गुल्मी –४ खोलाको किनार, पारी जंगल र बारी खेतको बीचको एकान्त स्थलमा सानो एउटा टहरो छ । वरीपरि बाँस, बोराहरुले बारिएको छ र सुरक्षित ढोका पनि छैन । खुल्ला आकाश मुनि एउटा टहरा छ । त्यही टहराभित्र ८ जनाको परिवार बसोबास गर्छन् । गर्मी महिना त खेतको गरामा सुत्छन् , जाडो महिनामा लहरै कोचिदै त्यस टहरामा सुत्छन् ।
चारैतिर खुल्ला, खोलाको सिरेठो र माथि जस्तापाताबाट तपतपी चुहिने सीतले उनीहरुले ओढ्ने लगाउने कपडाहरु निथ्रुक्क रुझ्छन् । त्यस्तो विचल्ली अवस्था गुल्मीको सदरमुकाम तम्घासबाट सेउवा हुँदै पनाहखोलाको पुल तरेपछि धुर्कोट गाउँपालिकाको प्रवेशद्धारामा छर्लङ्ग देख्न सकिन्छ र पनि सरोकारवालाको ध्यान त्यस तर्फ जान सकेन ।
कसैले आक्रमण गरे गुहार पाउन नसक्ने अवस्था छ । त्यस माथि ८ जनाको परिवार त्यति सानो र खुल्ला टहरामा बस्दा विशेष गरी बाल–बालिकाहरु असुरक्षित हुने विषयलाई यहाँको सञ्चारकर्मीहरुले पाँच छ बर्ष अघि नै उठाएर सरोकारवालाहरुको ध्यानाकृष्ट गराए पनि सुनवाई हुन सकेन । त्यसको दुष्परिणाम यति बेला देखा परेको छ जुन टहरामा बसोबास गर्ने त्यस परिवारकी १४ वर्षीया छोरी यति बेला विवाह नहुँदै गर्भवती बनेकी छन् । अहिले उनी ८ महिनाकी गर्भवती हुन् ।
कुन पुरुषले गर्भवती बनायो ? भन्ने बारे उनी आफैलाई थाहा छैन् । उनी हुन् समिता परियार नाम परिवर्तन । थाहा पाएको गत ७ महिना देखि गर्भवती हुँदाको पीडा र चिन्ता खेपेकी उनले गर्भवती अवस्थामा गराउनु पर्ने स्वास्थ्य परिक्षण गराउनु त परै जावोस दिनमा एक छाक मिठो खान समेत पाउन सकेकी छैनन् । कसको गर्भ बोकेकी होस् भन्दै बाबु आमाले दिनहुँ टोकस्छन् .उनी निजवाफ गाली सुन्छिन र थप पीडामा पर्छिन् । ८ महिना अघि सदरमुकाम तम्घास हुँदै काम खोज्न बुटवल पुगेकी उनी गर्भवती भएर घर फर्किएकी हुन् । उनका बाबु अजित परियार नाम परिवर्तनको घर त्यहाँ होईन । गुल्मी दरवार गाउँपालिकाको वलिथुमबाट ६ बर्ष अघि देखि धुर्कोट गाउँपालिका–४ , जैसीथोकको त्यस खेतमा बाँदर हेर्ने टहरो मागेर बसेका हुन् ।
परियार दम्पत्तीले दैनिक निमेक मजदुरी गरेर ६ जना छोरा छोरीहरुलाई हुर्काउँदै आएका थिए । संगै सात आठ बर्ष उमेर पुग्न थालेका छोरा छोरीहरुलाई पनि निमेक मजदुरी गराउँदै आएका छन् । सबै भन्दा कान्छो सन्तानको समेत स्कुल जाने उमेर पुग्यो । उनीहरुलाई स्कुल कुन चरीका नाम हो भन्ने अवस्था छ । कमाई खाने उमेर पुगेकी जेठी छोरीलाई शहरमा काम खोज्न पठाउनु नै उनका बाबु आमालाई यति बेला अभिषाप सिद्ध भएको छ । एक जना डोजर चालक माथी शंका गरिए पनि उनी अहिले सम्पर्कमा छैनन् । छोरी गर्भवती हुनुको सबै दोष बाबु आमाले उनै माथी मात्र थोपरेका छन् । गर्भवती उनलाई राम्रो पोषण छैन । ओढ्ने न्यानो कपडा छैन् ।
कलेटी परेका र च्यातिएका भुल्ला–भुल्लीमा सुत्छिन गर्भवती । चिसो भुँई त्यस माथी खोला किनार मै भएकोले चौविसै घण्टा सिरेठोले हान्छ । मुख र हात खुट्टा सुनिन थालेका छन् । उनको स्वास्थ्य अवस्था प्रति आमा बाबुको खासै चासो छैन् । अन्यत्रबाट सहयोग गर्ने कोही छैनन् । बरु बदमास केटी भनेर गाली गर्नेहरु धेरै छन् । खास बदमास पुरुष भने कहाँ छ ? को हो ? भनेर खोजी गर्ने कोही छैन । उनकी आमा भन्छिन् –‘छोरी नै बदमास भए पछि के गर्ने ? को केटा हो ? भनेर पटक पटक सोध्दा मलाई समेत केहि भन्दिन ? मैले के गर्ने ? सोध्यो करायो भने झर्किदै बच्चा जन्मेपछि सके पाल्छु , नसके खोलामा फाल्दिन्छु र आत्महत्या गर्छु भनेर धम्की दिने गर्छे । ’
उनीहरुलाई त्यस खोला किनारको खेतमा बस्न नदिने दवाव बढेको छ । त्यस भन्दा पारी अलि माथी ससुरालीको जमिन मागेर बस्न चाहे पनि घर उभ्याउने उपाय नभए पछि गाली सहेरै भए पनि त्यस टहरामा बस्न बाध्य भएका छन् । उनीहरुको सुरक्षित बसोबासको सम्वन्धमा धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको ध्यानाकृष्ट गराउँदा उनले त्यो परिवार धुर्कोट गाउँपालिकाको नभएकोले उनको पुख्र्योली गाउँ बलिथुमबाट बसाई सराईको कागज बनाएर आए गाउँपालिकाले घर बनाई दिने आश्वासन दिए । ‘पहिला उनको नागरिकता पनि थिएन , हामीले भनेपछि वलिथुम पुगेर नागरिकताको सिफारिस लिई नागरिकता पनि बनाएका छन् । अब उनले बसाई सराई बनाएर ल्याए पछि गाउँपालिकाले अवश्य घर बनाई दिनेछु – गाउँपालिका अध्यक्ष पोखरेलले भने ,परियारकी गर्भवती छोरीको स्वास्थ्य अवस्था र कानुनी उपचारका लागि अब छिट्टै सदरमुकाममा ल्याएर आश्रय नदिए कुनै दुर्घटना पनि हुन सक्ने चिन्ता व्यक्त गर्छिन् दलित अधिकारकर्मी महिला कमला बराल । सरोकारवाला संघ संस्था र स्थानिय सरकार मिलेर उनलाई सहयोग गर्नुपर्ने उनको जोड छ ।
Leave a Reply