रुकुम हत्या प्रकरण : जातीयताकाे पराकाष्ठा

कृष्ण रणपाल २० जेष्ठ २०७७, मंगलवार १४:०३

देश यतिबेला कोरोना भाइरसको महामारीमा जुटिरहेको छ । मानिसहरुमा रोगबाट कसरी बच्न सकिन्छ भन्ने भय, क्रास र चिन्ताले छाएको छ । अरुबेला धनसम्पत्ती कमाउन तल्लीन मानिस घरभित्र सीमित जीवन बिताउन विवश बनिरहेको छ । यो बेला न धनसम्पत्तीको लोभ लालच छ नत प्रशस्त धन भएकाहरुले खर्च खर्न सकिरहेको अवस्था छ । कोरोना प्रभावले के धनी, के गरिब, कसैको हैसियत सानो वा ठूलो भनेर विभाजन गर्ने अवस्था छैन् र यसले कसैलाई पनि छोड्ने बाला छन् । यो समय सबैको अवस्था समान र एउटै रहेको छ । यस्तो विषम परिस्थितिमा मानिसले एकले अर्कोलाई सहयोग, मेलमिलाप, सद्भाव र आपसी सहयोगको अथाह खाँचो रहेकोमा रुकुम पश्चिममा अन्तरजातीय प्रेम सम्बन्धका कारण भएको निर्मम हत्याले दलित वा गैरदलित जो कोहीले पनि सहन नसक्ने अमानवीय अत्यन्त दुःखदायी र पीडाबोधको भएको महसुस गराएको छ ।

जाजरकोट जिल्लाको भेरी नगरपालिका ४ रानागाउँका १८ वर्षीय युवा नवराज वि.क. र रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ कि सुष्मा मल्ल बीच केही वर्ष प्रेम सम्बन्ध चलेको थियो । जेठ १० गते शनिवार सुष्मा मल्लले लिन बोलाएपछि नवराज विकसहित १९ जना सुष्मालाई लिन रुकुम पुगेका थिए । त्यहाँ पुगेपछि सुष्मा मल्लका आफन्तजन र चौरजहारी वडा अध्यक्ष डिलबहादुर मल्ललगायत पश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको कुटाइबाट जाजरकोटका नवराज विक,टिकाराम विश्वकर्मा,गणेश बुढा मगर र लोकेन्द्र सुनार गरी ४ जनाको मृत्यु भएको छ भने सञ्जु विक, र गोविन्द शाहीको भेरी नदीमा बेपत्तापछि खोजी कार्य जारी छ । अन्य १२ जना जीवितै रहेका छन् । यो घटनाले अहिले जाजरकोट मात्र होइन देशभरी छरिएर रहेका आम नागरिक, सिङ्गो दलित समुदायका नागरिक, जनप्रतिनिधि ,अधिकारकर्मी, दलित पत्रकार र नेतागण सबैलाई फेरि पनि सशक्तरुपमा जातीय विभेद र न्यायका लागि एक्यबद्धता भएर लाग्नु पर्ने आवश्यकता महसुस भएको छ ।
दलितका लागि आवाज उठाउने अनि अन्याय, अत्याचार र जातीय विभेद विरुद्ध लड्नका लागि स्थापित विभिन्न दलितमुखी संघसंस्थाहरुमा थप चुनौती थपिएको छ । रुकुम पश्चिम तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको मुख्य थलो हो । जनयुद्धका बेला माओवादीको मुख्य नारा जातीय छुवाछुत र विभेदको अन्त्य गर्ने मूल एजेण्डा लिएर संघर्षमा होमिएका थिए । जनयुद्धमा हजारौं दलितहरुले जातीय विभेद र छुवाछुत अन्त्यको लागि बलिदान दिएका उक्त ठाउँमा यस्तो हर्कत हुनु आफैमा दुखद हो । नेकपाका नेता जर्नादन शर्माको चुनाव जितेको क्षेत्रमा अझैपनि कहालीलाग्दा बर्बरता क्रूर घटना निम्तिनुले पनि त्यहाँको समतामूलक समाज कता जादैंछ भन्ने प्रश्न जो कसैलाई भएको छ । युद्ध सुरुगर्नेहरु सरकारमा पुगिसकेपनि २१ औं शताब्दीमा त्यहाँको जातीय विभेदले निरन्तरता पाउनु अत्यन्तै घिन लाग्दो विषय हो ।

समाजमा भएका कुरीति र अन्धविश्वास र विभेदलाई जरैदेखि हटाउने अनि समानर र देश विकासमा लागि दलित र गैरदलितका नेताहरुले यस घटनालाई पर्दाफास गरी स्थानीय प्रशासनलाई निष्पक्ष छानविनको लागि सघाउनु आवश्यक छ । जसले गर्दा घटनाको बारेमा यथार्थ के हो भन्ने कुरा बाहिर निक्यौल होस र पीडितले न्याय पाओस् । यदि यो घटनालाई तोडमोड गरी राजनीतिकरण गरियो र पीडितलाई न्याय पाएनन् भने आन्दोलनले उग्ररुप लिनेछ ।

सरकारले २०६४ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछुत मुक्त नेपाल भनेर कागजी पानामा घोषणा गरेपनि व्यवहार र कार्यान्वयनमा फितलोपन आएको हुँदा आज यस्ता घटना भएका छन् । त्यसो त २ वर्ष अगाडि रुकुमका सबै स्थानीय तहमा जातीय छुवाछुत मुक्त तथा सामाजिक सद्भाव युक्त नगर घोषणा गरेको थियो । तर अहिले त्यही ठाउँमा राज्य स्तरका नियमनकारी जनप्रतिनिधिको रोहबरमा उक्त घटना घटाउनुले पनि स्थानीय तहले घोषणा गरको अभियानलाई उदांगो बनाई दिएको छ । जातीय विभेदका कारण निर्ममतापूर्ण ढंगले हत्या हुनु समतामूलक र न्यायिक समाज निर्माणलाई चुनौती दिएको छ । यसले अहिलेको रोग कोरोना भाइरस भन्दा अत्यन्त कडा जातीय विभेदको भाइरस सावित भएको छ । कथित गैरदलितकी केटी र दलित केटासँग प्रेम सम्बन्ध गाँसेकै आधारमा कसैको हत्या हुनु दण्डनीय हो । यो घटना भैसकेपछि रुकुम पश्चिममा रहेका दलित सांसद र अधिकारकर्मीहरुले निष्पक्ष छानबीन र दोषीलाई हदैसम्मको कारबाहीको माग गरेका छन् । तर घटनामा जनप्रतिनिधिकै अग्रसरता देखिएपछि राजनीतिक रङ्ग नलाग्ला भन्न सकिने अवस्था छैन । तर पनि राजनीतिक रङ्ग नलगाई यसलाई निष्पक्ष छानबीनको दायरामा ल्याउनु न्यायसंगत र अर्थपूर्ण हुनेछ । समस्याको समाधान कानुनी उपचारको बाटो हुँदाहँुदै पनि पञ्चायतकालको जस्तो शासन भै आड र दम्भको भरमा यस्ता जघन्य घटना घट्नुले नेपाली समाजमा रत्तीपनि परिवर्तन नभएको देखिन्छ । हुनत नेपालमा गणतन्त्र आएपछि पनि देशका कतीपय जिल्लाहरुमा कतै अन्धविश्वास त कतै छुवाछुत, हिंसा, बलात्कार, जातिय विभेदका कारण दलितहरु चपेटामा परेका उदाहरणहरु प्रशस्तै छन् ।
यस्ता हर्कत राज्यका नियमहरु कार्यान्वयन गराउने जिम्मेवार व्यक्तिहरुमा देखिएको हुँदा झन् अन्य जोकोहीलाई पनि घटना गराउन सहज भएको छ । मानव भएर मानवीयताको व्यवहार गर्नुपर्छ । समाज सबैको साझा हो । तर दुःख लाग्छ लकडाउनको बेलामा जातीय छुवाछुत र भेदभावका घटनाहरु बढेका छन् । यसको जति सक्दो निन्दा गरेपनि कम नै हुन्छ । यस्तै एउटै प्रकृतिको अन्तरजातीय प्रेम सम्बन्धको घटनाका कारण रुपन्देहीको देवदह नगरपालिका वडा नं ११ वड्की १५ वर्षिय किशोरी अङ्गीरा पासी झुण्डिएको अवस्थामा फेला परेकी छिन् । रुकुम पश्चिमको घटना सेलाउन नपाउँदै देवदहका गैरदलित २२ वर्षीय विरेन्द्र भरसँग प्रेम सम्बन्धमा जोडिएकी अङगीरा पासीले ज्यान गुमाएकी छन् । कास्कीको पोखरामा सार्वजनिक किरिया पुत्री भवन दलितलाई प्रयोग गर्न प्रदेश सांसद जस्तो व्यक्तिबाट रोक लगाउनुुु गुल्मीको कालीगण्डकी ५ फोक्सिङ्गमा घर छोएबापत समाजका अगुवाले पिडित श्याम परियारलाई रु १५०० जरिवाना तिराउनु र गाउँ निकाल्ने धक्की दिनु ,पोखरामै अन्तरजातीय विवाह गरेका गैरदलितलाई आफ्नो आमाको काजकिरियाबाट बन्चित गर्नु, पाल्पाको बगनासकाली गाउँपालिका १ चितुङ्गधारा स्थित पूर्णमान श्रेष्ठलाई दलित बिहे गरेकै आधारमा आफ्नो आमाको निधनमा घरभित्र प्रवेश गर्न नपाउनु र बारीमै छाप्रो बनाएर काजकिरिया गर्नु जातीय विभेदका ज्वलन्त उदाहरणहरु हुन् ।
तर धेरैजसो ठाउँमा कतिपय ठाउँमा डर र धम्कीका कारण घटनालाई ढाकछोप गरी मिलेमतोमा टुङ्गाउनु गरेको पाइन्छ । कतीपय आडम्बर र मैहुँ भन्ने शक्तिको भरमा राजनितीक रङ्ग दलेर कैयौं मुद्दाहरु प्रहरी कार्यालय र अदालतमा अड्किएका छन् । ४ वर्ष अघि अन्तर जातीय प्रेम सम्बन्धमा काभे्रका अजित मिजारले पनि ज्यान गुमाउनु परेको ताजा उदाहरण मानसपटलमा छर्लङ्गै छ । उनको मुद्दा अहिलेसम्म सकिएको छैन । नत पीडितले न्याय नै पाएका छन् । त्यसो त अहिले यो घटना जातीयता या अन्य जुन प्रकारले भएपनि घटनाको प्रकृति हेर्दा डरलाग्दो र पीडादायी छ । एकजनाको प्रेम सम्बन्धका कारण अनाहकमा अन्य व्यक्तिले ज्यान गुमाउनुले पनि अपराधिलाई जतिसुकै कारबाही गरेपनि पीडा कम हुन्छ ।
सिङ्गो रुकुम र जाजरकोटमा रहेका दलित समुदाय र अन्य गैरदलित समुदाय पीडितलाई न्याय दिलाउन आन्दोलन चर्काएका छन् । अहिले सबै तहमा दलित जनप्रतिनिधिको बाक्लो सहभागिता रहेको छ । समाजमा भएका कुरीति र अन्धविश्वास र विभेदलाई जरैदेखि हटाउने अनि समानर र देश विकासमा लागि दलित र गैरदलितका नेताहरुले यस घटनालाई पर्दाफास गरी स्थानीय प्रशासनलाई निष्पक्ष छानविनको लागि सघाउनु आवश्यक छ । जसले गर्दा घटनाको बारेमा यथार्थ के हो भन्ने कुरा बाहिर निक्यौल होस र पीडितले न्याय पाओस् । यदि यो घटनालाई तोडमोड गरी राजनीतिकरण गरियो र पीडितलाई न्याय पाएनन् भने आन्दोलनले उग्ररुप लिनेछ । सिङ्गो दलितहरु फेरिपनि एकजुट भएर संघर्षको मैदानमा उत्रन बाध्य हुनेछन् । अनाहकमा कुनै पनि नागरिकले ज्यान गुमाउनु राम्रो होइन । संघीय सरकारले यसलाई निष्पक्ष छानविनका साथै यो घटनाको बारेमा सम्बोधन गर्नुपर्छ ।

नरसंहार घटनाको अध्ययन र छानविनका लागि समिति गठन गरिएको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिएपछि अधिकांश सांसदहरुले संसदीय स्वतन्त्र शक्तिशाली समिति गठन गर्न माग गरेका छन् । सरकारका तर्फबाट निष्पक्ष छानबिन हुने कुरामा गृहमन्त्रीबाट प्रतिबद्धता जनाउनु भएको छ । तर कार्यान्वयन कस्तो रहन्छ त्योे अनुसन्धानले बताउने छ । यसको विरोधमा जाजरकोटमा दलित पत्रकार संघले गृहमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाउँदै आमरण अनसन सुरु गरेका छन् भने काठमाण्डौंको कृतिपुरमा दलित युवाहरुको विरोध प्रदर्शन गरेका छन् । यो घटनाले सिङ्गो देशका जनताहरुले घोर भत्र्सना र आपत्ति जनाएका छन् । यस घटनाबाट व्यक्तिको मृत्युभन्दा पनि काल पल्किनु अत्यन्तै खतरनाक हो भनेझै यस घटनाले पीडितलाई न्याय दिन कन्जुस्याई भयोभने यो केश अन्यत्र फैलिन सक्छ । त्यसैले पनि अबको घटना नदोहोरिनका लागि अपराधीलाई कडा भन्दा कडा कारवाही होस् र पीडितले पनि सरकार भएको महसुस गर्न सकोस् । अन्त्यमा यस घटनामा ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै पिडितलाई न्याय दिनका लागि दोषीलाई हदै सम्मको कारबाहीको माग गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank