स्थानीय तहमा दलित जनप्रतिनिधि जिम्मेवारी विहिन

दलित अनलाईन १२ आश्विन २०७५, शुक्रबार २०:३१

अशोक विश्वकर्मा

तनहुँ-भिमाद नगरपालिकामा स्थानिय निर्वाचन मार्फत निर्वाचित भएका दलित जनप्रतिनिधिहरुले आफुहरु जिम्मेवारी विहिन भएको बताएका छन् । दलित समुदायको प्रतिनिधित्व गर्दै नगर तथा गाउँपालिकामा निर्वाचित भएता पनि स्थानिय तहमा आफुहरुले नगरपालिकाको विशेष बैठकहरुमा सहभागि हुनु भन्दा अन्य जिम्मेवारी नपाइएको उनीहरुले बताएका छन् ।
भिमाद नगरपालिकाको कार्यपालिका समेत रहेकी दिना गोतामेले आफुप्रति दलित समुहको आशा धेरै भएता पनि जिम्मेवारी नपाएकाले केही गर्न नसकेको बताइन् । भिमाद नगरपालिकामा दलित समुदायको एक भेलामा उनले भनिन्—“दलितहरुको पेशा संरक्षणको लागि धेरै पहलहरु भएका छन् तर दलितकै लागि कुनै खास कार्यक्रम हुन सकेको छैन ।” गोतामेले विगतमा गाविसले दलित लक्षित कार्यक्रम र बजेटकै ब्यवस्था गर्ने भएता पनि नगरपालिकाले त्यस्तो कार्यक्रमहरुलाई निरन्तरता दिन नसकेको बताईन् । वडा न ६ बाट निर्वाचित भएकी गोतामेले “दलित समुदायको विकास र अधिकारकै लागि समेत कसैपनि म सँग आएका छैनन्, हाम्रो समुदायले अझै सचेतनाको खाँचो रहेको छ ।” उनले संघिय संरचना अनुसार निर्णायक तहमा रहेको जनप्रतिनिहरु दलित नै नहुनु र भएका अन्य समुदायका जनप्रतिनिधिहरुले दलित समुदायको मुद्धालाई नजर अन्दाज गर्न नसकेको आरोप समेत लगाइन् ।
यता कार्यपालिका सदस्य नै रहेका नर बहादुर विकले पनि जिम्मेवारी नदिदाँ दलित समुदायको पक्षमा काम गर्न नसकिएको स्वीकार गरे । उनले कार्यपालिकाको निर्णय भन्दै आफुलाई नगर भरिका पशुचौपायमा देखिएका समस्या निराकरण गर्ने गरि जिम्मेवारी तोकिएको बताउदै आफ्नो समुदायको समस्या निराकणको लागि भने कुनै पनि जिम्मेवारी नदिएको गुनासो गरे । विकले नगरपालिका भरिका दलित प्रतिनिधिहरुको भेलालाई सम्बोधन गर्दै दलित समुदायको समस्याको बारेमा कार्यपालिका आवाज उठाउँदा समेत आफुहरुको आवाज कमजोर बन्ने र छलफलको विषयमा समाबेश नगर्ने गरेको बताए ।
यता नगरपालिकाकी उप प्रमुख शारदा खनालले भने नगरपालिकाले दलित जनप्रतिनिधिहरुलाई समुदायको विकासको लागि योजना ल्याउन आग्रह गरिएको भएता पनि कुनै पनि योजना नगरपालिकामा नआउने गरेको जानकारी दिइन् । “दलित जनप्रतिनिधिहरुलाई समग्र नगरको विकासको लागि कार्यपालिकाको सदस्य बनाइएको भएकाले निश्चित समुदायको विकासको लागि जिम्मेवारी दिइएको छैन” उपमेयर खनालले भनिन् । उनले नगरपालिकामा दलित समुदायको लागि बजेटको भने ब्यवस्था भएको भन्दै कार्यक्रम तथा योजना सहित नगरमा आउने दलित जनप्रतिनिधि र समुदायलाई आग्रह गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank