काठमाडौं – इरान कोरोना भाइरसको भयानक संकटबाट जुधिरहेको एक देश हो । इरानको अवस्था आगामी दिनमा अझै बढी खराब हुने आशंका गरिएको छ ।
कोरोना भाइरसको कहर सुरु भएपछि डा. मोहम्मद आराम नगरी बिरामीहरुको ज्यान जोगाउन हरसम्भव कोसिस गरिरहेका छन् । मोहम्मद इरानको उत्तरी प्रान्त गिलानको एक अस्पतालका डाक्टर हुन् । पछिल्लो १४ दिनमा उनले एकपटक पनि आफ्नो परिवारका सदस्यलाई भेट्न पाएका छैनन् । उनले आफ्नै सहकर्मी गुमाए । साथीहरु गुमाए, जसमध्ये एकजना उनका पूर्वशिक्षक थिए ।
मोहम्मदका अनुसार कोरोना भाइरसको संक्रमणले उनको अस्पताललाई मात्र होइन, पूरै इरानको स्वास्थ्य सेवालाई नै अपांग बनाइदिएको छ । उनी भन्छन्, ‘स्टाफहरुको मनोबल खस्किसकेको छ । हाम्रो परिवार निकै चिन्तित छ र ममाथि ठूलो दबाब छ ।’
मोहम्मदको वास्तविक नाम यहाँ उल्लेख गरिएको छैन । किनभने इरान सरकारबिरुद्ध बोल्नु दण्डनीय हुन्छ ।
तर, इरानको उत्तरी प्रान्तको हरेक क्षेत्रका धेरै डाक्टरहरुले इरानको संकटपूर्ण अवस्थाबारे जानकारी दिएका छन् । जसले मन उद्वेलित बनाइदिन्छ ।
मोहम्मद भन्छन्, ‘हामीसँग पर्याप्त संख्यामा मास्क छैन । बिरामीहरुको उपचार गर्ने स्वास्थ्यकर्मीहरुकै दिनहुँ मृत्यु भइरहेको छ ।’
‘मृतकको संख्या कति छ भन्ने कुरा मलाई थाहा छैन । तर, सरकारले वास्तविक अवस्थालाई लुकाउन खोजिरहेको छ । सरकारले कोरोना संक्रमित फेला परेको सुरुको दिनदेखि नै झूटो बोल्यो ।’
कोभिड–१९ भनिने कोरोना भाइरसको संक्रमण केवल १६ दिनमै इरानका ३१ वटै प्रान्तमा फैलियो । दोस्रोतर्फ १६ देशहरु (इराक, अफगानिस्तान, बहराइन, कुवेत, ओमान, लेबनान, यूएई, क्यानडा, पाकिस्तान, जर्जिया, एस्टोनिया, न्युजिल्याण्ड, बेलारुस, अजरबैजान, कतार र आर्मेनिया) ले पनि आफ्नो देशमा इरानबाटै कोरोना भाइरस भित्रिएको बताए ।
१९ फेब्रुअरीमा पहिलो पटक इरान सरकारले जनतालाई नआत्तिन आह्वान गरेको थियो । इरानका सर्वोच्च नेता अयातुल्ला अली खमेनीले विरोधी देशहरुले बढाइचढाई गरेर कोरोनाको त्रास फैलाएको भनेका थिए । त्यसको एक हप्तापछि नै संक्रमित र मृतकको संख्या बढ्दै गयो ।
राष्ट्रपति हसन रुहानीले पनि सर्वोच्च नेता खमेनीकै कुरा दोहोर्याए । उनले, उनकै शव्दमा ‘इरानका शत्रु देश’हरुलाई षडयन्त्र र आतंक फैलाउने काम नगर्न चेतावनी दिए । उनले इरानी जनतालाई नआत्तिकन आफ्ना दैनिक क्रियाकलाप जारी राख्न आह्वान गरे । हालै एक सरकार नियन्त्रित एक टेलिभिजन कार्यक्रममा उनले कोरोना भाइरस अमेरिकाले बनाएको ‘जैविक हतियार’ हुनसक्ने अभिव्यक्तिसमेत दिए ।
इरानको स्वास्थ्य मन्त्रालयका अनुसार १९ मार्चसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६१ थियो । जबकी यसबाट मृत्यु हुनेको संख्या एक हजार एक सय ३५ थियो । पछिल्लो तथ्यांकमा भने इरानमा कोरोना संक्रमितको संख्या ३२ हजार तीन सय ३२ र मृतकको संख्या दुई हजार तीन सय ७८ छ ।
इरानमा यस भाइरसबाट सबैभन्दा नराम्रोसँग गिलान, गोलेस्तारन र मजन्दरन प्रान्त छन् । ती प्रान्तका डाक्टरहरुका अनुसार कोरोना भाइरसको परीक्षण गर्ने किट एकदमै थोरै छ । सामान्य खालका औषधि, अक्सिजन सिलिण्डर, मास्क, प्रोटेक्टिभ स्क्रब्स र ग्लोभ्स पनि सीमित छ । डाक्टरहरुले अस्थायी फिल्ड अस्पतालमा काम गर्नु परिरहेको छ ।
जुन डाक्टरसँग कुरा गर्दापनि उनीहरुको अनुभवको आधारमा भन्न सकिन्छ कि कोरोना भाइरससँग सम्बन्धित सरकारी तथ्यांक वास्तविकताको तुलनामा निकै कम छ ।
गोलेस्तान प्रान्तका एक डाक्टरका अनुसार उनी कार्यरत अस्पतालमा दैनिक तीन सय बिरामी आइरहेका छन् । यीमध्ये ६०/७० प्रतिशत बिरामी कोरोनाबाट पीडित छन् ।
तर, स्वास्थ्य उपकरण कम भएकाले सबैलाई भर्ना गरेर उपचार गर्न सकिएको छैन । यस्ता बिरामीलाई मात्र भर्ना लिने गरिएको छ, जसको अवस्था गम्भीर छ र भर्ना गरिएका बिरामीलाई मात्रै कोरोना संक्रमित भनेर सरकारी तथ्यांकमा समावेश गरिएको छ । ती डाक्टरका अनुसार दुई हप्तायता हरेक दिन औसत पाँच जना बिरामीको मृत्यु भइरहेको छ ।
स्वास्थ्यकर्मीलाई सबैभन्दा पीडादायी क्षण भनेकै आफ्नालाई गुमाउनु हो । धेरैजनाले आफ्ना धेरै सहयोगी/सहकर्मीलाई गुमाइसकेका छन् ।
यस्तै, दुःखद् क्षण फेब्रुअरी महिनाको अन्तिम साता २५ वर्षीया नरजिस खानालिजादेहलाई आयो । उनी इरानको उत्तरी शहर लाहिजानकी एक नर्स हुन् ।उनको मृत्यु कोरोना संक्रमणबाट भएको भनेर उनको फोटो सामाजिक सञ्जालमा भाइरल भयो । तर, सरकारले कोरोनाबाट मृत्यु भएको भनेर स्वीकार गरेन ।
सरकारी टेलिभिजन च्यानलहरुले पनि मेडिकल स्टाफहरुका यस्ता तस्बिर देखाइरहे जो उपचारको मोर्चामा अग्रपंक्तिमा रहेर काम गरिरहेका छन् र बिरामीको उपचारमा खटिएका छन् । तर, एकछिन पछि इरानी नर्सिङ अर्गनाइजेसनले उनको मृत्यु कोरोनाबाटै भएको पुष्टि गर्यो ।
इरानमा कोरोना कसरी फैलियो ?
‘शून्य बिरामी’ (पहिलो संक्रमित जसबाट अरुमा संक्रमण फैलिन्छ)बाट यसको सुरुवात भयो र ती दुई जना बिरामीको १९ फेब्रुअरीको दिन इरानको कोम शहरमा मृत्यु भयो । सरकारका अनुसार तीमध्ये एक जना चीनमा यस भाइरसको सम्पर्कमा आएका थिए ।
कोम शहर तीब्ररुपमा कोरोना भाइरस संक्रमणको केन्द्र बन्यो । यो शहर शिया मुसलमानहरुको एक प्रमुख तीर्थस्थल हो । यहाँ देशका शीर्ष इस्लामिक धर्मगुरुहरु बस्छन् । यस शहरमा हरेक वर्ष करिब दुई करोड घरेलु र करिब २५ लाख विदेशी पर्यटक घुम्न आउँछन् । हरेक हप्ता हजारौंको संख्यामा तीर्थयात्रीहरु शहर घुम्छन् । उनीहरु यहाँका धार्मिकस्थलमा जान्छन् र चुमेर वा त्यसलाई स्पर्श गरेर आफ्नो सम्मान दर्शाउँछन् ।
कोरोना भाइरस तीब्र रुपमा फैलिन थाल्यो । तर, शहरलाई लकडाउन गर्नुको सट्टा सर्वोच्च नेतालगायतले तीर्थयात्रीहरुलाई शहरमा आउजाउ गर्न प्रेरित गरिरहे । उनीहरुले भनेका थिए, ‘हामीले तीर्थस्थलमा पुगेपछि बिरामी ठिक हुन्छ भन्ने कुरामा विश्वास गर्छाैं, त्यसैले यहाँ आउनुपर्छ र आध्यात्मिक तथा शारीरिक अस्वस्थताबाट मुक्त हुनुपर्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को आपतकालीन सेवाका निर्देशक रिचर्ड ब्रेननले भन्छन्, ‘कोम शहर धार्मिक रुपमा महत्वपूर्ण छ । इरानका आन्तरिक र विदेशी पर्यटकहरु यहाँ आउने जाने गरिरहन्छन् । त्यसैकारण यहाँ भाइरस तीब्ररुपमा फैलियो ।’
शहरका धार्मिक स्थललाई अहिले बन्द गरिएको छ ।
सरकारले लुकाउने कोशिश गरेको हो ?
फेब्रुअरीमा इरानमा दुई ठूला कार्यक्रम भए– इस्लामिक क्रान्तिको ४१ औं वर्षगाँठ र संसदीय चुनाव ।
एक वरिष्ठ डाक्टर भन्छन्, ‘११ फेब्रुुअरीमा इस्लामिक क्रान्ति दिवसको केही दिन अगाडि मैले र मेरा सहयोगीले पहिलो पटक असामान्य श्वासप्रश्वासको बिरामीलाई देखेका थियौं । हामीले हाम्रो अस्पतालबाट धेरै रिपोर्टहरु तेहरानस्थित स्वास्थ्यमन्त्री कहाँ पठायौं । ती रिपोर्टमा यस्तै भाइरस हुनसक्ने चेतावनी दिइएको थियो ।’
उनी भन्छन्, ‘आफ्ना कार्यक्रम जारी राख्न स्वास्थ्य अधिकारीहरुले कोरोना भाइरस इरानमा भित्रिसकेको तथ्यलाई लुकाउने निर्णय गरे भन्ने हाम्रो ठहर छ ।’
इस्लामिक क्रान्तिको वर्षगाँठ र चुनाव दुबै सरकारको लोकप्रियता जाँच गर्ने अवसरको रुपमा लिइएको थियो । किनभने पछिल्ला ६ महिना इरानी जनताका लागि धेरै सुखद् रहेन ।
नोभेम्बर २०१९ मा तेलको मूल्य बढेको विरोधमा इरानमा हिंस्रक प्रदर्शन भएको थियो । त्यसपछि अमेरिकी कारबाहीमा इरानी कमाण्डर कासिम सुलेमानी मारिए । सुलेमानी मारिएको बदला लिन इरानले इराकस्थित अमेरिकी सेनाका ब्यारेकमा आक्रमण ग¥यो । यी घटनाबाट अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुग्यो ।
इरानले अमेरिकाको ठानेर युक्रेनी एयरलाइन्सको बोइङ जहाजमा मिसाइल प्रहार गरी खसाल्दा त्यसमा सवार एक सय ७६ जनाको ज्यान गयो । सुरुमा इरानी अधिकारीहरुले आफूहरुले सो विमान नखसालेको दाबी गरेका थिए । तरपछि आफूहरुले विमानमा मिसाइल आक्रमण गरेको स्वीकार गरे र गल्तीले यस्तो घटना हुन पुगेको भन्दै माफी मागे । यस घटनापछि पनि इरानी जनता सरकारप्रति रुष्ट भए । केही स्थानमा त सरकार विरोधी प्रदर्शन समेत भयो ।
यसबीचमा इरानका सर्वोच्च कमाण्डर खमेनीले इरानका शत्रुहरुले कोरोना भाइरसको खतरालाई बढाइचढाई गरेको आरोप लगाए । उनले भनेका थिए, ‘इरानका शत्रु देशहरुले नकारात्मक प्रोपोगान्डा धेरै महिनादेखि जारी राखेका थिए । अहिले उनीहरुका मिडियाले कोरोना भाइरसको संक्रमणको प्रचार गरेर इरानी जनतालाई भोट हाल्न जानबाट रोक्न खोजेका छन् ।’
यसैगरी इरानका स्वास्थ्यमन्त्री सइद नमकीले तथ्यहरु लुकाइएको दाबीको खण्डन गरे । सरकारी टेलिभिजन च्यानलमार्फत् कोरोना संक्रमण १९ फेब्रुअरीमा एक मात्र संक्रमित भेटिएको औपचारिक जानकारी दिइयो, जबकी २१ फेब्रुअरीमा चुनाव हुँदै थियो ।
चुनाव सकिएको पाँच दिनपछि नै संक्रमितको संख्या एक सय ३९ र मृतकको संख्या १९ पुगिसकेको थियो ।
त्यसैदिन कोम शहरका एक सांसद अहमद अमिराबादी फराहानीले संसदमा दुई हप्ताको बीचमा कोम शहरमा ५० जनाको मृत्यु भएको बताए । तर, स्वास्थ्य राज्यमन्त्री इराज हरिर्चीले फराहानीको दाबीको खण्डन गर्दै भने, ‘यदि मृतकको संख्या २५ पुगेमा म राजीनामा दिन्छु ।’
त्यसको केही दिनपछि कोरोना भाइरसको संक्रमणको बारेमा जानकारी दिन सरकारले आयोजना गरेको पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री हरिर्ची पसिना पुछ्दै र खोक्दै बोलेका थिए । पछि उनले आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । केही दिनपछि इरानका धेरै हाईप्रोफाइल राजनेताहरु कोरोनाको चपेटामा आएको सार्वजनिक भयो ।
हरिर्ची भने उपचारपछि निको भइसकेका छन् । उनी १३ मार्चमा टिभीको प्रत्यक्ष प्रसारण कार्यक्रममा पनि देखिए ।
धेरै विशेषज्ञ र पत्रकारहरुले इरानमा कोरोना संक्रमित र मृतकको संख्या सरकारले सार्वजनिक गरेकोभन्दा कयौं बढी हुनसक्ने अनुमान गरेका छन् । सरकारले वास्तविक तथ्यांक लुकाएको आशंका उनीहरुको छ ।
सरकारले वास्तविक तथ्यांक लुकाएको आशंकासँगसँगै कोरोनाको संक्रमणलाई इरानले कसरी रोक्नसक्छ भन्ने प्रश्न पनि उब्जिएको छ ।
अलिरेजाले कोरोना संक्रमणकै कारण मार्च महिनाको मध्यतिर आफ्नो बुबालाई गुमाइन् । तेहरानको मुख्य चिहानमा बुबाको अन्त्येष्टि गर्दा आफूहरुलाई टाढाबाट पनि हेर्न नदिइएको गुनासो उनको छ ।
उनी भन्छिन्, ‘बुबाको अन्त्येष्टि गर्ने बेला हाम्रो परिवारका कोही पनि सदस्य थिएनन् । बुबाको अनुहार अन्तिम पटक हेर्छुभन्दा पनि मलाई हेर्न दिइएन । चिहानमा गाड्नेहरुले मलाई तिम्रो बुबाको मृत्यु भइसकेको र तेहरानको मुख्य चिहानस्थलमा शव गाडिएको बताए ।’
सुरक्षाका कारण यहाँ अलिरेजाको वास्तविक नाम लुकाइएको छ । अलिरेजाका परिवारका सदस्यहरुलाई सरकारी अधिकारीहरुले चिहानस्थलमा भीडभाड कम गर्नका लागि घरका सदस्यहरुलाई पनि रोक लगाइएको बताएका छन् ।
तर, उनीहरुले शव गाडिसकेपछि भने एकपटक त्यहाँ गएर हेर्न पाउने बताएका थिए । त्यहीभएर अलिरेजा बुबाको चिहान हेर्न गइन् । तर, चिहानतर्फ प्रवेश गर्ने मुख्य गेटमै उनलाईं त्यहाँका कर्मचारीले सुरक्षाको कारण देखाउँदै रोके । त्यहाँ अरु धेरै शवहरु गाड्ने काम भइरहेकाले जान नपाइने कर्मचारीहरुले बताए ।
इरानी सरकारले हाल मलामी जाने संख्यामा पनि कटौती गरिदिएको छ । सर्वोच्च कमाण्डरसहितका सबै धार्मिक गुरुहरुले कडा नियमहरु जारी गरेका छन् । जस्तो कि अन्त्येष्टि अगाडि शवलाई नुहाइदिने प्रक्रिया बन्द गरिएको छ । शवलाई नुहाइदिने व्यक्ति (मोर्देशुर)लाई कोरोना भाइरस नसरोस् भनेर यस्तो गरिएको हो ।
डब्लूएचओले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न आक्रामक कदम चाल्न अपिल गरिरहेको छ । तर, इरानमा चीन, इटाली जस्ता देशहरुको तुलनामा चालिएका कदमहरु प्रभावकारी छैनन् ।
विश्वविद्यालय, स्कुलहरु बन्द छन् । फुटबल म्याचहरु रद्द गरिएको छ । राजधानी तेहरानमा भाइरस मार्ने औषधि छरिएको छ । यात्रा प्रतिबन्ध लगाइएको छ ।
सन् १९७९ मा इस्लामिक रिपब्लिक स्थापना भएपछि पहिलोे पटक शुक्रबारको नमाज पनि रोक लगाइएको छ । जेलहरुमा भाइरस नफैलियोस् भनेर एक लाख ५५ हजारभन्दा बढी कैदीबन्दीलाई अस्थायी रुपमा रिहा गरिएको छ । रिहा हुनेमा राजनीतिक बन्दीहरु पनि छन् । यीमध्ये धेरैको स्वास्थ्य खराब रहेको बताइन्छ । ब्रिटिस–इरानी च्यारिटी वर्कर नाजनिन जघारी पनि अस्वस्थ रहेको बताइन्छ ।
यति हुँदाहुँदै पनि धेरै जसो सरकारी भवन, कार्यालय र बैंकहरु खुल्लै छन् । मध्यमवर्गीय इरानी जनता अहिले पनि किराना सामानदेखि इन्धन किन्नसमेत नगदको साहारा लिइरहेका छन् ।
अवकाश प्राप्त शिक्षक फतेमेह र उनका पति (वास्तविक नाम लुकाइएको) ले भने, ‘हामी मासिक पेन्सन बुझ्न बैंक जानुपर्छ । आगामी दिनमा नौरोजको भत्ता पाउने आशा छ ।’
राष्ट्रपति हसन रुहानीले पटक–पटक भन्दै आएका छन्, ‘सरकारले देशलाई लकडाउन गर्दैन । सबै पसलहरु खुल्ला रहनेछन् र मानिसहरुले आफ्नो दैनिकी जारी राख्ने छन् ।’
बीबीसी हिन्दीबाट
Leave a Reply