रेश्मा हत्या प्रकरण : ‘मेरो साथीलाई मार्ने र जलाउनेलाई मारिदिनुहोस्’– एलिसा

दलित अनलाईन १८ फाल्गुन २०७५, शनिबार १९:५३

काठमाडौं– फागुन १ गते तीन बजे रेश्मा र एलिसाले घर छेऊमै रहेको चापाकलको पानी तानेर हातमुख धोइधाई गर्दै राम्री भएर विवाह घरमा जाने कुराकानी गरेका थिए । प्रष्ट बोल्ने एलिसा र अस्पष्ट बोल्ने रेश्मा अत्यन्तै मिल्ने साथी हुन् । उनीहरुको उमेर समूह पनि एउटै छ ।

धनुषा जिल्ला मिथिला नगरपालिका वडा ३ हरिहरपुर स्थित रेश्मा भनेर चिनिने दितिया रसाईलीको घरबाट सात घर उता एलिसाको घर छ ।

रेश्माको सबैभन्दा मिल्ने साथी एलिसा र एलिसाको पनि सबैभन्दा मिल्ने साथी रेश्मा थिइन् । एलिसाको घरमा केही मीठो चीज पाके रेश्मालाई दिने गर्थिन एलिसाले र रेश्माले पनि त्यस्तै गर्थिन् । उनीहरु एकछिन पनि एकअर्को विना बस्न सक्ने थिएनन् । कहिले रेश्माको घरमा त कहिले एलिसाको घरमा उनीहरुको खेल्ने थलो हुन्थ्यो । एलिसा आमा बाबुसँग हुँर्किएकी थिइन् तर रेश्मा २ वर्षको उमेरमै आमाको माया पाउनबाट बञ्चित भएकी थिइन् । हुन त रेश्माका बाबु पनि छन् तर बाबु पहिले देखि नै बोल्न सक्दैनन् । बोल्छन् तर अस्पष्ट र बुझिने गरी बोल्न सक्दैनन् ।

रेश्मा भर्खरै ९ वर्ष पुगेकी थिइन् । त्यो भन्दा एक वर्ष कम ८ वर्षमा लगेकी छिन् एलिसा । तर उनीहरुको जोडीले गाउँका मान्छेहरु समेत अचम्मित हुन्थे । राती अबेर सम्म एलिसा घर नआए बाबु खोज्दै रेश्माको घरमा पुग्थे । कहिले रेश्माका बाबु एलिसाको घरमा खोज्दै पुग्थे । तर अहिले रेश्माविहिन एलिसा एक्लिएकी मात्रै छैनन् कि, रेश्मालाई खोज्दै टोलाउने र एकोहोरिन थालेकी छिन् ।

फागुन १ गते रेश्मा र एलिसा घर छेऊमै रहेको चापाकलको पानी तानेर हातमुख धोइधाई गर्दै राम्री भएर विवाह घरमा जाने कुराकानी गरेपछि उनीहरु आ–आफ्ना घरतिर लागे । केही समयपछि एलिसा दुवैपटी कपाल बाटेर फ्रर्क र हुक्समा चिटिक्क परी रेश्माको घरमा आइपुगेकी थिइन् । रेश्माले पुरानो धोएको पाइन्ट भित्रबाट टिसर्ट र बाहिरबाट स्कूलको निलो रंगको सुइटर लगाएर चिटिक्क परेकी थिइन् भने सानो ब्वाइज कटको कपालमा तोरीको तेल लगाएर चिल्ली देखिएकी थिइन् ।

सायद, केही घण्टा अगाडि एलिसासँग भेट र भएको कुराकानी अन्तिम होला भनेर रेश्माले सोचेकी पनि थिइनन् होला ? न कि एलिसाले पनि ।
रेश्माको घरबाट फुरुगं भएर विवाह घरमा पुगेका उनीहरु दुवै केही घण्टासँगै विभिन्न गीतमा नाँचे । सबैले खाना खाए । एलिसाको साथमा आमा बाबु पनि सँगै थिए । र रेश्माको बाबु उनीहरुभन्दा केही समय पछि मात्रै विवाह घरमा भोज खान पुगेका थिए । रेश्माका बाबु भोज खाएपछि घर फर्कि हाले । उनलाई नाँचगानको कुनै रस पनि छैन र मन पनि पदैन् ।
एलिसा र रेश्मा विवाह घरमा तीन घण्टा जति सँगै नाँचेका थिए । विवाह घरमा पाहुनाहरुको चाप थियो । उनीहरु कहिले अन्य केटाकेटीहरुसँग खेल्दै, कराउँदै दौडिन्थे । यस्तैमा साँझ छिप्पिदै थियो । रात्रीकालीन बत्तीले विवाहघरलाई झनै रमाइलो बनाउँदै लगेको थियो । ढल्केबारबाट लगिएको डिजे र साउण्ड सेटले मगरवस्तीको ध्वनीलाई गुन्जायमान बनाउँदै थियो । त्यही साउण्डको रमाइलोबाट एकाएक रेश्मा गायब भइन् !

रातको ८ बज्दै थियो । केही समयमा विद्युत लाइन गयो । लाइन गएपछि नाँचगान पनि केही समय अवरोध भयो । एलिसा आमा र बुवासँग घर फर्किन् । तर रेश्मा एलिसालाई कहिल्यै नभेट्ने गरी सधैको लागि गायब भइन् ।

विडम्बना ! रेश्मा आफै गायब भइएकी होइनन् । रेश्मालाई ‘हाम्ली डन’ भनेर चिनिने निरज वुर्जामगरले आफ्नो यौनकुण्ठा मेटाउने दाउमा गायब गरे । गायब पनि यस्तो कि ,सधैका लागि कहिल्यै नआउने गरी गायब बनाए । लागुऔषध र मदिरा सेवन बाट लठिएको निरज बेलाबेलामा कुदुष्टि लगाइरहन्थ्यो रेश्मा माथि । स्पष्ट संग बोल्न नसक्ने रेश्मामा प्रतिकार गर्न सक्ने क्षमता थिएन । त्यही क्षमताको फाइदा उठाउँदै निरजले विवाह घरमा लाइन गएको मौका छोपी रेश्माको बलात्कारपछि हत्या गरी जलाएको थियो ।

फागुन २ गते विहान घरदेखि झण्डै ७ मिटर टाढा उखुवारीमा मृत अवस्थामा भेटिएकी आफनी साथी रेश्मालाई देखेर एलिसाले आँखाबाट आशु मात्रै झारिनन् ,मनमनै सोचिन निकै बेर । अब मेरो साथी को ? किन मेरो साथीलाई मारेको ? हिजो रेश्मासँगै नाँचेको पनि झलझली सम्झिइन्, एलिसाले । अनि आमालाई सोधिन् ,रेश्मालाई किन मारेको ? अरुलाई नै मारेको भए हुन्थ्यो नि ? ८ वर्षीय छोरी एलिसा बुर्जामगरको यो प्रश्नको आमाले अझै जवाफ दिन सकेकी छैनन् । श्री राष्ट्रिय आधारभूत विद्यालय कक्षा २ हरिहरपुरमा पढ्ने एलिसालाई स्कुलमै गएर भेट्दा आखाँबाट टिलपिल टिलपिल आँशु झार्दै भनिन् – ‘मेरो साथी रेश्मालाई जलाएर मार्नेलाई मारिदिनुहोस्,‘उसलाई पनि जलाएर मानुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank