै याे जाेडी कर्णालीमा व्यवस्थित रुपमा थियटरकाे अभ्यास गर्न संघर्ष गरिरहेकाे छ। आशा गाराैं याे जाेडी सफल भएरै छाेड्नेछ।

(यो समाचार बिएल नेपाली सेवाबाट साभार गरिएको हो । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank