केही महिनाअघिको कुरा हो, तीन–दिने तालिमको सिलसिलामा बुटवल गएकी थिएँ । होटेल राम्रै भएकाले बासको व्यवस्था पनि त्यहीँ थियो । थप ५–७ दिन बुटवलमै रहनुपर्ने भएकाले तालिम सकिएपछि सानिमाको कोठामा बस्ने गरी गएँ । म त्यहाँ पहिलोपटक जाँदै थिएँ ।
पर्सिपल्ट बिहान लुगा धुनुपर्ने भएपछि सानिमालाई जानकारी गराएँ । उहाँले भन्नुभयो, ‘नानी, धारामा पानी आयो भने धुने, आएन भने त्यत्तिकै राख्नुपर्छ ।’
‘सानिमा, माथि छतमा ट्यांकीमा जम्मा भएको पानीले धुन पाइँदैन र ?’
‘माथि सानो ट्यांकी भएकाले पानी पुग्दैन ।’
‘अनि तल पानी–ट्यांकी छैन र ?’
‘नानी, यो घर गैरदलितको हो । तलको पानी–ट्यांकीबाट हामीले पानी निकाल्न पाइँदैन । यो घरमा आउनुभन्दा पहिल्यै ट्यांकीबाट पानी ननिकाल्ने वाचा गरेका छौं । पहिले बसेको घरमा दलित भएको थाहा भएपछि कोठा सर्न भनियो, धेरै घरमा कोठा खोज्न हिँड्यौं । जात नलुकाईकन दलित हो भन्यौं, दलित भनेपछि कसैले दिएनन् । यस घरमा घरबेटी यहाँ नबस्ने हुनाले कोठा पाइयो । हामी दलित भएको कारणले धेरै दुःख पाएका छौँ नानी यस सहरमा ।’
सानिमाको कुरा सुनेर म अचम्ममा परेँ । दलित हुनुमा के दोष ? कोठा भाडा सबैले बराबर तिर्नुपर्नेमा दलित भनेपछि अलिकति महँगो हुने, त्यसैमाथिपहिल्यै वाचामा बाँधिनुपर्ने बाध्यता यो जातलाई ! कस्तो विडम्बना ?
म त्यहाँ बसेको केही दिनपछि मामाकी छोरीको फोन आयो, ‘म भोलि आउँदै छु । अर्को एउटा विषयमा मास्टर्स डिग्री गर्नुपर्ने भयो, मेरो जागिर पनि त्यहीँ सरुवा भयो । मेरा लागि कोठा खोज्न जानुपर्छ ।’
उनी आएपछि हामी कोठा खोज्न हिँड्यौं । ३–४ ठाउँमा कोठा खाली पायौं । हामीलाई परिचय सोधियो, बतायौं । के–का लागि बस्ने, त्यो पनि बतायौं । तर, कसैले सीधै भने, ‘दलितलाई कोठा हुँदैन, घरमा बूढा बाआमा हुनुहुन्छ ।’ कसैले भने, ‘कुलले सहँदैन, २ महिना पहिले एउटा महिलालाई कोठा दिइयो । पछि थाहा पाइयो, दमिनी रैछ । घरमा कुल बिग्रेर श्रीमान्लाई धन्न प्यारालाइसिस भएन । कति बिरामी हुनुभयो !’
दलित समुदायप्रति प्रयोग गरिएका तुच्छ शब्द सुनेर रिस उठ्यो । मैले भनें, ‘कसले भन्यो दमाई घरमा बसेर बिरामी भएको ?’ यही विषयमा घरबेटीसँग एक छिन भनाभन नै भयो । मैले भनें, ‘कुन जमानामा हुनुहुन्छ दिदी तपाईं ? सहरमा बसेर यस्तो कुरा गर्न लाज लाग्दैन ? टीभी कत्तिको हेर्नुहुन्छ ? मोबाइलमा नेट पनि पक्कै प्रयोग गर्नुभएको होला । अनि शिक्षित पनि हुनुहुन्छ । तर, किन सोच नबदलिएको हजुरको ? तपाईंलाई हामी छोड्दैनौं ।’
हामी अर्को घरमा पुग्यौं । घरबेटी स्याङ्जा गल्याङबाट बसाइँ आउनुभएका धनबहादुर बिक हुनुहुँदो रहेछ । हामीले पल्लो घरमा भएको घटनाबारे बतायौँ । कुरा सुनेपछि उहाँले भन्नुभयो, ‘नानी यो समाज यस्तै छ, यहाँ म बसेको करिब १५ वर्ष हुन लाग्यो । हालसालै मेरो कान्छो छोराको बिहे धुमधामसँग भयो । पार्टीमा मेरा आफन्तलगायत छिमेकी सबैलाई कार्ड बाँडेको थिएँ । बिहेको भोज खान सबै आए तर छिमेकीबाट एक जनाबाहेक कोही आएन । नानी, यो सहरका मान्छे त कहिल्यै आफ्नो हुँदारहेनछन् । हामी दलितलाई त कानुन पनि बनेको र नबनेको उस्तै छ ।’
अन्त्यमा उहाँले आफ्नो घरमा एउटा कोठा खाली भएको जानकारी गराउनुभयो । उहाँको कुरा सुनेर लाग्यो— दलितको सहर बनाउनुपर्छ । वास्तवमा हामी दलितलाई कोठा नदिने मात्रै होइन, अरूजस्तै ठाँटबाँटले गैरदलितसँगै घर बनाएरै बसे पनि विवाह, पूजाआजामा छिमेकीले निम्तोसमेत गर्दैनन् । निम्तोमा जाउँला र खान पाउँला भन्ने होइन । तर, सामाजिक सद्भावना, सामाजिक उत्तरदायित्व र अस्तित्वको सम्मानजनक अवस्था महसुस गर्न हामीले पाउनुपर्छ ।
केही दिनअघिको कुरा हो, सामाजिक विकासमा काम गर्ने गैरदलित साथी म काम गर्ने कार्यालयमा आइन् । कुराको सिलसिलामा उनले भनिन्, ‘मलाई एउटा घडेरी चाहिएको छ ।’ २–४ वटा घडेरीको लोकेसनबारे बताएपछि उनले भनिन्, ‘जे भने पनि बस्नलाई त आफ्नै जात भएको समाज हुनुपर्छ, तल्ला जातका मान्छेहरू भएको ठाउँमा त कसरी बस्न सकिएला र !’
उनको कुराको प्रतिउत्तरमा मैले भनें, ‘तिमीजत्तिको पढे–लेखेको र समाजविकासमा लाग्ने जागिरेले जातपातको कुरा गर्न सुहाउँछ ? पढेर के गर्नु, सोच उही पुरानै बोकेर हिँडेपछि ! पैसा कमाउन र स्वार्थ पूरा गर्न मात्रै जागिर नखाऊ । यदि देश र समाजको सेवा गर्छु भन्ने हो भने निश्वार्थ र नयाँ ज्ञानको परिवर्तनशील सोच बोकेर समाजमा आऊ । समाजले तिमीलाई बनाउने होइन, तिमीले समाज बनाउने हो । तिमीहरूजस्ता शिक्षित युवाले त पुरानो कुरालाई चिर्न र स्विकार्न सक्दैनौ भने तिम्रो पुरानो पुस्ताले कसरी स्विकार्छ दलितलाई ?’
उनले भन्न थालिन्, ‘त्यस्तो होइन, मलाई र मेरो सरलाई त केही फरक पर्दैन । मेरो सासू बढी धर्मकर्म गर्नुहुन्छ । अलि त्यस्तै गर्नुहुन्छ । त्यसैले गाह्रो हुन्छ ।’
उनको कुराले मलाई भित्रभित्रै जलाइरह्यो । यो जातीय विभेदका जरा झन् गहिरिएर फैलिएको महसुस हुन थाल्यो । वास्तवमा प्राचीन नेपालमा राजा जयस्थिति मल्लको पालामा कामको आधारमा जातीय विभाजन भएको कुरा विदितै छ । आधुनिक नेपालमा २०७२ को संविधानमा जातको आधारमा विभेद, छुवाछूत गर्नेलाई र सम्पूर्ण दलित समुदायको सुरक्षाका लागि भनेर ‘जातीय विभेद तथा छुवाछूत कसुर सजाय ऐन’ को पनि व्यवस्था बकाइदासँग गरिएको छ । तर, पनि गैरदलितको संकीर्ण सोच किन उस्तै ?
सहरमा गैरदलित मात्र होइन, दलित समुदायको पनि आर्थिक हैसियत, शैक्षिक क्षमता र हरेक कार्यशैलीप्रतिको दक्षतामा कुनै कमी छैन । तर, गैरदलित समुदायमा दलित समुदायप्रतिको छुवाछूत र विभेदित दृष्टिकोण २१औं शताब्दीसम्म आइपुग्दा पनि अझै व्याप्त छ । हरेक कुराको परिवर्तन क्रमिक रूपमै हुन्छ । परिवर्तन भएका पनि छन् । तर, समसामयिक नीति–नियमको निर्माणसँगै जति मात्रामा त्यसको कार्यान्वयन हुनुपर्ने हो, त्यति भएको देखिँदैन । सरकारले नीतिनियम निर्माण गरेर मात्रै हुँदैन, विभिन्न सूचना प्रविधिको प्रयोगले तीव्र प्रचारप्रसार गरी कार्यान्वयनको काम देशको राजधानीबाटै थाल्नु जरुरी छ । जातीय विभेद र छुवाछूतले ग्रसित सहरबाटै यो कामको थालनी गर्नुपर्छ । तब मात्रै सहरमा दलितमाथि हुने विभिन्न घटनाको न्यूनीकरण हुनेछ । नत्र भने सहरमा आफ्नो भविष्य बनाउँछु र यो राष्ट्रका लागि केही गर्छु भन्ने दलितले दलितको छुट्टै सहर खोज्दाखोज्दै जीवन अन्धकारमै बिताउनुपर्ने हुन्छ ।
(यो सामाग्री कान्तिपुर दैनिकाबाट सभार गरिएको हो । )
Leave a Reply