राष्ट्रिय दलित लयर्स फोरमबाट गृहमन्त्रीलाई सात बुँदे ध्यानाकर्षण पत्र

दलित अनलाईन १७ भाद्र २०७७, बुधबार २०:०९

काठमाडौं —विश्वव्यापी महामारी कोभिड-१९ को कारण भएको बन्दाबन्दीको अवधि  दलितमाथि गैरकानुनी तथा अमानवीय ढंगले हत्या र हिंसाका घटनाहरु बढिरहेको भन्दै ‘राष्ट्रिय दलित लयर्स फोरम’ले गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

देशका विभिन्न ठाउँमा श्रृङखलापुर्ण तरिकाले दलितहरुमाथि हत्या हिंसा भैरहेको भन्दै फाेरमले गृहमन्त्रीलाई सात बुँदे ध्यानाकर्षण ज्ञापनपत्र बुझाएको संस्थाका अध्यक्ष नारायण नेपालले जानकारी दिए ।‘राष्ट्रिय दलित लयर्स फोरम’ दलित समुदायका कानून व्यवसायीहरु सम्मिलित पेशागत संगठन हो ।

बन्दाबन्दीको अवधि मात्रैमा पनि मुलुकको विभिन्न जिल्लाहरु कालिकोट, रुकुम पश्चिम, इलाम, गुल्मी, कास्कीको पोखरा महानगरपालिका, रुपन्देही, मोरङ्ग, कैलालीको घोडाघडी, झापाको चारआली, वागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नंं.४ कुँडुले फेदी जस्ता स्थानमा दिनप्रतिदिन छुवाछूतको घटना घट्नु र छुवाछूतकै कारण करिब ११ जनाको कर्तव्यद्वारा नरसंहारकारी हत्या हुनुले देशमा छुवाछूत व्याप्त छ भन्ने प्रष्ट भएको समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरिएकाे छ ।

जातीय विभेदको घटनाको जाहेरी दर्खास्त सरल र सहज रुपमा दर्ता गर्न, दोषीलाई तत्काल पक्राउ गरी कारवाही चलाउन, यस्तो घटनाको गम्भीरतापूर्वक अनुसन्धान गर्न गराउन सबै जिल्लाका प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा परिपत्र जारी गरी पाऔं समेत ज्ञापनपत्रमा भनिएको छ । सात बुँदे ध्यानाकर्षण  के छ ?

१. रौतहट जिल्ला गरुडा नगरपालिका वडा नं.५ को निरञ्जन रामको हत्या (स्वयंमा जातीय भेदभावकै आधारमा भएको) र सोही हत्यामा जबरजस्त फसाउन सोही वडाका विजयराम चमारलाई इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी प्रमुख, प्रहरी नायब उपरिक्षक समेतले पक्राउ गरी प्रहरी हिरासतभित्र हत्या गरेको साबिती गराउन विजयराम चमारलाई अमानवीय तवरबाट यातना दिई करेन्ट समेत लगाई हत्या गरिएको छ । जुन कुरा लासको पोष्टमार्टम रिर्पोटबाट पनि पुष्टि भइसकेको छ । यस पृष्ठभूमिमा विजयराम चमारलाई चरम यातना दिई हत्या गर्ने प्रहरी कर्मचारी विरुद्ध जाहेरी दर्खास्त दिँदा सम्बन्धित प्रहरी कार्यालयले हालसम्म दर्ता गर्न मानेको अवस्था छैन । यसैले जाहेरी दरखास्त सहज र सरल रुपमा दर्ता गरी, अभियुक्त प्रहरी कर्मचारीलाई तत्काल नियन्त्रणमा लिई सत्य तथ्य छानबिन गर्न सक्षम, विज्ञ, निष्पक्ष, विश्वासयोग्य, भरपर्दो र दलित समुदायको बिषयविज्ञ प्रतिनिधिसहितको अनुसन्धान अधिकारीले मुद्दाको अनुसन्धान गर्ने गरी कारवाही अघि बढाओस् ।

२. धनुषा जिल्लाको इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा भएको शम्भु सदाको प्रहरी यातनाबाट भएको मृत्युमा जाहेरी दरखास्त दर्ता भएको तर अभियुक्तहरुलाई पक्राउ गरी अनुसन्धान अघि नबढाइएको, जनकपुरको राजु सदालाई उपचारको क्रममा स्वास्थ्यकर्मी तथा नगरपालिकाको कर्मचारीहरुबाट भएको लापरवाही, उपेक्षा र अपमानबाट भएको मृत्युको घटनाको उचित छानबिन नभएको हुँदा अविलम्ब छानबिन गरी अभियुक्तहरुलाई कारवाही र पीडित परिवारलाई परिपूरणको व्यवस्था गरियोस् ।

३. सप्तरी जिल्लामा मोही मुद्दा जितेकै कारण विपक्षी÷अभियुक्तहरुद्वारा दलित भएर मुद्दामा हामीलाई हराउने भनी त्रिभुवन रामको हत्या गरिएको छ भने सिराहा जिल्लामा रोशन रामको पनि हत्या गरिएको छ । अभियुक्तहरुलाई कारवाही र पीडित परिवारलाई परिपूरणको व्यवस्था गरियोस् ।

४. धनुषा जिल्ला कमला न.पा. वडा नंं.७ को वडाअध्यक्ष तपेश्वर यादवले आफ्नो अगुवाईमा आएका जिम्मेवार व्यक्तिहरुले मिति २०७७।५।६ गते राती १०÷११ बजेको समयमा चन्दन सदाका परिवारका ५जना सदस्यहरुलाई मरनासन्न हुने गरी कुटपिट गरेकोमा हालसम्म सो कुटपिटमा वडा अध्यक्षसहितका व्यक्तिहरुका विरुद्ध जाहेरी लिन नमानेको र निजहरुलाई कानूनी कारवाहीको दायरामा नल्याएको हुँदा यथाशीघ्र कारवाही गर्न जोडदार माग गर्दछौं ।

५.यसै गरी कैलालीको घोडाघोडी, झापाको चारअलि जस्ता स्थानमा जातिय छुवाछुत तथा विभेदका घटनाहरु घटी दलित समुदायमा कुटपिट, आक्रमण भएको सम्बन्धमा पिडित पक्षलाई संरक्षण गरी दोषिलाई कारवाही गरियोस भनि माग गर्दछौं । साथै वागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नंं.४ कुँडुले फेदीमा अवस्थित श्रीमुक्तिनाथ संस्कृत पाठशालामा सबै जातजातीले पढन पाउनुपर्छ भन्ने बिषयमा दलित समुदाय माथि हातपातगर्ने गालि, गलौज गर्ने दोषीलाई अविलम्ब कानूनी कारवाही गरियोस भनि माग गर्दछौं ।

६. जातीय छुवाछूत तथा विभेदको कारणबाट मुलुक नै कलंकित हुने गरी रुकुम पश्चिम जिल्लाको चौरजहारीमा भएको नरसंहार, हत्याको सम्बन्धमा संघीय संसदबाट गठन भएको समितिले प्रदान गरेको प्रतिवेदनको सिफारिशको कार्यान्वयन भएको छैन । सो सिफारिशको कार्यान्वयन यथाशीघ्र गरियोस् । साथै पीडित पक्षको परिवारको संरक्षण गरी पीडित परिवारलाई मुद्दा पुर्पक्षको क्रममा अनुचित प्रभाव पार्ने संभावनाहरु देखिएकोले अनुचित प्रभावमा पार्ने कार्य रोकियोस् । सोही घटनामा प्रहरी प्रशासनबाट कर्तब्यको पालना नभएको र सो घटनामा भएको लापरवाहीको सम्बन्धमा पुनः छानबिन गरी दोषी प्रहरी उपर विभागीय र आवश्यक कानूनी कारवाही गरियोस् ।

७. जातीय विभेद तथा छुवाछूतका घटनाबाट घाइते भएका पीडितहरुको राज्यबाट नै निशुल्क उपचारको व्यवस्था गरियोस् । जातिय छुवाछुत तथा विभेदकोे घटनाको गंभिरतापूर्वक अनुसन्धान गर्न गराउन प्रहरी कार्यालयमा छुट्टै दलित सेल गठन गरियोस् । दलित समुदायको मानव मयार्दापूर्ण जीवन बाँच्न पाउने अधिकारलाई संरक्षित गर्न तथा संविधान र कानुनलाई व्यवहारिक कार्यान्वयनको गर्नको लागि जातीय विभेद तथा छुवाछूत जन्य घटनालाई शुन्य सहिष्णुताले हेरी अनुसन्धान प्रक्रिया अगाडी बढाउन समेत मातहतका निकायमा निरर्देशन जारी गरीयोस भनि नेशनल दलित लयर्स फोरमको तर्फबाट हामी देहायका कानून व्यवसायीहरुले इमेल मार्फत ध्यानाकर्षण गराएका छौं ।

कानुन व्यावसायीहरु

१ अधिवक्ता नारायण नेपाल अध्यक्ष
२ अधिवक्ता मोहन साशंकर सह अध्यक्ष
३ अधिवक्ता श्याम विश्वकर्मा सह अध्यक्ष
४ अधिवक्ता भोजमान लाम्गादे सचिव
५ अधिवक्तासुन्दर सेनी कोषाध्यक्ष
६ अधिवक्ता चक्रमान विश्वकर्मा सदस्य
७ अधिवक्ता बाल्मिकी आउजी सदस्य
८ अधिवक्ता सरस्वती नेपाल सदस्य
९ अधिवक्ता राम बहादुर मिजार सदस्य
१० अधिवक्ता वाल माया विश्वकर्मा सदस्य
११ अधिवक्ता शैलेन्द्र हरिजन सदस्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank