राष्ट्रिय खेलाडी चन्द्रकला लाम्गादेलाई कुटपिट गर्ने श्रेष्ठ दम्पत्ती ३ लाख धरौटीमा छुटे

दलित अनलाईन २८ भाद्र २०७७, आईतवार १५:०४

काँकडभिट्टा —एथलेटिक्सकी राष्ट्रिय खेलाडी चन्द्रकला लाम्गादेलाई कुटपिट एवं दुर्व्यवहारमा संलग्न मेचीनगर– १३ चारआलीका दुर्गाबहादुर श्रेष्ठ र उनकी पत्नी विष्णु श्रेष्ठलाई जिल्ला अदालत झापाले जनही ३ लाख धरौटीमा शुक्रबार छाडेको छ ।
नेपाली सेना अवकाशप्राप्त श्रेष्ठ र उनकी पत्नीले चन्द्रकलालाई गत भदौ ८ मा कुटपिट गरेका थिए । चन्द्रकलाका श्रीमान सुमन खातीलाई समेत कुटपिट गरिएको थियो । जातीय विभेदसहित कुटपिट गरेको भन्दै चन्द्रकलाका श्रीमान सुमनले श्रेष्ठ दम्पत्तीविरुद्ध गत भदौ ९ मा इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिएका थिए ।

लाम्गादेलाई जातीय गालीगलौज गर्दै श्रेष्ठ दम्पतीले कुटपिट गर्दा ७ महिनाकी गर्भवती लाम्गादेको पेटमा असर परेपछि अस्पताल भर्ना गरिएको थियो । इलाका प्रहरी कार्यालय धुलाबारीले कुटपिटमा संलग्न दम्पतीलाई जाहेरी परे लगतै कानुनी प्रकृया अघि बढाएको पक्राउ गरेको थियो । श्रेष्ठले छिमेकी राजन दर्जीलाई जातीय गालीगलौज गर्दै कुटपिट गरेपछि उनी गुहार माग्दै चन्द्रकलाको पसलमा आएका थिए । उनले जातीय दुर्व्यवहार किन गर्नुभएको भनेपछि श्रेष्ठ दम्पती उनीमाथि जाइलागेका थिए ।

ताप्लेजुङकी लाम्गादे नेपाल प्रहरीकी एथलेटिक्स खेलाडी हुन । गर्भवती उनलाई कोरोना संक्रमणका कारण विभागले इलाका प्रहरी कार्यालय धुलाबारीमा हाजिर गर्ने गरी काज विदामा राखेको थियो ।
एथलेटिक्सकी राष्ट्रिय खेलाडी चन्द्रकला लाम्गादेमाथि जातीय आधारमा कुटपिट भएपछि देश तथा विदेशबाट पीडकलाई तत्काल कारबाहीको माग सर्वत्र उठेको थियो । देशभरीबाट दलित अधिकारकर्मीहरुले श्रेष्ठ दम्पत्तीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग उठाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank