सात महिनामा ३२ दलितको हत्या : कारबाही कति ?

दलित अनलाईन १ पुष २०७७, बुधबार २३:१६

हिरासतभित्र ३ दलितको हत्या

 

काठमाडौं–  कोभिड– १९ को समयमा रूकुमको सोतीबाट सुरू भएको दलित युवा नवराज विकसहित ६ जना युवाको नरसंहारदेखि त्रिभुवन राम, रोशन राम र राजेश सदाको घटनासम्म आइपुग्दा देशमा लोकतन्त्र र मानवअधिकारप्रति गम्भीर प्रश्न चिह्न खडा भएको छ । सातजना दलित महिला र बालिकाहरू बलात्कारपछि विभत्सा हत्या भएको छ । जताततै दलितहरू मारिएका छन् । जताततै दलित कुटिएका छन् । दलित महिला र बालिकाहरूमाथि क्रुर र निकै हिंस्रक घटनाहरू दोहोरिरहेका छन् । नेपालमा छुवाछूत र जातीय भेदभाव ठूलो समस्याको रुपमा रहेको छ । कुल जनसंख्याको १२.८ प्रतिशत जनसंख्या प्रत्यक्ष प्रभावित । दलित समुदायको मानवअधिकार हनन् हुनुको साथै देशको समग्र विकास र शान्तिमा पनि अवरोध सिर्जना गरेको छ । नेपालको संविधान २०७२ ले छुवाछूत र भेदभाव अन्त्य गरिसकेको छ । संविधान र कानुनले राज्यको सबै निकायमा दलित समुदायको समावेशीकरणको व्यवस्था गरेको छ । तर संविधान र कानुनमा प्रावधान भए पनि छुवाछूत र भेदभावका कारणले कार्यान्वयनमा कठिनाइ रहेको छ । जसका कारण दलित समुदाय राज्यका विभिन्न संरचनाहरूमा ज्यादै न्यून प्रतिनिधित्व रहेको छ ।
परिणामस्वरूप समाजमा दलित समुदायको आर्थिक, सामाजिक, शैक्षिक अवस्था ज्यादै कमजोर रहेको छ । तेस्रो मारमा रहेका दलित महिला र बालिकाहरू यो लकडाउन अवधिभर सातै प्रदेशभित्र हिंसाका शिकार भए । जातीय छुवाछूत र दलित महिलामाथि भएको क्रुर हिंसाको श्रखृला रोकिएन, झनै फराकिलो बन्दै गयो । तर दलित समुदायमाथि भएका जघन्य अपराधका घटनाहरूमा कानुनी राज्यको अनुभूति दिलाउने प्रहरी प्रशासनको उदासिनताले घटना बढ्नमा झनै ठूलो बल पुगेको छ । हेरौं सात महिनाको अवधिमा  देशव्यापी  रुपमा दलितमाथि भएका  हत्याको कानुनी उपचार कहाँ कस्तो अवस्थामा छन् ।

घटना १:  सम्झना कामी, बझाङ मष्टा गाउँपालिका– २, खिकालाकी १२ वर्षीया सम्झना कामी गाई गोठमा घाँस हाल्न गएका बेला स्थानीय राजेन्द्र बोहोराबाट बलात्कार गरी हत्या भयो । गाउँकै सिममाडौ मन्दिरमा सम्झनाको बलात्कारपछि हत्या गरेको अभियुक्त राजेन्द्रले स्वीकार गरीसकेका छन् । उनी अहिले प्रहरी हिरासतमा छन् । सम्झना कामीको बलात्कारपछि हत्या गर्नु अघि उनले स्थानीय एक दलित बालिकालाई पनि बलात्कार गरेको र गाउँमै प्रहरीको सहयोगमा मिलापत्र गरिएको थियो ।

घटना २ :  अंगिरा पासी, गत ९ जेठ राति १३ वर्षीय अंगिरालाई छिमेकी २५ वर्षीय कोइला भनिने वीरेन्द्र भरले लोभलालच देखाउँदै करणी गरे । गाउँलेले देखेपछि गाउँमा रातभर पञ्चायत बस्यो । १८ वर्षभन्दा कम उमेरका किशोरीलाई करणी गरे कानुनले बलात्कार मान्छ । तर, अंगिरालाई बलात्कार गर्ने वीरेन्द्रलाई प्रहरीको जिम्मा लगाउनु साटो कथित पञ्चायतले अंगिरालाई वीरेन्द्रले बिहे गरेर घर भित्राउनुपर्ने फैसला ग¥यो । अंगिरालाई वीरेन्द्रको जिम्मा लगाइयो । पञ्चायतको फैसलामा वीरेन्द्रकी आमा मञ्जुर थिइनन् । वीरेन्द्रले अंगिरालाई त्यही दिन घर लगे । तर, आमा अकालीदेवी र ठूलीआमा सितलीले सानो जातकी केटी लिएर आएको भन्दै घर भित्राउन दिएनन् । उनीहरूले आफ्नो छोरालाई मात्रै होइन, अंगिरालाई पनि कुटपिट र गालीगलौज गरे । त्यतिकै घरबाट निस्किएका वीरेन्द्र गाउँबाटै गायब भए । अंगिरा दिउँसो ४ बजे नजिकै रोहिणी खोलाकिनारमा झुन्डिएको अवस्थामा भेटिइन् । पोस्टमार्टम रिपोर्टले मृत्युको कारण ‘ह्यांगिङ’ भनेको छ । १३ जेठमा प्रहरीले दर्ता गरेको जाहेरीमा वीरेन्द्र, अकालीदेवी र सितलीको मात्रै नाम उल्लेख छ ।

वीरेन्द्र, अकालीदेवी र सितलीविरुद्ध आत्महत्या दुरुत्साहन र जातीय भेदभाव तथा वीरेन्द्रलाई थप जबरजस्ती करणीको मुद्दा अदालतमा विचाराधीन छ । उनीहरूलाई १६ असारमा रूपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । बलात्कारमा संलग्न वीरेन्द्रलाई प्रहरीको जिम्मा लगाउनु साटो उनकै जिम्मा लगाउने वडाध्यक्ष थारू र पञ्चायतलाई प्रहरी र सरकारी वकिलले दोषी देखेनन् । अदालतले समेत उनीहरूलाई पक्राउ गर्न आदेश दिएको छैन । तीनै जनालाई आत्महत्या दुरुत्साहन र जातीय विभेद तथा छुवाछूतको अभियोगमा बकपत्र भइसकेको र यसको फैसलाको चरणमा छ ।

घटना ३ : नवराज विक– रूकुम पश्चिमको चौरजहारी—८ सोतीमा जाजरकोटका नवराज बिकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्नताको अभियोग लागेकामध्ये ६ जनालाई तारेखमा छाड्ने कि थुनामा पठाउने भन्नेबारे उच्च अदालत सुर्खेतका दुई न्यायाधीशको राय बाझिएकोमा मूख्य न्यायधिशले फरक राय दिए । आफ्नी प्रेमिकालाई लिन १० जेठमा चौरजहारी गएका जाजरकोटका नवराज बिक र उनका साथीहरू गणेश बुढा, लोकेन्द्र सुनार, सन्जिव विक र गोविन्द शाही तथा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपालीलाई कुटपीट गरी हत्या गरिएको थियो । हत्याको अभियोग लागेकामध्ये तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन, भीमबहादुर बुढा र सर्वजित भनिने सविन पुनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा छाड्ने भन्नेबारे उच्च अदालत सुर्खेतका तत्कालीन मुख्य न्यायाधीश कुमार चुडाल (हाल मूख्य न्यायधिश, पाटन) र अर्का न्यायाधीश सुदर्शनदेव भट्टको राय बाझिएको थियो । चुडालले ६ जनालाई नै तारेखमा छाड्न आदेश दिएका थिए भने भट्टले थुनामा राख्नुपर्ने आदेश २५ असोजमा गरेका थिए । दुई न्यायाधीशको राय बाझिएपछि तेस्रो न्यायाधीशकोमा सुनुवाइ गर्ने कानूनी व्यवस्था बमोजिम ११ मङ्सिरमा उच्चअदालत सुर्खेतका मूख्य न्यायधिश नहकुल सुवेदीले सुनुवाइ गरेका थिए । मूख्य न्यायधिश सुवेदीले सौरभ पुनलाई थुनामा राख्नुपर्ने र बाँकी पाँच जनालाई १ र १ लाख धरौटीमा छाड्ने आदेश गरेका छन् । दुई जना न्यायधिशको राय बाझिएमा तेस्रो न्यायधिशले जसको राय समर्थन गर्छन्, त्यही राय अदालतको आदेश मानिन्छ । तर, तेस्रो न्यायाधीशले अघिल्ला दुई जना न्यायधिशको कुनै पनि रायलाई समर्थन नगरी छुट्टै राय लेखेमा भने माथिल्लो तहको अदालतमा सुनुवाइका लागि पठाउनुपर्ने कानूनी व्यवस्था छ । रूकुममा भएको हत्याको घटनामा नाम मुछिएका ३४ जनाविरूद्ध मुद्दा चलाइएको छ । त्यसमध्ये जिल्ला अदालतले दुई जना नाबालकलाई बाल सुधार गृहमा पठाउने, एक जनालाई १ लाख रूपैयाँ धरौटीमा रिहा गर्ने र तीन जनालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिइसकेको छ । बाँकी २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश थियो ।

घटना ४ :  अमिरकाकुमारी दास– धनुषाको धनौजी गाउँपालिका– १ लखौरीकी १७ वर्षीया अमिरकाकुमारी दासको बलात्कारपछि हत्या भयो । उनको शव रेल्वे ट्याकनजिकैको खाल्डोको पानीमा फालिएको अवस्थामा भेटियो । उनलाई बलात्कार गर्ने र हत्या गर्नेलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन ।

घटना ५ :  संगीता मण्डल– सप्तरीको डाक्नेश्वरी नगरपालिका—७ मा १७ वर्षीया एक किशोरीमाथि भएको बलात्कारको घटनामा संलग्न रहेको आरोपमा सप्तरी जिल्ला प्रहरी कार्यालयले सोही ठाउँ बस्ने १८ वर्षीय बब्लु भनिने सुमनकुमार मण्डल र २० वर्षीय रञ्जित भनिने सरोजकुमार मण्डललाई भारतीय सीमासँग जोडिएको छिमेकी गाउँपालिका बलान बिहुलबाट प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी एवं डिएसपी तिलक भारतीले दिएको जानकारी अनुसार फरार रहेका चार जनामध्येका दुई मुख्य आरोपीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडी सारिएको छ । धान खेतमा पानीको अवस्था हेर्न गएकी १७ वर्षीया संगीता मण्डलमाथि गाउँकै चार जनाले सामुहिक बलात्कार गरेको पीडित बालिकाकी आमा रधियादेबी मण्डलले बताएपछि गाउँमा भदौं ३० गते पञ्चायती बसेको थियो । पञ्चायतीमा गाउँका केही अगुवाहरूले ५५ हजार रुपैयाँ नगद लिएर घटना मिलापत्र गर्न दबाब दिएपछि त्यही पीडाबाट बिक्षिप्त बनेकी संगीता त्यसको भोलिपल्ट घरमै झुण्डिएर आत्महत्या गरेकी थिइन् । प्रहरीले पञ्चायतीमा रकमको प्रलोभन देखाई बलात्कार जस्तो घटना दबाउने खालको निर्णयमा सहभागी स्थानीय सत्यनारायण मण्डल, बासुदेव मण्डल र जयकान्त मण्डललगायत तीनजना पञ्चलाई यसअघि नै पक्राउ गरिसकेको छ । दुई मुख्य अभियुक्तहरूले प्रहरीसँगको बयानमा आफुहरूले संगीताको बलात्कार गरेको र पञ्चायतले मिलाउने गरी आफुँले घटनाबाट उम्किने रणनीति अनुरुप घटना भएको स्वीकार गरिसकेका छन् ।

घटना ६ : कञ्चनकुमारी पञ्जियार– जनकपुर उपमहानगरपालिका– २१ की कञ्चनकुमारी पञ्जियारको बलात्कारपछि हत्या भयो । ११ वर्षीया कञ्चन असार १७ गते भैंसी चराउन आँपको बगैंचामा पुगेकी थिइन् । तर उनी बगैंचाबाट बेपत्ता भइन् । त्यसको दुई दिनपछि दूधमती नदीछेउमा उनको शव अर्धनग्न अवस्थामा फेला प¥यो । उनको बलात्कार र हत्या भारतको उत्तर प्रदेशका काकोरीग्राम पञ्चायत– ११ बस्ने ३२ वर्षीय दिपु सिंहले गरेका थिए । उनले नै कञ्चनलाई आँप दिन्छु भन्ने प्रलोभन देखाएर बगँंैचाको एकान्त कुनामा लगी बलात्कारपछि हत्या गरेको स्वीकार गरे । उनी अहिले प्रहरी हिरासतमा छन् ।

घटना ७ : अञ्जनीकुमारी सदा– छिरेश्वर नगरपालिका–३ धनुषाकी १६ वर्षीय अञ्जनीकुमारी सदाको साउन १२ गते बलात्कारपछि हत्या भयो । १६ वर्षीय अञ्जनीकुमारी सदा राति शौचालय गएकी थिएन । खोजी गर्दै जादाँ घरबाट १ किलोमिटर टाढा मृत अवस्थामा फेला परेकी थिइन् । स्थानीय विरेन्द्र यादवले अञ्जनी कुमारीलाई पटक—पटक धम्की दिने बलात्कारको प्रयास गरेका थिए । गाउँलेहरूले यादवबाट बलात्कार गरी हत्या गरेको आशक्का गरे र प्रहरीकोमा किटानी जाहेरी दर्ता गर्न गएपनि जाहेरी दर्ता हुन सकेन् । गाउँमै घटनालाई मिलाउन स्थानीय जनप्रतिनिधिहरूले दबाव दिने र धम्की दिन थालेपछि साउन २१ गते जिल्ला प्रहरीले पीडित परिवारको जाहेरी दर्ता लिएको थियो । अञ्जनीकुमारी सदाकी आमाले स्थानीय विरेन्द्र यादवको छोरीको बलात्कारपछि हत्या गरेको जाहेरी दर्ता गरेपनि यादव अहिलेसम्म पक्राउ परेका छैनन् ।

घटना ८ : उर्मिलादेवी ऋषिदेव– मोरङ बुढिगंगा गाउँपालिका—२ मुसहर वस्तीमा साउन २३ गते सांघातिक आक्रमण भयो । मुसहर वस्ती अगाडिको बाटोमा गैरदलितहरूले खाल्टो खनेर पानी जमाएका थिए । मुसहर वस्तीमा पानीले असर पु¥याएपछि त्यसको विरोध गर्दा एक दर्जनभन्दा बढि घाइते हुने गरी यादव र साहहरूले आक्रमण गरेको थिए । त्यही आक्रमणमा परेकी २४ वर्षीय उर्मिलादेवी ऋषिदेवले आक्रमण गरेको दिनको राति घरभित्र आत्महत्या गरिन् । उर्मिलादेवीले आत्महत्या गर्नुको कारण भने, उनलाई आक्रमणकारीले सामूहिक बलात्कार गर्न र ज्यान लिने धम्की दिएका थिए । उनले यो कुरा आमा निलदेवीलाई सांघातिक आक्रमण गरेको केही समयमा भनेकी थिइन् । सामूहिक बलात्कारबाट बाँच्नका लागि उनले आत्महत्याको बाटो रोजेकी उनकी आमाको दावी छ । बस्तीमा आक्रामण भएपछि त्यसको व्यापक विरोध भयो । आक्रमण गर्नेहरूको विरुद्धमा प्रहरीमा उजुरी प¥यो । प्रहरीबाट उल्टो मुसहर बस्तीका व्यक्तिहरूलाई घटना गाउँमा मिलाउने दबाब दिए । आक्रमणमा घाइते भएकाहरूलाई उपचार गर्ने सहमती गरी घटना गाउँमै मिलायो । तर उर्मिलादेवीलाई सामूहिक बलात्कार गरी ज्यान दिने धम्की दिनेहरूलाई कुनै कारबाही भएन् । घटना त्यसै सेलायो ।

घटना ९ : मिन्त्रीदेवी बैठा– रौतहटको गढिमाई नगरपालिका—३ की ४० वर्षीय मिन्त्रीदेवी बैठाको बलात्कारपछि हत्या भयो । लक्ष्मीपुर बस्ने सकल बैठाको ४० वर्षीया श्रीमती मिन्त्रीदेवी बैठाको भाद्र १४ गते घरबाट घाँस लिन गएको बेला उखुबारीमा बलात्कार गरी पछ्यौरीले घाँटी बेरिएको अवस्थामा शव फेला प¥यो । बैठाका श्रीमान सकल बैठाले बलात्कारपछि हत्या गरिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरे । प्रहरीले हत्याको अभियोगमा चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जमसैद मियाँ, दाउद मियाँ, जहरुदीन मियाँ र महम्मद इसराफुल मियाँलाई पक्राउ गरेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए । अनवर हुसैनको योजनामा बैठाको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । पक्राउ परेका अभियुक्तहरूलाई अदालतमा पेस गरिसकिएको छ ।

घटना १० :  सम्झना किसान– बागलुङ नगरपालिका–३ की ३० वर्षीया सम्झना किसानको आत्महत्या प्रकरण थप रहस्यमय बनेको छ । उनी बाग्लुङ नगरपालिका–२ माझकोटस्थित डेरामा आफ्नै सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनले विहेको प्रस्ताव अस्वीकार गरेको भन्दै प्रहरीकै नाममा सुसाइड नोट लेखेर आत्महत्या गरिन् । प्रहरीका नाममा लेखिएको ‘सुसाइड नोट’ मा २०७५ भदौ ५ गतेदेखि जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी राकेश दवाडीसँग आफू प्रेम सम्बन्धमा रहेको र उसको गर्भ रहेपछि जानकारी गराउँदा बेवास्ता गरेकाले आत्महत्या गर्नुपरेको उल्लेख छ । जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी जवान राकेश दवाडी विरुद्ध ‘आत्महत्या दुरुत्साहन’ को मुद्दा दर्ता गराएका छन् । तर जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी जवान राकेश दवाडीलाई अझै कारवाहीको दायरामा ल्याउन सकिएको छैन ।

घटना ११ : निर्मला विक (पहराई)– ३१ भदौमा बिहानै रेडियोमा समाचार पढेर ललितलाई भेट्न हिँडेकी निर्मलाको जङ्गलमा शव २ असोजमा झुन्डिएको अवस्थामा भेटियो । त्रिकोणीय प्रेमसम्बन्धका कारण कैलाली घोडाघोडी नगरपालिका–४ जनकपुरकी २३ वर्षीया निर्मला विक(पहराई)को ज्यान गयो । परिवारले निर्मलाको हत्या भएको बताएको छ । प्रहरी अनुसन्धानमै छ । निर्मलाको दलित भएकै कारण उनकै प्रेमीको योजनामा हत्या भएको पीडित परिवारको आरोप छ । प्रहरीले प्रेमी ललित र उनकी अर्की प्रेमिका २० वर्षीया धना साउदलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

घटना १२ : शम्भु सदा– जेठ २९ गते धनुषाको सबैला नगरपालिका–१२ बरकुर्बामा बस्ने २३ वर्षीय शम्भु सदा मुसहरको इलाका प्रहरी सबैला कार्यालयमा शव झुण्डिएको अवस्थामा फेला प¥यो । प्रहरीले उनले आत्महत्या गरेको बताए पनि दलित समुदायले त्यसलाई मानिरहेका छैनन् । उनीहरूले प्रहरी कार्यालयभित्रै हत्या भएको भन्दै दोषीलाई कारवाहीको माग गरेको छ । पीडित परिवारकोतर्फबाट शम्भु सदाको हत्या भएको दावीसहित ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक ४० वर्षीय चन्द्रभुषण यादव, सवैला नपा–१२ बस्ने ४२ वर्षीय ट्याक्टर मालिक सञ्जय साह, वडा नं. ९ का ३८ वर्षीय वडाध्यक्ष पारस साहलगायत ४ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरेका छन् । सुरूमा किटानी जाहेरी दर्ता गर्न नमानेपछि पीडित परिवार र दलित समुदायले आन्दोलन चर्र्र्र्काएसँगै किटानी जाहेरी दर्ता गरी प्रहरीले कारवाही प्रक्रिया अगाडि सारेको थियो । शम्भु सदाको न्यायको लागि विभिन्न चरणमा भएको आन्दोलनपश्चात् अन्ततः प्रशासनले ४ सदस्यीय छानवीन समिति गठनको गरेको थियो । तर छानवीन समितिले प्रहरी हिरासतभित्र भएको कमजोरीका कारण मृत्यु हुन पुगेको, हिरासतको सुधार गर्नुपर्ने भन्दै, पीडित परिवारलाई क्षतिपूर्ति दिने गरी सिफारिस गरेको छ ।

घटना १३ : राजु सदा– धनुषाको हंसपुर नगरपालिका प्रसाहीका १६ वर्षीय राजु सदा अस्पतालको आइसोलेशन वार्डको भुइँमा छठपटाइरहेका थिए । उनी कतिबेला खुट्टा उचाल्थे त कति बेला हात चलाउँथे । कहिले कपाल बेस्सरी लुछ्थे । तर स्वास्थ्यकर्मी, चिकित्सक कोही पनि हेर्न आएनन् । पीडाले हातखुट्टा चलाए, सिरानी च्यापे । आइसोलेशन सेन्टरमा घण्टौंसम्म छटपटाउँदा पनि राजुले उपचार पाएनन् । अन्ततः असार ९ गते साँझ आइसोलेशन अस्पतालभित्रै राजु सदाको मृत्यु भयो । प्रदेश सरकारले राजु सदाको परिवारलाई ५ लाख क्षतिपूर्ति दियो ।

घटना १४ : राजेश ऋषिदेव ( सदा )– विराटनगर दरहियाका राजेश ऋषिदेव (सदा) आफ्नो आँगनमा कुलदेवताको मन्दिर बनाएका थिए । छिमेकी जग्गा धनीले मन्दिर आफ्नो जग्गामा परेको दावी गर्दै आएका थिए । दरहियामा एउटामात्र मुसहर घर छ । असार १९ गते घरका सबै सदस्य मजदुरी गर्न बाहिरी सकेका थिए । घरमा राजेश दम्पतीमात्र थिए । जग्गा धनीहरूले राजेशलाई निर्घात कुटपिट गरिरहेको सुनेर श्रीमती कलमीदेवी घटनास्थलतिर हिँडिन् । घटनास्थल पुगेपछि उनलाई पनि निर्घात कुटपीट गरेर रोडमा लडाए । कलमी भन्छिन्, मलाई टाउकोमा हानेपछि मुर्छित भएँ । त्यसपछि केही थाहा भएन । विपक्षीले श्रीमानलाई कुटपीट गरी आफ्नै घरमा लगेर झुन्ड्याइदिए ।’ दिउँसो कामबाट घर फर्केको राजेशका भाइले भाउजूलाई मुर्छित र दाइलाई घरमा झुन्डिएको देखेपछि हारगुहार गरेका थिए । तर, उमेशको बिलाप कोही सुन्ने भएन । उमेश भन्छन्, झगाउँकै गोपाल दाईले आफ्नो टेम्पोमा कोशी अञ्चल अस्पताल पु¥याइदिए । तर, अस्पतालले मृत घोषणा गरिदियो । प्रहरीले अहिलेसम्म मुद्दा दर्ता लिएको छैन । राजेशका बुवा अमरलाल भन्छन्, प्रहरीले मुद्दा दर्ता लिएन । धेरै पटक धाएँ । प्रहरीले अनुसन्धान गर्नुपर्छ मात्र भन्छन् । सबै मिलेर प्रमाण नष्ट गरिसकेको छ ।

घटना १५ :  निरञ्जन राम चमार– गत साउन ३१ गते रौतहटको गरुडा नगरपालिका–८ जिंगडियाका २० वर्षीय निरञ्जन राम चमारको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी गाउँछेउमा शव फालिएको थियो । प्रहरीले अनुसन्धानको क्रममा सोही ठाँउका २० वर्षीय अजयकुमार रञ्जन, १९ वर्षीय विवेक यादव, १९ वर्षीय अर्जुन राम, १९ वर्षीय सिकिन्द्र राम, १९ वर्षीय बिजयराम चमार तथा शेख आजादसहित ७ जनालाई पक्राउ गरेको थियो । शेख आजादको परिवारका एकजना महिलासँग अवैध सम्बन्ध रहेकै कारण आजादकै योजना अनुसार छिमेकी साथीसँग मिलेर निरञ्जन रामको हत्या गरिएको प्रहरीको निष्कर्ष रहेको छ । पक्राउ परेकाको बयान र प्रमाणको आधार देखाउँदै भदौ १ गते ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले सातै जनामाथि ज्यान सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालतबाट म्याद समेत थमाएर अदालती प्रक्रियामा छ ।

घटना १६ :  विजय राम– रौतहट गरुडा नगरपालिका– ८ जिंगडियाका १९ वर्षीय युवा विजय राम गाउँ–छिमेकमा पढेलेखेका युवा मानिन्थे । उनले ११ कक्षा पढेका थिए, उनी बराबर पढेको युवा छिमेकमा थिएन । मामाका छोरा निरञ्जन रामको हत्या आरोपमा विजय पक्राउ परेका थिए । तर, उनले आफू निर्दोष भएको दोहो¥याइरहेका थिए । उनीविरुद्ध प्रमाण नभएकाले प्रहरीले उनीबाटै बहकाउने कोसिश गरेको थियो । जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी यातनापछि नेशनल मेडिकल कलेज वीरगन्जमा भर्ना भएका रामको उपचारका क्रममा त्यहीँ मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीनकुमार सिंह र दुई हवल्दार निलम्बनमा परेका छन् । निर्दोषलाई दोषी साबित गर्न यातना दिने ६ प्रहरी अधिकारीविरुद्ध विजयका बाबु पनिलालले सरकारी वकिल कार्यालयमार्फत २४ भदौमा उजुरी दर्ता गरे  । तर, प्रहरीले अहिलेसम्म कुनै कारवाही थालेको छैन ।

घटना १७ : रोशन विक– रोशन विकलाई मोबाइल चोरीको आरोपमा २२ भदौमा पक्राउ गरिएको थियो । उनी २६ भदौमा हिरासतमा शौचालयमा झुन्डिएको अवस्थामा फेला परे । रोशनका आफन्तजनले प्रहरीको यातनाबाट उनको मृत्यु भएको आरोप लगाएका छन । ‘मुख र नाकमा चोटपटक लागेको छ । मुख र नाकबाट रगत पनि आएको छ,’ रोशनका बुबा टेक विकले भने, ‘प्रहरीको कुटाइबाट मरेको हो । आत्महत्या भनेर प्रहरीले घटना लुकाउन खोजेको छ ।’ पीडित परिवार र दलित अधिकारकर्मीले प्रहरीको यातनाले विकको मृत्यु भएको भन्दै विरोध गरिरहेका छन । तर, यो विषयमा प्रहरीमाथि कुनै छानवीन भएको छैन ।

घटना १८ : सुकदेव मण्डल– सप्तरी डाक्नेश्वरी– १० सखुवास्थित दलित बस्तीमा सार्वजनिक सडक मिचेर स्थानीय नीलमदेवी मेहताले घर बनाइन् । सडक मिचेकोमा सबै स्थानीयको विरोध थियो । विरोध गर्नेमाथि मेहताको योजनामा १० जेठमा स्थानीय दलित बस्तीमा आक्रमण भयो । गाउँमा भागाभाग भयो । तर, ५४ वर्षीय सुकदेव मण्डलको काखमा बच्चा पनि थिए । उनीमाथि समूहले कुटपिट ग¥यो । गम्भीर घाइते सुकदेवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगियो । तर, टाउकोमा गम्भीर चोट लागेका उनको त्यहाँ उपचार सम्भव भएन, लगत्तै न्युरो अस्पताल विराटनगर पु¥याइयो । उपचारकै क्रममा मृत्यु भयो । मण्डललाई ठूलो समूहले लाठी र चिर्पटले टाउकोमा प्रहार गरेका थिए । छोरा अशोक मण्डल भन्छन्, ‘बुबाले नानी बोक्नुभएको थियो, भाग्न पनि पाउनुभएन । कुटी–कुटी मारे ।’ बस्तीमा करिब १० घर दलित बस्छन्  । आक्रमणमा संलग्न सात जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ । तर, प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गरेको छैन ।

घटना १९ : त्रिभुवन राम– सप्तरी शम्भुनाथ– ३ कचनदाहाका ४२ वर्षीय त्रिभुवन राम छिमेकी जमिनदार रासलाल पाल गडेरीकोे १० कट्ठा जग्गामा मोही थिए । भूमिसुधार कार्यालयले उनलाई मोहियानी हकको प्रमाणपत्र दिइसकेको थियो, तर जमिनदारले यो हक दिन मानेका थिएनन् । विवाद बढेपछि २९ असारमा प्रहरी रोहबरमा भएकाले छलफलपछि त्रिभुवनले मोहियानी हक पाउने गरी मिलापत्र गरायो । मिलापत्रपछि घर फर्केर गाउँतिर निस्किएका त्रिभुवन त्यस दिन साँझ घर फर्किएनन्  । भोलिपल्ट खोजी गर्दा उनी नजिकै मुतनी नदीमा मृत भेटिए । परिवारको उजुरीपछि प्रहरीले रासलालका छोरा सुरेन्द्र पाल गडेरी, शम्भु साह, उनका भाइ प्रभु साह र पंकज चौधरीलाई पक्राउ गरी मुद्दा चलाएको छ ।

घटना २० : रोशन राम– मिर्चैया नगरपालिका ९, मा हत्या गरी फालिएका सिरहा लहानका रोशन रामको शव दुर्गन्धित भइसकेको थियो । मिर्चैया प्रहरीले लहान अस्पताल ल्याइएको थियो । साउन १ गते प्रहरीले बेवारिसे शवको पोस्टमार्टम गरिसकेको थियो । बेवारिसे लास भेटिएको थाहा पाएपछि २ गते रोशनका बुबा सिफैत राम अस्पताल पुगेका थिए । रोशनले लगाएको कपडा र प्रहरीले देखाएको फोटोको आधारमा सिफैतले आफ्नो छोरालाई चिनेका थिए । लकडाउनको समयमा साथीहरूसँग सीमावर्ती गाउँ गएका बेला उनी लागुपदार्थसहित पक्राउ परेका थिए । लागु पदार्थसम्बन्धी मुद्दामा २५ जेठमा जिल्ला अदालत सिराहाले १० हजार धरौटी तोकेको थियो । गरिबीका कारण समयमा उक्त रकम तिर्न सकेनन् । त्यसपछि रोशनलाई पुर्पक्षका लागि जेल चलान गरिएको थियो । एक महिना जेल बसाइपछि १० असारमा उनी घर आएका थिए । जेलमै चिनजान भएका व्यक्तिले घुम्न जाऔं भन्दै असार २६ गते बाइकमा चढाएर रोशनलाई लगेका थिए । २६ गते राति नै रोशनलाई हत्या गरी फालिसकेको अवस्थामा उनको शव भेटियो । हत्या अभियोगमा दुई जना पक्राउ परिसकेका छन् ।

घटना २१ :  विगुल पासमान– धनुषा शहिदनगर नगरपालिका– ३ मा विगत १० वर्षदेखी बसोबास गदै आइरहेका विगुल पासमान को भोककै कारण मृत्यु भयो । मजदुरी गदै पेट पाल्दै आइरहेका पासमानको लकडाउन भएपछि दैनिकी झनै कठोर बन्न पुग्यो । पसल पसलमा माग्दै खाँदै आइरहेको पासमानको लकडाउनकै कारण पसलहरु र काम बन्द भएपछि उनले भोक प्यास मेटाउन पाएनन् र अन्तत भदौ ५ गते उनको मृत्यु भयो ।

घटना २२ : मलर सदा– विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले नेपामा पनि लकडाउन थियो । बन्दाबन्दीले बेरोजगार बनेका सप्तरीको कञ्चनरूप नगरपालिका—५ पथरी रामपुरका मलर सदा सिराहा (खाद्यान्न) को जोहो गर्न कोदालो र छाता बोकेर घरबाट निस्किए । घरमा चार दिनदेखि चुलो नबलेपछि उनी चिन्तामा डुबेका थिए । चार दिनदेखि पेटमा अन्नको गेडा नपरेका भोका मलर सदा खेत खन्दाखन्दै खेतमै ढले । उनकी श्रीमती जलेश्वरीले उनलाई अस्पतालसम्म पनि लान सकिनन् । चार दिनदेखि भोकै बसेका सदा परिवारमा मलरलाई अस्पताल लाने पैसा थिएन । अन्ततः मलरले अस्पताल नपुगी भोककै कारण सदाका लागि संसार छाडे ।

घटना २३ :  दिपेन बर्देवा– ललितपुर महानगरपालिका वडा नंं. २४ का १७ वर्षीय दिपेन बर्देवाको निर्ममतापूर्वक हत्या भएको परिवारको दावी छ । साउन २३ गतेबाट ललितपुर महानगरपालिका वडा नंं. २४ स्थानीय साथी सुवास थापा र राजेश तिमिल्सिनासँग घुम्न निस्किएका दिपेन बर्देवा घर नफर्किएपछि आमा—बाबुले खोज्दै जाँदा ललितपुरको भट्टेडाँँडास्थित ढुँगाको कापभित्र हत्या गरी बोरामा हालिएको अवस्थामा शव भेटियो । बर्देवा काठमाडौमा मूर्तिको काम गर्थे । ११ औ दिनमासुवास थापा र राजेश तिमिल्सिनासँग प्रहरी र मृतक परिवारका गरी ३० र ३५ जनाको समूह घटनास्थल ललितपुर भट्टेडाँँडास्थित खोजीमा निस्कियो । घटनास्थलमा सुवास र राजेश सही ठाउँ नदेखाई अल्मलाइ रहे । भदौं १ गतेका दिन बोरामा हालेको अवस्थामा, ढुंगाको ओडार जस्तो कापमा सडेको लास प्राप्त भएको थियो । मृतकका परिवारको गुनासो छ ,‘लास प्राप्त भएर गाडीमा हालेर अलि तल बाटेमा झरेपछि प्रहरीले घटना जे हुनु भइहाल्यो, अब मिल्नुपर्छ भन्नुले हत्या निर्ममतापूर्वक भएको शंका उब्जिएको छ । ’महानगरीय प्रहरी वृत्त चापागाँउले सुवास र राजेशलाई प्रक्राउ गरी केही दिन थुनेर छाडिदियो । पीडित परिवारले सुवास र राजेशको नाम किटानी जाहेरी नगर्दै पक्राउ गरी छाडिदिए । उनीहरुलाई किटानी जाहेरी पछि कारबाहीको दायरामा ल्याउने गरी कुनै कारबाही अगाडी बढाएको छैन ।

घटना २४ :  सिद्धार्थ आउजी– अछामको बयलपाटा अस्पतालले जेठ १२ गते कामबाट निकालिएको पत्र थमाएपछि अछामको साँफेबगर नगरपालिका–६ का सिद्धार्थ आउजी संकटमा परे । चार वर्षअघि मुम्बईबाट फर्किएका उनी त्यहाँ एक वर्षदेखि कार्यालय सहयोगीका रुपमा कार्यरत थिए । अस्पतालबाट मासिक रुपमा आउने १९ हजार पाँच सय रुपैयाँले श्रीमती र ७ महिनाकी छोरीसहित परिवार पाल्दै आएका थिए । तर, अस्पतालले १२ जेठमा उनीसहित ११ जनालाई अवकास पत्र थमायो । तीन दिनपछि थप २२ जना जागिरबाट निकालिए । जागिर गुमेपछि उनलाई परिवार कसरी पाल्ने भन्ने चिन्ताले सतायो । जेठ २६ गते त्यही तनावमा उनले आत्महत्या गरे ।

घटना २५ : ओमबहादुर सार्की– गुल्मी कालिगण्डकी गाउँपालिका– ५ फोक्सिङका ७० वर्षीय ओमबहादुर र उनकी श्रीमती ६९ वर्षीया खिमकला सार्कीले आत्महत्या गरे । दुवैजना घरनजिकैको खनियाँको रूखमा ओमबहादुरले प्रयोग गर्ने गलबन्दीको एउटै पासोमा झुन्डिएका थिए । एक छोरा र तीन छोरी छन् । छोरा केही दिनअघि मात्रै कुवेत गएका थिए ।

बुहारी र नातिनातिना घरमै छन् । उनीहरूले आत्महत्या गर्नुको कारण खोज्दै जादाँ लकडाउनकै समय गरिबीको कारण घरमा साझा विहान खान धैधै परेपछि आत्म हत्याको बाटो रोजेका थिए । आत्महत्याको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक चुरामणि पुनको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।

घटना २६ : तीन मुसहर– रुपन्देहीको तिलोत्तमा–१० मैनहवास्थित गंगादेवी पशु कृषि फार्ममा सुर्खेतको साविक नेटा गाविस–३ का ३२ वर्षीय झसेन्द्रबहादुर सिञ्जालीले फार्ममा काम गर्न पाँच जनाको सामुहिक हत्या गरे । पाँच जनामध्ये तीन मुसहर समुदायका थिए । जानकी र माधव मुसहरसहित सँगै सुतेका पोषराज मुसहर, करण चौधरी र आशिष चौधरी पनि रगताम्य भएर ढलेका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाका अनुसार फार्ममा सैनामैना मुर्गियाका ४१ वर्षीय माधव मुसहर, ३७ वर्षीया जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षका करण चौधरी र आशिष चौधरीको सामूहिक हत्या गरिएको थियो । हत्या अभियोगमा घटनास्थलबाटै सुर्खेतको साविक नेटा गाविस–३ का ३२ वर्षीय झसेन्द्रबहादुर सिञ्जालीले अभियोग स्वीकार गरेका छन् ।

(सामाजिक अभियन्ता  तथा दलित अनलाईनका प्रकाशक सम्पादक अशोक दर्नालले गरेको अध्ययन अनुसन्धान र लेखनलाई  दलित महिला संघ (फेडो)ले पुस्तकको रुपमा प्रकाशन गरेको छ। )

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank