रचनागर्भ र श्रृष्टिद्वार एउटै हो भने कसरी फरक जन्मन्छ मान्छे ?

संजिव कार्की १८ पुष २०७७, शनिबार १५:२४

प्रिय मान्छे ,

अनुपम स्नेह !

जिन्दगीको गोरेटो लामो,घुमाउरो, कठिन असंगत पनि छ । (सहज र सरल अनि संगतिमय बनाउने हाम्रो प्रयत्न हो केवल ) अनि हाम्रो कल्पना, सपना र चाहना भन्दा फरक पनि ? जिन्दगी सोचे जस्तो ,सम्झेजस्तो छैन । त्यही भएर सोचे झैं जिन्दगी रैनछ भन्ने गीतमा कतिधेरै मान्छे एकाकार भएर नाच्न र गाउन मन पराउँछन् । त्यो किन हो ? जुन तिमीलाई थाहा छ, किनकि सोचे ,सम्झे र कल्पना गरे जस्तो जिन्दगी आजसम्म कसैले पाएको छैन l अप्रायपतता, अभाव र अपुग नै जिन्दगीको अर्को नाम र रुप हो l जिन्दगीका हर आयाम ,मान्यता र सौन्दर्यता तिम्रा रुचि , अध्ययनका क्षेत्र हुन जसको बारेमा मैले भन्नू परोइन । समाज विज्ञान र मानव मनोबैज्ञानिक पक्षको सुक्ष्म विश्लेषण तिम्रो आफ्नो विज्ञता हो ।

 प्रिय मान्छे,

समाज र मानव रुचि चाह र स्वार्थ तिमीले देखेकी छौ,बुझेकी छौ प्रत्यक्ष अनुभव र अनुभुति गरेकी छौ । मानवीय प्राकृतिक र स्वभावजन्य कमि कमजोरी, संस्कारगत रुढताले हाम्रो मन मस्तिष्कलाई कसरी गाँजेको र गिजोलेको छ सो बारे तिमी भरपुर जानकार छौ । तसर्थ हामी समाज ब्यबस्थाका उपज र उत्पादन हौँ । हाम्रो मन मस्तिष्कमा समाजको प्रतिबिम्ब र प्रतिछाँया जानेर नजानेर हुने, नहुने प्रकट भैरहन्छ । म पनि यही समाजको उत्पादन भएको हुँदा मेरो हुर्काई, बढाइ, पढाई र संस्कार यदाकदा अनपेक्षित रुपमा आइदिन्छ l मेरा असावधानी र पारिवारिक संस्कार जन्य हुँकार कसरी कसरी कता कता प्रकट भएर तिमी कहिलेकाहीँ नमज्जाले पिरोलिन्छौ l म पनि आफ्नो नियतिप्रति खेद व्यक्त गर्छु जुन मैले गर्दिन भन्दा भन्दै पनि आइदिन्छ त्यो मेरो बातावरणको उपज र म जन्मे हुर्केको समाजको स्वरूप हो l तिमीलाई जानकारी छ अस्ति मात्रै पूर्वप्रधान मन्त्री माधव नेपालले एउटा गैरजिम्मेवार टुक्का प्रयोग गरेर आफ्नो कुरा प्रस्ट्याउन प्रयोग गर्नु भयो ? केही समय अघि पूर्व मन्त्री मोहन बस्नेत र एक बर्ष केही अघि रास्ट्रिय सभासदस्य कोमल ओलीले त्यस्तै दुर्वाच्य तर समाजमा बिध्यमान असमानताका प्रतीक शब्दहरु उच्चारण गरेर सामाजिक विभेदको चुरो कसरी हाम्रो मस्तिष्कमा घर गरेर बसेको छ भन्नेकुरा जान्न काफि हुन्छ अरु सर्वसाधारणलाई केलाउन छान्न जानु पर्दैन l तसर्थ मबाट अन्जानमा हुने भुलहरुप्रति दुखका साथ क्षमा याचना गर्द्छु । अनुभव, अनुभुतिलाई निफन्ने केलाउने लगायत सामान्य मान्छेमा भन्दा धेरै बढी र बहमुखी प्रतिभाको बेजोड संगम छ तिमीसँग । तिम्रो प्राज्ञिक र विवेकशील निर्णयप्रति मलाई शंका छैन । सन्देह राख्दिन पनि तर किताबमा पढिने सिद्धान्त र ब्यबहारिक आदर्श फरकफरक छ । जे छैन त्यो छ, देखिन्छ,जे हुनुपर्ने हो त्यो छैन देखिदैन तसर्थ सिद्धान्तलाई व्यबहारवाद्को अग्नि परिक्षामा परिक्षण गर्नु जरुरी छ, घोट्नु र कसि लगाउनु अपरिहार्य हुन्छ । म तिमीबाट सो अपेक्षा गर्छु । हाम्रो समाजमा कानुनी राज मात्र छैन परम्परागत धार्मिक रुढीबादी र धार्मिक गुणवेत्ताको असल मान्यताका साथ साथै खराब अलिखित कडा कडा अमानवीय प्रचलन र अन्ध संस्कार ,र चलनहरु पनि छ । युगौदेखि चलन चल्तीमा रहेका गलत मान्यता र संस्कार आजको भोलि नै बदल्छु भन्नू हाम्रो मुर्खता हो जसबारे हामी बिमति राख्न सक्दैनौं । मान्छेको मनमा गहिरोसँग जरा गाडेर बसेको भ्रम मेटन र भ्रमलाई सत्यमा प्रतिस्थापन गर्न राज्यले आफ्नो भूमिका बढाउनु र फराकिलो पार्नु आवश्यक छ । तर दुखका साथ भन्नुपर्छ राज्य संयन्त्रमा पहुँच र हालीमुहाली जसको छ तिनीहरूलाई यो विषयले दुख्दैन चिमोटदैन । असहजानुभुति छैन त्यसैले अनुभुति र अनुभव नगर्नेलाई आम मान्छेको समस्या, समस्या लाग्दैन । ६० लाख मान्छेहरु आज पनि दुई करोड ४० लाख मान्छेको घर पस्न बन्चित छन् । जबकि उनीहरूको घरमा कुकुर बिरालो र पशु पंक्षीलाई स्थान छ मान्छेलाई छैन । यस्तो किन भयो र गरियो ? राज्य रेडिमेड उत्तर फर्काउछ संविधान र कानुनमा विभेद छैन ।

 प्रिय मान्छे,

राज्यको यो उत्तर सुन्दा नवराज बि क .का बा आमा र आफन्त अनि अमित मिजारका नातेदार र आमा बाउलाई के लाग्दो हो । नयाँ सम्विधान निर्माण पछिका वर्षहरुमा जातको कारण करिब तीन दर्जन मान्छेहरु मारिएको सुन्दा यो संबिधान प्रद्द्त्त सुरक्षा, समान अवसर, भेदभाव रहित समाज र दण्डहीनताको अन्त्य लेखिएको धारा उपधारा दफा च्यात्न मन लाग्छ कि पूजा गर्न आम पीडित र अपहेलित बर्गलाई सोध । समयको लयसंगै यो बदलन्छ बस हामीले अथक प्रयत्न र प्रतिक्षा गर्नुपर्छ । दुई मुटु एक भएर ढुकढुक गर्न र जीवनको लय एकै बनाउन जति सजिलो सोचिन्छ त्यति सजिलो छैन अनि जति असहज ठानिएको हुन सक्छ त्यति हाम्रो हकमा नहोला पनि किनकि हामी स्वरोजगार र स्वाभिमानी छौं उस्तै परे अरु केही मान्छेलाई सहयोगको छाता र रोजगारी दिन सक्छौ  जातीय समस्याको चुरो र जरो आर्थिक कारण र शैक्षिक कारण हो पछाडी परेको,पारिएको वर्ग समुदाय र तिनको उत्थानको लागि राज्यले विशेष सकरात्मक विभेदको नीति अबलम्बन गर्नुपर्ने हुन्छ त्यसको जागरणको लागि पनि हामीले आआफ्नो ठाउँबाट योगदान गर्नु जरुरि छ । हाम्रो समाज र परम्पराका थुप्रै अग्ला अग्ला पहाड अप्ठ्यारा परिस्थिति,कांडा नै कांडा टेकेर हिड्नु पर्ने अक्करे भिरको बाटो अनि हामी प्रतिकुल रिति र थितिहरु छन , असंगत अभ्यास र अमानवीय व्यबहारहरु छन जसलाई हामी सजिलै चुडाउन ,तोडन र छिचोल्न सक्तैनौ । तर नतोडी र नछिचोली सुख छैन l

६० लाख मान्छेहरु आज पनि दुई करोड ४० लाख मान्छेको घर पस्न बन्चित छन् । जबकि उनीहरूको घरमा कुकुर बिरालो र पशु पंक्षीलाई स्थान छ मान्छेलाई छैन । यस्तो किन भयो र गरियो ? राज्य रेडिमेड उत्तर फर्काउछ संविधान र कानुनमा विभेद छैन ।

प्रिय मान्छे,

समाज विज्ञानमा परिवर्तनको एउटा नियम हुन्छ ,गति रहन्छ जुन हाम्रो आकांक्षाको तिव्रता र आवश्यकतासँग ठ्याक्कै आजै मेल खादैन तसर्थ आज तिमीले जुन बेग र आवेगमा आएर भावनाको तिव्र बहकाइमा जस्तो निर्णय सुनायौ त्यो विल्कुल गलत छ जसबाट तिमी फर्कनु पर्छ । समाजसँग जुध्न र बाझ्न सकिदैन भनेर हामीले हार मान्यौ र बाटो मोड्यौ भने सम्झ यो अपमान पिडा छुवाछुतको भेद र दलितलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन अर्को शताब्दि पनि कम हुन्छ तसर्थ अर्को पुस्ताको मर्यादा सम्मान र स्वाभिमानको खातिर पनि हामीले अनमेल कथित अजातको बार भत्काएर मानवताको सभ्य र भव्य पर्खाल निर्माण गरेर असामाजिक विचार र ब्यबहारलाई खाल्टोमा पुर्नु पर्छ l विजात कम्तिमा मान्छे हुदैन भन्ने मानकमा इँटा थप्दै गर्नुपर्छ अन्यथा भावी पुस्ताले हामीलाई पनि समाज परिवर्तनमा आफ्नो भूमिका र स्थान नखोज्ने स्वार्थी मान्छेको रुपमा बुझ्नेछ, धिक्कार्ने छ l हामीलाई थाहा छ हाम्रो प्रयास र अभियान अनि जीवन समाज जोड्न र सामाजिक मुल्य मान्यता सबैको बराबर हुन्छ भन्ने मानवीय भावनालाई अभिमुखीकरण गर्नको लागि हो l मान्छे मान्छेको बिचको जातीय भेद कम गर्नको लागि हो l हामी शिक्षित र सबल भनिएकाहरुले पनि निर्णय गर्न डरायौ भने अरु हरेक अवस्था र व्यवस्थाले कमजोर भाइ बैनीहरुको प्रेम आत्मियता र सँगै जिउने सँगै मर्ने सपना रहर र समानताको स्वर, खुशी नवराज भाइको झैँ सेती बगरको अभिशप्त कटु सत्य बन्नेछ l त्यसैले प्रिय मान्छे आँट गरौ एकबारको जुनी हो l सकारात्मक परिवर्तनको लागि हातेमालो गरौ l दलित र गैर दलितको भाव र प्रभाव समाप्त पार्न एक भएर लडौ l भावना एउटा कुरा तर जिन्दगीको यथार्थ र वास्तविकता अर्को कुरा हो । रुपान्तरण आजको आवश्यकता हो, समाजको सांस्कृतिक रुपान्तरण गरेर सर्वप्रथम मान्छेलाई मान्छेको हैसियतमा पुर्याउन पनि आजको मान्छेले केही न केहि त्याग गर्नु अनिवार्य छ l हामी जन्म संयोगको कारण असमान छैनौ तर राज्यको अघोषित र कहिकतै घोषित नीतिको कारण असमान बनाइएका छौं l जन्म संयोगले गर्व गर्ने दिनको अन्त्यको लागि पनि हाम्रो मिलन,हाम्रो हातेमालो र सहकार्य आजको जरुरतभित्रको जरुरी हो l

आम मान्छेको चेतनामा तरंग पैदा गर्ने कवि बिनिता रत्नको यो शक्तिशाली कविता उद्दरण गर्दै हामी मान्छे जन्मले कसरी समान छौं भन्ने देखाउन यो कविता हरफ प्रस्तुत गर्दै अंग्रेजी नयाँ वर्ष २०२१ को हार्दिक शुभकामना l

‘बिर्यको मसी र लिङ्गको कलमले

योनीको किताव र डिम्वहरूको पानामा

लेखिएको सुन्दर कविता हो मान्छे

र सबै मान्छेको रचना गर्भ एउटै हो

सबै मान्छेको श्रृष्टिद्वार एउटै हो

अनि कसरी फरकफरक अंगबाट

जन्मिन्छन् फरक फरक मान्छे ?’

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank