
काठमाडाैं- जातीय विभेदको घटनामा आरोपीको पक्षमा विज्ञप्ति जारी गर्ने गण्डकी प्रदेशका सांसद कृष्णबहादुर थापालाई कारबाहीको माग गर्दै नेकपा गण्डकी प्रदेश कमिटी र संसदीय दलमा उजुरी परेको छ ।
नेकपा निकट दलित नेता एवं संगठनले शुक्रबार सांसद थापालाई कारबाहीको माग गर्दै उजुरी दिएका हुन् । नेकपाको प्रदेश समिति, कास्की जिल्ला समितिमा रहेका दलित नेता, दलित मुक्ति मोर्चा र उत्पीडित जातीय मुक्ति समाजका सचिवालय सदस्य र दलित जनप्रतिनिधिले पार्टी कार्यालयमा उजुरी बुझाएका हुन् । उजुरीमा उक्त विज्ञप्तिको भर्त्सना गर्दै पार्टी विधानबमोजिम सांसद थापालाई कारबाही गर्न माग गरेको नेकपाका प्रदेश समितिका एक सदस्यले बताए । ‘सांसदको लेटरप्याड दुरुपयोग गरेर विभेदजन्य घटनामा आबद्धलाई बिनासर्त रिहाइ गर्ने माग गर्नु र दलित अधिकारकर्मीलाई उच्छृंखल तत्व भन्नु खेदजनक छ,’ ती नेताले भने, ‘पार्टीको अन्तरिम विधान–२०७५ को धारा ५६ अनुसार कारबाही गर्न माग गरेका छौं ।’ झन्डै ८० दलित नेता कार्यकर्ताको सहमतिसहित ५० जनाले हस्ताक्षर गरेर उजुरी बुझाएको उनले बताए ।
नेकपाका गण्डकी प्रदेश सचिव एवं मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपालीले उजुरी बुझेको स्वीकारे । संसदीय दलका नेता एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई दिइएको उजुरी र पार्टी कमिटीलाई दिइएको उजुरी आफूले बुझेको उनले बताए । ‘पार्टी पदाधिकारी जम्मा भएपछि उजुरीउपर आवश्यक प्रक्रिया अगाडि बढ्छ,’ उनले भने, ‘संसदीय दलले पनि प्रक्रिया अगाडि बढाउँछ ।’
नेकपाको अन्तरिम विधान २०७५ को धारा ५६ अनुसार जातीय विभेदमा संलग्न हुने र प्रश्रय दिने नेता कार्यकर्तालाई अवस्था हेरेर आत्मालोचनादेखि पार्टी सदस्यबाट निस्कासन गर्नेसम्मको व्यवस्था छ ।
Leave a Reply