नेपालको दलित आन्दोलनका अविस्मरणीय योद्धा ‘सुभाष’

कृष्ण रणपाल ३० श्रावण २०७९, सोमबार १२:१९

आज साउन ३० गते आजकै दिन विं.सं. २०६८ साउन ३० गते अगष्ट १५ तारिखका दिन नेपाली दलित आन्दोलनका एक होनहार सक्रिय युवा सुवाष कुमार दर्नाललाई गुमाएको अत्यन्तै दुःखद दिन हो । आज उहाँलाई गुमाएको ठीक ११ वर्ष पुगेको छ । साउनको महिना त्यतिबेला आकाश मडारिएर वर्षाले जलमग्न भएको तराई अनि पहाडको बाढी पहिरोले विपद्मा परी प्रकृति आफै राईरहेको अवस्था थियो । यताभने विहान विहान सुभाष दाईको मृत्युको खबर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सुन्नुपर्दा विश्वासै लागेन् अझै भनौं हजारौं माइल टाढा अमेरिका रहनु भएका दाई सुभाषको सडक दुर्घटनामा परी ३१ वर्षको अल्पायुमै मृत्युको खबरले अत्यन्तै दुःखित एवं स्तब्ध बनायो । नेपाली दलित आन्दोलनका एक योद्धालाई हामीले सदाका लागि गुमाउनुको पिडा सहनु बाहेक अन्य विकल्प पनि रहेन । सत्य यथार्थ नै हुन्छ, सत्यलाई कहिल्यै असत्यमा बदल्न सकिदैन भन्ने कुरा उहाँको मृत्युले प्रष्ट बताइदिएको छ ।

अमेरिकास्थित स्ट्याण्डफोर्ड यूनिर्भसिटीमा ३ हप्ताको ड्रपर डिस्लुमर फेलोसिपमा अध्ययन गर्न जानु भएका दर्नाल अध्ययन सकेर वासिङटन फर्केपछि सवारी दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको थियो । सुवास वास्तवमै नाम मात्रको सुभाष नभई उहाँको कामले सबै क्षेत्रमा फुलको वास्नाका रुपमा स्थापित सुवास छरिएझै मिठो वास्नाका रुपमा प्रख्यात बनेका एउटा संघर्षशील व्यक्ति हुनुहुन्थ्यो । उहाँ जीवनका कठिन र संघर्षशील यात्राका क्रममा एउटा कुशल लेखक,पत्रकार, मानवअधिकारकर्मी र सिंगो दलित सञ्चारकर्मीका अभिभावक र दलित आन्दोलनलाई स्थापित गर्ने अभियान्ताका रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

उहाँले दलित आन्दोलनको कमजोर क्षेत्रका रुपमा रहेको पत्रकारिता र आम सञ्चार क्षेत्रलाई संस्थागत गर्नुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्व विकास गरी मिडिया परिचालनमार्फत सशक्तिकरण,समावेशिकरण,स्थानिय नागरिक संस्थाहरु र दातृ निकायहरुका बीचमा सुमधुर सम्बन्धको विकास गर्नुभएको थियो । खासगरी देशमा सदियौं वर्षदेखि जडको रुपमा रहेको जातीय विभेद र छुवाछुतको विरुद्धमा राज्यबाट बाहिर रहेका समुदायहरुलाई एकिकृत गरी सभ्य समाजको निर्माण गर्ने र सिंगो दलित समुदायका व्यक्तिहरुको न्यायका लागि देशभित्र एउटा बलियो संस्था निर्माण गर्ने दौरानमा लाग्नेक्रममा कम उमेरमै हामीबाट छुट्टिनु भएको छ । आवाजविहिनहरुको आवाजलाई बुलन्द गर्दे विं.सं.२०६२÷०६३ सालको जनआन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ विपन्न परिवारमा हुर्कीएको व्यक्ति भएकोले पनि होला समाज र राष्ट्रमान जातीय विभेद र छुवाछुतजतिो कुरिती र कुप्रर्थाको घोर विरोध र अन्त्यमा तल्लीन भई विभिन्न आन्दोलन चाहे त्यो नागरिक आन्दोल होस् या दलित आन्दोल वा राजनीतिक आन्दोलनमा सक्रिय भूमिका रहको थियो । मानवतावादी,समन्यायिक र समतामूलक समाज निर्माण गर्न उहाँ एउटा अथक र कर्तव्यनिष्ठ सामाजिक योद्धाका रुपमा परिचित हुनुहुन्थ्यो । सामाजिम कुरीति,कुसंस्कार र अव्यवस्था विरुद्ध चेतना र कलमको वैचारिक युद्ध छोड्दै हिड्नु भएको थियो । देशमा उच–निचको मध्ययुगिन मनुवादी सोचबाट निर्देशित २१ औं सताब्दीको नेपाली समाजलाई परिवर्तन गर्ने सोचमा उहाँमा अथाह योगदान रहेको थियो । यो लडाईमा सबल र समय सापेक्ष बनाउने तत्कालीन राज्य र मुलधारका दलित गैरसरकारी संस्थाले समेत चासो नदिएको आम सञ्चारमा दलितको पहुचलाई मुल मुद्दाको रुपमा उठान गरी दलितहरुको सूचनाको हक स्थापित गर्न र त्यसलाई दलित मुक्तिसँग जोड्न उहाँले आफ्नो नेतृत्वमा जागरण मिडिया सेन्टरको स्थापना गर्नुभयो । एउटा साघुरो कोठाबाट सुरु भउको जागरण मिडिया सेन्टरको यात्रा प्रकारान्तरले देशकै बृहत दलित आन्दोलन हाक्ने नेतृत्वदायी संस्थाको रुपमा स्थापित भैसकेको थियो ।

सिमित सफलतामा मात्र उहाँ कहिल्यै सन्तुष्ट नरहने सरल सवभावका कारण अमेरिका र बेलायतमा अध्ययन ,अनुसन्धान गरी अत्यन्त नविनतम र ठोस योजनासहित दलित समुदायको बैज्ञानिक अध्ययन, अनुसन्धानका लागि समता फाउण्डेशन स्थापना गर्नुभयो । जुन संस्थाले आजसम्म दलित समुदाय र बहिस्करणमा परेको समुदायको अध्ययन र अनुसन्धानको रुपमा अग्रणी संस्थाको रुपमा स्थापित भएको छ ।

भनिन्छ,जस्को आयु कम हुन्छ,उनीहरुले अल्पायुमै एउटा सफलताको विरासत निर्माण गरी जान्छन् र सधै समाज र देशका लागि युगौयुगसम्म जिवित रहिरहन्छन् । यस्तै युवा अवस्थामा भएका उर्जा र सपनालाई पूरा गर्ने उर्जा,आत्मबल,दृष्टिकोण,त्याग र लगनशीलताको उचित संयोजन कमै व्यक्तिमा मात्रै हुन्छ तर सुभाष दाईमा यस्ता सबै गुणले युक्त हुनुहुन्थ्यो भन्ने आधारको ज्वलन्त उदाहरण उहाँले स्थापना गरेको संस्था जागरण मिडिया सेन्टर,शान्तिका लागि साझा अभियान(कोक्याप) र समता फाउण्डेशनको सफलता हो । जागरण र समताको आज जुन क्षितिज छ त्यो क्षितिजमा अथाह रङ भर्ने काम सुभाष दाईले नै गर्नुभएको थियो । त्यस्तै उहाँकै नेतृत्वमा आवाजविहिनहरुका लागि आवाज दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियो, रेडियो जागरण ९३.६ मेगाहार्ज बुटवलमा स्थापना ,दलन टेलिशृङ्खला कार्यक्रम टेलिभिजनबाट प्रसारणजस्ता थुप्रैसंस्थाहरु कुशलतापूर्वक नेतृत्व गर्नुभएको थियो । सुभाष दाईले ३१ वर्षको अल्पायुमै एउटा विपन्न गरिब परिवारमा जन्मिएर पाल्पा,बुटवल हुदै काठमाण्डौंमा रहेर छोटो समयमै गरेको प्रगति र उल्लेखनीय कार्यले अबको भावी पुस्ताले दर्बिलो पाठ सिक्ने अवसर निर्माण गर्नु भएको छ । सुभाष दाईको भौतिक शरीर हामी बीच नरहेपनि उहाँले आफ्नो जीवनका हरेक कालखण्डमा गरेका संस्थाहरुको प्रगति अत्यन्तै उत्कृष्ट र प्रसंशनीय छन् र हाम्रो मानसपटलमा सधै संझनायोग्य रहिरहनु हुनेछ भन्नेमा हामी सबै विस्वस्त छौं । उहाँका बाकी रहेका सपनाहरु र संस्थागत विकासमा आगामी यात्रा सफल र उदाहरणीय बनाउन हाम्रो महत्वपूर्ण सहयोग रहिरहने छ । सुभाष दाईलाई अर्पण गरेका श्रद्धाञ्जली त्यतिबेलासम्म सच्चा ठहर हुनेछ जतिबेला उहाँले देखेको दलित मुक्तिको सपना साकार पार्न हामी आफ्नो ठाउँबाट केही गर्न सक्नुपर्छ । एउटा दियो निभेपनि उहाँको सपनालाई मुर्तरुप दिन उहाँले लिएको मार्गलाई पहिचान गरी अन्य सुभाषहरु जन्माउन सक्नुपर्छ ।

को हुन सुभाष दर्नाल ?
सुभाष कुमार दर्नालको जन्म विं.सं. २०३६ साल जेठ २६ गते पश्चिम पाल्पाको मुझुङ –१ पाल्पा हाल रैनादेवी छहरा गाउँपालिकामा आमा सरिता दर्नाल र बुबा डिल बहादुर दर्नालका कोखबाट जेष्ठ सुपुत्रको रुपमा जन्म भएको हो । गरिब परिवारमा जन्मिनु भएका दर्नालको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले अध्ययन गर्न धौंधौ परेको थियो । उहाँ सानै उमेरदेखि अत्यन्तै मेहनती र पढाईमा अग्रपङ्तीमा हुनुहुन्थ्यो,फलस्वरुप एस.एल.सी.मा गाउँको विद्यालय कालिका माविबाट प्रथम श्रेणीमा उत्तीर्ण भई उच्च शिक्षाको लागि बुटवल आउनु भएको थियो । पछि बुटवलमा अध्ययन गर्न र जिविका चलाउन नसक्ने भएपछि काठमाण्डौं प्रस्थान गर्नुभयो ।

काठमाण्डौंमा पुगेपछि आर्थिक अभावका कारण समस्याहरुलाई संघर्षका साथ पार गर्दै पत्रकारितामा स्नातक तहसम्म अध्ययन गर्नुभयो । सुभाषको दलित आन्दोलनलाई सशक्तरुपमा अगाडि बढाउन र दलित आन्दोलनका कार्यक्रमहरु गर्ने जस्ता महत्वपूर्ण निर्णय गर्न उहाँको मामा विनोद पहाडीलाई सोधेर उहाँको प्राप्त आदेश र निर्देशन अनुसार मात्रै गर्नुहुन्थ्यो । त्यसैले त सुभाष दिनदिनै सबैको छत्रछायाँमा चम्किलो ताराका रुपमा उदाउनु भएको थियो । सामाजिक या नागरिक आन्दोलन होस् या अन्य क्षेत्रमा उहाँको मामा पहाडीको विशेष चासो र सर्पोट रहेको थियो । त्यसो त सुभाषलाई वास्तविक सुभाष बनाउनमा उहाँको जेठी दिदी शान्ता दर्नाल रणपालले सानैदेखि विशेष चासोका साथ सुभाषको अध्ययन र आर्थिक जोहो गर्नमा ध्यान केन्द्रीत हुन्थ्यो । यसरी आफ्नो जिवनलाई निरन्तर संघर्षका यात्रामा अगाडि बढाउदै दलित अधिकार र नागरिक आन्दोलनका कार्यक्रममा सरिक हुदैँ अगाडि बढ्नु भयो । जागरण मिडिया सेन्टरको स्थापना गरी समाजमा व्याप्त जातीय भेदभाव र छुवाछुत अन्त्य गरी सामाजिक न्याय स्थापनाका लागि क्रियाशिल दर्नालले जागरण मिडिया सेन्टरको संस्थापक अध्यक्ष,शान्तिका लागि साझा अभियान (कोक्याप)को अध्यक्ष र समता फाउण्डेशनको कार्यकारी निर्देशकको रुपमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो ।

सुभाषले आफ्नो जीवनमालाई निरन्तर संघर्षका यात्रामा अगाडि बढाउदै दलित अधिकार र नागरिक आन्दोलनका कार्यक्रममा सरिक हुदैँ अगाडि बढ्नु भयो । जागरण मिडिया सेन्टरको स्थापना गरी समाजमा व्याप्त जातीय भेदभाव र छुवाछुत अन्त्य गरी सामाजिक न्याय स्थापनाका लागि क्रियाशिल स्वर्गीय दर्नालले जागरण मिडिया सेन्टरको संस्थापक अध्यक्ष, शान्तिका लागि साझा अभियान (कोक्याप)को अध्यक्ष र समता फाउण्डेशनको कार्यकारी निर्देशकको रुपमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो ।

त्यस्तै निरङकुश राजतन्त्रको विरुद्ध २०६२/०६३ सालको लोकतान्त्रिक जनआन्दोलनमा उहाँले दर्जनौं मानवअधिकारवादी संस्थाको संयोजनगरी मानवअधिकार रक्षाका लागि नेतृत्वदायी भूमिका खेल्नु भएको थियो । उहाँको नेतृत्वकालमा दलित समुदायको अगुवाईमा सुरु भएको दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियोःरेडियो जागरण ९३.६ मेगाहर्ज बुटवलमा स्थापित गर्ने र ऐतिहासिक टेलिशृङखला ‘दलन’ निर्माणमा महत्वपूर्ण भूमिका निभाउनु भएको थियो । त्यसैगरी नेपाली दलित आन्दोलन होस् या राजनीतिक आन्दोलनलाई एकिकृत गर्ने कार्यमा उहाँको निरन्तर सक्रियता अपरिहार्य रहेको थियो ।

सुभास र नागरिक आन्दोलन
तत्कालीन विद्रोही माओवादी र सात राजनीतिक दलका बीच दिल्लीमा १२ बुँदे सहमतिपछि नेपालमा सडक आन्दोलनको माग बढिरहेको थियो । ठीक त्यही बेला सुभासकै समन्वयमा मानवअधिकारवादी तथा नागरिक अगुवाहरुको भेला भयो । डाक्टर देवेन्द्र पाण्डे, श्याम श्रेष्ठ, पद्मरत्न तुलाधर, हरि रोका, दिपेश प्रसाई, चरण प्रसाई, शम्भु थापा, विनोद पहाडी, पदमलाल विश्वकर्मा, कृष्ण भट्टचन र डाक्टर सुन्दरमणी दिक्षितलगायतको भेला गरी लोकतन्त्रका लागि नागरिक आन्दोलन परिचालनका लागि विशेष पहल भयो । त्यसैगरी उहाँले दलित नागरिक आन्दोलनको संयोजन गर्ने काम गर्नुभयो ।


दर्नाल अवार्ड स्थापना र विभिन्न व्यक्ति सम्मान

सामाजिक न्यायका अभियान्ता स्व.सुभाष दर्नालको स्मरणमा दर्नाल अवार्ड स्थापना गरिएको छ । अन्तर्राष्ट्रियस्तरको उक्त अवार्ड रु ५ लाख राशीको रहेको छ । हालसम्म सिन्धुपाल्चोक मेलम्चीको गरिब बस्तीको एक प्राथमिक विद्यालयलाई र क्रमशः दलित आन्दोलनका जुझारु युवाहरु कपिलवस्तुका रक्षाराम हरिजन, अछामका दुर्गा विश्वकर्मा, वैतडीकी सरस्वती नेपाली दर्नाल अवार्डबाट सम्मानित भैसक्नु भएको छ । उक्त पुरस्कार उहाँको पत्नी सरिता परियारले ‘सरिता परियार ट्रष्ट फण्ड’ मार्फत हरेक २ वर्षको अन्तरालमा अगष्ट १५ का दिन ४० वर्ष मुनीका दलित युवाहरुलाई दर्नाल अवार्ड प्रदान गरिदै आएको छ । यसअघि सुभाष दर्नालको वार्षिक पुण्यतिथिमा प्रदान गर्दै आएको सामाजिक न्यायका लागि दर्नाल पुरस्कार उहाँको जन्मदिन जुन ८ मा भएकाले २०२२ जुन ८ मा भव्य कार्यक्रम गरिएको थियो । यस वर्ष कर्णाली कला केन्द्र मुगु र इक्वालिटी ल्याब अमेरिकालाई संयुक्तरुपमा दर्नाल अवार्ड २०२२ प्रदान गरेको छ । यी २ संस्थाले सामाजिक न्यायको क्षेत्रमा पुराएको योगदानलाई कदर गर्दै सरिता परियार ट्रष्टले सामाजिक न्यायका लागि अन्तराष्ट्रिय दर्नाल अवार्ड प्रदान गरेको हो ।

त्यस्तै, ट्रस्टले यस वर्ष पत्रकार ध्रुवसत्य परियार र मानव बेचबिखनविरुद्वका अभियान्ता करुणा त्रिखतीलाई सम्मानसमेत गरेको छ । दलित अधिकार र विभेदरहित समाज स्थापनाका लागि संघर्ष गरेका सामाजिक अभियान्ता स्वर्गीय सुभाष कुमार दर्नालको स्मृतिमा स्थापना गरिएको पुरस्कारको राशी ५ लाख रहेको छ । यो अवार्ड २०७३ सालदेखि प्रदान गर्दै आएको छ ।

सुभाषले गरेका उपलब्धिहरुः
सुभाष दर्नालले सन् २००८/०९ मा अमेरिकास्थित रेगम–फेसिल डेमोक्रेसी फेलोसिप प्राप्त गर्नुभएको थियो । उहाँले समावेशी लोकतन्त्रका लागि सकारात्मक विभेदबारे अध्ययन गर्नु भएको छ । त्यस्तै उहाँको लेखनमाःसंविधान सभामा दलितः सभासद संवाद,उहाँको सम्पादनमा आरक्षण र विशेषाधिकारको राजनीतिक पुस्तक प्रकाशित भएका छन् भने लोकतन्त्र र दलित अधिकारका विषयमा दर्जनौ लेख रचनाहरु प्रकाशित गर्नु भएको छ ।
सुभाषको मृत्यु भैसकेपछि उहाँले गरेका सिर्जनशील र रचनात्मक दलित आन्दोलनलाई नयाँ उचाईमा पुराउन उहाँले थालनी गरेका योजना र प्राज्ञिक दृष्टिकोणलाई जीवन्त राखी निरन्तरता दिन नेपालमा  सुभाष दर्नाल स्मृति प्रतिष्ठान’ गठन भएको छ । उहाँको मृत्यु भएको वर्ष दिनको अवसरमा प्रतिष्ठानका तर्फबाट सुभाष दर्नालसँग सम्बन्धित परिवारजन,मानवअधिकारकर्मी,दलित आन्दोलनकर्मी तथा सह–योद्धाहरुको स्मरणहरुको संगालोको रुपमा ‘सुभाष दर्नाल स्मुति ग्रन्थ’नामक महत्वपूर्ण पुस्तक प्रकाशित भएको छ । उक्त ग्रन्थमा उहाँको बाल्यकालदेखि युवाअवस्थामा आईपुदासम्मका निरन्तर संघर्षका नाली बेलीहरु प्रष्टसंग देख्न सकिन्छ । जन्मथलो मुझुङ पाल्पादेखि कर्मथलो बुटवल, काठमाण्डौ र अन्तराष्ट्रिय देश अमेरिकाको यर्थाथ विषयवस्तुलाई समष्टिगत रुपमा उल्लेख गरिएको छ । यसरी ३१ वर्षको कलिलो उमेरको युवा अवस्थामै उहाँकी धर्मपत्नी सरिता परियार र १ वर्षकी सानी छोरी सामना लगायत हामी सबैले आदरणीय व्यक्ति गुमाउनु परेको छ । तरपनि कठीन परिस्थितीलाई सम्हालेर मनलाई दर्बिलो बनाई आफ्नो जीवन चलाउनु पर्दो रहेछ । यसरी नेपालको दलित आन्दोलनलाई संस्थागत विकास गर्न र आम नागरिकको मानवअधिकारको रक्षाका लागि सुभाष दर्नालको महत्वपूर्ण योगदान रहेको छ । आज हामी बीच उहाँ भौतिक रुपमा जीवित नभएतापनि उहाँले सञ्चालन गरेका संस्थाहरुको प्रगति र उन्नतिले फेरि पनि सुभाष दर्नाल यताकता मानसपटलमा रहिरहनु हुनेछ । हार्दिक श्रद्धासुमन दाजु सुभाष ।
(लेखकः राष्ट्रिय दलित पत्रकार संघ, नेपाल रुपन्देहीका कोषाध्यक्ष हुन् । )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank