बहस: नेपालमा दलित भविष्य
नेपालमा कोभिड– १९ को महामारीको शुरुवातसँगै दलितमाथि जातीय हिंसा, हत्या, बलात्कार र अत्याचार बढ्दै गयो । एघार बाह्र वर्षका कलिला दलित बालिकाहरु बलात्कृत भए, मारिए । राहत माग्दा सरकारी अधिकारीहरुबाटै दलितहरु कुटिए । सामुदायिक किरियापुत्री भवनको प्रयोगमा बञ्चित गरेका कारण न्याय खोज्दा एक जना दलितविरुद्ध उच्च जातको एउटा पुरै टोल प्रतिकारमा उल्र्यो । तर दलितमाथि लगातार रुपमा हत्या, हिंसा र बलात्कार हुँदा समेत सरकारबाट राम्रो नराम्रो कुनै प्रतिकृया आउन सकेन । यसैबीच रुकुममा दलितहरुमाथि बर्वर नरसंहार भयो । यो नरसंहारले दलितहरुलाई भित्रैदेखि थरथरी कपायो । म केही दिनसम्म राम्रोसँग खान र सुत्न सकिन । यसै पीडा, त्रास, आक्रोश र आवेगमा मैले नयाँ पत्रिकामा १५ जेठ २०७७ ‘दलित न्यायमा राज्यको संवेदनहीनता’ (बिकको उक्त लेख के थियो त्यसको लिंक तल दिएको छ ।) भन्ने लेख तुरुन्त लेखेँ । म लेख्न सक्ने अवस्थामा छैन भन्दा पनि मेरा एक जना प्रिय लेखकले अनुरोध गरेपछि लेखें । साँच्चै किबोर्डमा मेरा औंलाहरु राम्रोसँग चल्न सकेका थिएनन्।
तर त्यो लेखको दुईवटा भनाइलाई आधार बनाएर त्रिवि मानवशास्त्र विभागका प्रमुख डम्बर चेम्जोङले सामाजिक संजाल ट्वीटरमा पेशागत र बौद्धिक सीमा नाघेर ममाथि तुरुन्तै व्यक्तिगत आक्रमण गरे । उनले चह¥याइरहेको घाउमा नुनचुक थप्ने काम गरे । उनका ट्वीटर फलोअरहरुले विभिन्न कास्टेस्ट गालीहरु गरे । जब हामीहरु चोटमा हुन्छौं र पत्रपत्रिका वा सामाजिक संजालमा केही लेख्छौं बोल्छौं, उच्च जातिले यो समयलाई हामीलाई झन्चोट थप्ने मौकाको रुपमा लिन्छन्। यस्तो चोट खानु हाम्रो लागि नयाँ होइन । तर त्यस्तो विक्षिप्त अवस्थामा समेत डम्बर चेम्जोङ जस्तो चिनेजानेकै व्यक्तिबाट त्यस्तो आक्रमण होला भन्ने कहिल्यै कल्पना समेत गरिन । फेरी त्यस्तो कुनै गम्भिर आरोप लगाएको पनि होइन ।
डम्बर चेम्जोङले मलाई आक्षेप लगाउन आधार मानेका मेरो लेखका दुईवटा भनाइ यस्ता थिए । पहिलो, ‘नेपालको समाजशास्त्र- मानवशास्त्रमा जातसम्बन्धी एउटा छुट्टै पाठ्यक्रमको त कुरै छाडौं । मैले ०६२ मा एमए सक्ने बेलासम्म पनि जात के हो भन्नेबारे एउटा लेख पनि राखिएको थिएन’ । यो मेरो भनाइलाई उदृत गरेर चेम्जोङले मलाई भने, ‘कोर्स सिलेवस नै नहेरी एमए सकेछ भन्न पर्छ मैले’ । उनले जातको कुरा समेटेका केही पुस्तकको नाम लिए । तर मैले ती पुस्तकमा जातको कुरा अलिअलि भए पनि जातलाई नै फोकस गरेर पढाउनको लागि राखिएको थिएन भनेँ । त्यसपछि उनको जवाफ रह्यो ‘यस्तो झिल्के झेली कुरा गर्न कस्ले सिकायो भनेर सोध्नुस त अमरलाई ।’ दोस्रो, मेरो अर्को मत थियो, ‘अहिले यी स्थान नेपालका (समाजशास्त्र—मानवशास्त्रका विभागहरु) ब्राह्मणवाद र महिला द्वेषका ‘ब्रिडिङ ग्राउन्ड’ बन्न पुगेको जस्ता देखिन्छन्, सुनिन्छन् ।’ यसमा उनले आपत्ति जनाउँदै भने ‘अमर विकले ६ वर्ष पिट्सबर्गमा पिएचडी पढेर गजब मानवशास्त्र लेख्न सिकेछन् । स्याबास, बधाई छ । नेपाल आउँदा ब्रिडिङ ग्राउण्ड भिजिट गर्नुहोला, २-४ बिरुवा दिउँला तपाईँलाई’ मात्रै भनेनन्‘लेखकले के सोचेको छ आफुलाई ?’ भन्दै धम्कीपूर्ण भाषाको प्रयोग गरे ।
जातीय आक्षेप
उनले मैले लेखमा उठाएका सवालमा प्रश्न गरेनन् । के कमजोरी थियो भनेनन् । तर मेरा तर्क मनासिब नलागे उनले मसँग स्पष्टीकरण माग्न सक्थे, थप प्रमाणहरु माग्न सक्थे र थप छलफलको आवश्यकता जरुरी ठान्न सक्थे । उनीसँग केही नैतिकता हुन्थ्यो भने, पदीय उत्तरदायित्वको अलिकति महसुस हुन्थ्यो भने, उनले के कसरी ब्राह्मणवादी विचारहरु फैलिन गएको छ, कसरी रोक्न सकिन्छ भनेर सोच्न सक्थे, थप छलफल गर्नपर्ने आवश्यकता छ भन्ने ठान्थे । तर, यसको सट्टा उनले मेरो व्यक्तिगत मुल्य र पेशागत जीवनमाथि हमला गर्ने बाटो रोजे । मेरो ज्ञान, नैतिकता, क्षमता, र एजेन्सीमाथि गम्भिर प्रश्नहरु उठाए । मैले भनेको कुरालाई आलोचना नगरी, उनले मेरो व्यक्तिगत चरित्र तथा शैक्षिक जीवनमा नकारात्मक असर पार्ने कुचेष्टा गरे । उनले मलाई सिलेवस नै नहेरी एमए पास गरेको ठाने । मलाई झिल्के र झेली देखे । म आफैँले लेखेको वा बोलेको नभइ अरु कसैले सिकाएको माने । मैले अहिले गर्दै गरेको मानवशास्त्र र पिएचडीको खिल्ली उडाए । उनले मलाई एउटा वौद्घिक वा एकेडेमीकको रुपमा देख्न सकेनन्।
उनले ममाथि जेजस्तो शंका गरे, आक्षेप लगाए, त्यो जातीय पूर्वाग्रहबाट ग्रसित मानसिकताको उपज हो भन्दा फरक नपर्ला । ममाथिको उनको हेपाइ नेपालका वौद्धिक भन्नेहरुबाट हुने जातीय हेपाइको गतिलो उदाहरण हो । यस्ता शंका र आक्षेपहरु दलित समुदायका पढेलेखेका तथा केही प्रगति गरेका हरेक व्यक्तिले खेपेका हुन्छ । एउटा जातिवादी वा ब्राह्मणवादीलाई एउटा दलितले पढेर पास गर्न सक्छ भन्ने लाग्दैन । दलित आफैँले केही बोल्न, लेख्न सक्छ भन्ने ठान्दैन । आफैं केही निणर्य गर्न सक्छ भन्ने लाग्दैन । उसलाई अरुले नै सिकाइदिनु वा उचालिदिनु पर्छ भन्ने सोच्छ । उसको एजेन्सीलाई ठाडै नजरअन्दाज गरिदिन्छ । एउटा दलितले जेजस्तो शैक्षिक वा पेशागत उपलब्धिहरु हाँसिल गरेको छ, त्यसलाई उसले सधैं शंकाको दृष्टिले हेर्छ, सिधै खारेज गर्न खोज्छ ।
व्यक्तिगत हिसाबमा भन्ने हो भने यस्ता लान्छना र अपमानहरु मेरो लागि नौलो पनि होइन , चोटिलो पनि होइन । यस्ता लान्छना र अपमानहरु म र मजस्ता दलितहरुले मज्जाले भोगेर आएकै हौं, र हरेक दिनजसो अझै पनि भोगिरहेकै हुन्छौं । यदि यो लान्छना र अपमान म एउटा व्यक्तिलाई हुन्थ्यो भने मैले यसलाई सजिलै पचाउँथे होला । सामान्य कारणहरुमै दलितहरु मारिइरहनु पर्ने राज्यमा यस्ता लान्छना र अपमानलाई ध्यान दिइ साध्य हुन्न दलितहरुलाई । हामीलाई योभन्दा धेरै गम्भिर मुद्दामा, हिंसा, हत्या र अत्याचारमा ध्यान खिच्नुछ ।
नेपालका विश्वविद्यालयहरुको जवाफदेहिता, समानता तथा विविधताको अवस्था कतिसम्म नाजुक छ भन्ने देखाउने मात्र होइन, समानताको लागि उठाइएका प्रश्न र आवाजलाई कसरी दबाउन खोजिन्छ भन्ने स्पष्ट देखाउँछ । यस्ता प्रतिक्रियाहरु र धम्की दिनु उनको पदको दुरुपयोग र गैरजिम्मेवारीपनको चरम नमुनाको रुपमा लिन सकिन्छ । उनको खुलेआम दादागिरी विश्वविद्यालयजस्तो प्राज्ञिक थलोमा के मान्य हुन सक्ला ? अर्कोतिर, एउटा जनजाति समुदायको प्रोफेसर, समावेशीमा सम्बन्धी केही प्रोजेक्टहरु गरिरहेको विभागको प्रमुख, र सिमान्तकृत समुदायको अधिकार र समावेशितामा बोल्ने लेख्ने गरेको भन्ने व्यक्तिबाट यस्तो हर्कत आउनुले उनको र उनको विभागको पाखण्डिपन पनि उजागर गरेको छ ।
तर ममाथिको लान्छना र अपमान वा दुर्व्यवहार व्यक्तिगत मात्र छैन । सिधासिधा नभने पनि, उनको प्रतिकृयामा गहिरो जातीय पुर्वाग्रह स्पष्ट देखिन्छ । त्यसकारण मलाई लाग्यो कि उनको यो जातीय पूर्वाहको भत्र्सना गर्नुपर्छ । मैले उनलाई व्यक्तिगत रुपमा भत्र्सना गर्न खोजेको छैन । उनको प्रतिनिधित्व गरेको संस्थाका र उनको पदीय जिम्मेवारीका कारण भत्र्सना गर्न खोजेको हो । एकातिर, एउटा संस्थामाथि प्रश्न उठाउँदा उनले जुन स्थानबाट र जुन तरिकाले आक्रमण गरे त्यो पनि अस्वीकार्य छ । सरकारको पूर्ण लगानीमा चलेको विश्वविद्यालय जस्तो एउटा संस्था, जुन संस्था जातीय हिसाबमा नेपालको सबैभन्दा बहिष्करणकारी र जातीवादी मध्यमा पर्छ, जुन संस्थाले दलितहरुलाई इतिहासदेखि वञ्चितिमा राख्यो, जुन संस्था लगभग पूर्ण रुपमा उच्चजातीय वर्चश्वमा छ, त्यो संस्थाप्रति एकजना दलितले जायज प्रश्नहरु उठाउँदा उक्त संस्थाबाट आक्रमणमा पर्नुले उक्त संस्थाको पनि नैतिकतामा प्रश्न उठेको छ ।
यसले नेपालका विश्वविद्यालयहरुको जवाफदेहिता, समानता तथा विविधताको अवस्था कतिसम्म नाजुक छ भन्ने देखाउने मात्र होइन, समानताको लागि उठाइएका प्रश्न र आवाजलाई कसरी दबाउन खोजिन्छ भन्ने स्पष्ट देखाउँछ । यस्ता प्रतिक्रियाहरु र धम्की दिनु उनको पदको दुरुपयोग र गैरजिम्मेवारीपनको चरम नमुनाको रुपमा लिन सकिन्छ । उनको खुलेआम दादागिरी विश्वविद्यालयजस्तो प्राज्ञिक थलोमा के मान्य हुन सक्ला ? अर्कोतिर, एउटा जनजाति समुदायको प्रोफेसर, समावेशीमा सम्बन्धी केही प्रोजेक्टहरु गरिरहेको विभागको प्रमुख, र सिमान्तकृत समुदायको अधिकार र समावेशितामा बोल्ने लेख्ने गरेको भन्ने व्यक्तिबाट यस्तो हर्कत आउनुले उनको र उनको विभागको पाखण्डिपन पनि उजागर गरेको छ ।
‘ब्राह्मणवाद र सेक्सिजमको ब्रिडिङ ग्राउण्ड’
मैले संरचनात्मक ब्राह्मणवाद वा सेक्सिजमको कुरा गरेको हो, प्रेजुडिस वा विभेदको । मैले कसैलाई यौन दुर्व्यवहारको वा जातिय विभेदको आरोप लगाएको थिइन । के उनले समाजशास्त्र—मानवशास्त्र विभागहरुमा ब्राह्मणवाद र सेक्सिजम छैन भन्न सक्छन् ? के उनले उनका देशभरिका विभागहरुका लेक्चरर र विद्यार्थीहरुमा दलित र महिलाप्रति पुर्वाग्रह र विभेद छैन भन्न सक्छन् ? यी विभागहरुभित्र दलित विद्यार्थीहरुले भोग्ने जातीय विभेद र अपमानको त कुरा छोडौं, मानवशास्त्र विभागको करिब चालिस वर्षको इतिहासमा, देशैभरिका विभागहरुसहितमा, आजसम्म एउटा पनि दलित लेक्चरर नभएको एउटै तथ्यले विभागमा ब्राह्मणवाद छ भन्न काफी हुन्न ? समानुपातिक प्रतिनिधित्वको कुरा होइन, एक जना दलित समेतको प्रतिनिधित्व छैन । सिलेवस बनाउने, पढाउने, अध्यापन गर्ने, र अध्ययन अनुसन्धान गर्ने लगभग दलित बेगरको एउटै (उच्च) जातीय समुह । त्यसैले मानवशास्त्र—समाजशास्त्र विभागहरु पूर्णमा उच्चजातीय स्थानहरु हुनु र नेपालका समाजशास्त्र-मानवशास्त्र विभागहरुलाई उच्चजातीय विभागहरु भन्नलाई संकोच मान्नु पर्दैन । खासमा त यस्ता तथ्यहरुले यी विभागहरुलाई लज्जाबोध वा आत्मग्लानी हुनपर्ने होईन ? अक्सफोर्ड डिक्सनरिले ब्रिडिङ ग्रउन्ड भनेको, ‘एउटा स्थान जहाँ केही चीज, विशेषगरी नराम्रो, विकास हुन सक्षम हुन्छ’ भन्ने छ । मेलै विश्वविद्यालयहरु अहिले जातवाद र सेक्सिस्ट धारणाहरु शुरु हुने र विस्तार हुने उपयुक्त ठाउँ भएका छन् भनेको हो । जातवाद र सेक्सिजम मात्र होइन, जनजाति वा मधेशीलगायत अल्मसंख्यक प्रति पूर्वाग्रही सोचको विकास हुँदैछ भन्न खोजेको थिएँ । कुराकानीहरुमा, सोसल मिडियामा, सेमिनारहरुमै खुलाखुला सुनिन्छ त्यस्तो पूर्वाग्रह । विगत आठ दश वर्षदेखि, आरक्षण, समावेशी र संघीयताको प्रतिक्रिया स्वरुप यस्तो भावना बढ्दै गएको छ । सार्वजनिक सेवा एकाधिकार गुमेकोले होला, जागिरको चिन्ताले होला, यस्ता भावना उच्चशिक्षाका क्षेत्रहरुमा देखिन्छ बढी । म त्रिविका समाजशास्त्र-मानवशास्त्र विभागहरुबाट धेरै टाढाको मान्छे होइन । मेलै टियुबाटै मानवशास्त्रमा एमए गरेको हो । अझै पनि नेपालमै रिसर्चहरु गरिहरेकै छु । दलित विद्यार्थीहरुसँग कुराकानी, सोसल मिसियाका पोस्टहरु, सेमिनारहरुमा भएका कुराकानीका आधारमा ब्राह्मणवाद र सेक्सिजमको ब्रिडिङ ग्राउण्ड बनेका छन् भनेको हो ।
कोर्स सिलेवस
जात व्यवस्था नेपाली समाजको एउटा मुख्य पाटो हो । समाजको हरेक पक्षसँग जात गहिरो गरीजेलिएको छ । तर, विश्वविद्यालयका अन्य विभागहरुको त के कुरा, समाजशास्त्र-मानवशास्त्र संकायमा समेत, जातको विषयलाई पढाउनैपर्ने संकायमा समेत, कम्तिमा २०६२ सम्म जातसम्बन्धी एउटा छुट्टै कोर्ष थिएन । मैले एमए पढ्दा छुट्टै कोर्ष नभएको मात्र होइन, कुनै एउटा कोर्षभित्र जातलाई फोकस गरेको वा जातलाई नै फोकस गरेर छलफल गर्नपर्ने कुनै टपिक थिएन । टपिक मात्र नभएको होइन, जातलाई फोकस गरेर छलफल गर्नपर्ने सामाग्री थिएन । जातको कुरा आउने केही किताब र लेखहरु थिए, तर ति किताब र लेखहरु जातको बारेमा पढाउने भनेर राखेको जस्तो मलाई लागेन । कुनै सिलेवसको उद्देश्यहरुमा र सिकाइको उपलब्धिहरुमा, वा सिलेवसहरुका टपिकहरुमा जात परेको थियो उनले देखाउन् । जातको विषय सिलेवसमा समेटिएकै भए पनि, सतप्रतिशत उच्चजातीय लेक्चरर भएका विभागहरुले जातसम्बन्धी के कसरी पढाए होलान् वा पढाउँछन् भनेर जायज प्रश्नहरु उठाउने ठाऊँ बाँकी नै रहन्छ । जातसम्बन्धी एउटा कि दुइटा लेख वा पठन सामाग्री थियो भन्ने मुख्य सवाल होइन । समग्र समाजशास्त्र-मानवशास्त्र विभागहरुमा, यिनका पाठ्यक्रमहरु र संरचनामा जातको विषय र दलितप्रतिको बेवास्ता र पूर्वाग्रह रहेको नै थियो । धम्क्याएर वा गाली बेइजति गरेर त्यो पूर्वाग्रह लुकाउन सकिदैन । लेखको समग्रता र मर्मलाई पन्छाएर, स-साना वा झिनामासिना, कमा कि फुलस्टप वा एउटा कि दुइवटा भन्नेजस्ता कमी कमजोरी खोजेर लेखकको व्यक्तित्वमाथि आक्रमण गर्ने उच्चजातिको एउटा चल्तिको हतियार नै हो ।
उनले उदृत गरेका मेरा भनाइहरुबारे थप व्याख्या वा पुष्टि गर्न यो लेख लेखेको होइन । डम्बर चेम्जोङले त्यस्तो थप व्याख्या वा पुष्टिको आवश्यकता नै देखेनन्। आवश्यकता परे पछि कतै लेखौंला । उनको नियत विश्वविद्याालय वा विभागहरुमाथि उठेको आवाजलाई, वा एउटा दलित आवाजलाई, दबाउने नै हो भन्ने प्रष्ट देखिन्छ । त्यसकारण, उनको ममाथिको व्यक्तिगत आक्रमण र पेशागत तथा संस्थागत गैरजिम्मेवारीपनको उजागर र भत्र्सना गर्न मात्र यो लेख लेखेको हो ।
( बिक पिट्सवर्ग युनिभर्सिटी, अमेरिकाबाट पिएचडी गरिरहेका लेखक र अध्येता हुन्)
https://nayapatrikadaily.com/news-details/44194/2020-05-28
Leave a Reply