जाे बाँसुरीसँगै बाँच्छन्,डम्बर खड्काथोकी !

विश्वास खड्काथोकी २७ पुष २०७६, आईतवार २१:२७

डम्बर खड्काथोकी (४३) बाँसुरीसँगै सुत्छन् । बाँसुरीसँगै उठ्छन् र बाँसुरीसँगै बाँच्छन् । कहिले बाँसुरी बनाउँछन्, कहिले बजाउँछन् ।

नत्र बाँसुरी आकारकै ठमेलको एक घरको पाँच तलामाथिको उनको बेडरुम बाँसुरी र बाँसुरी बनाउने बाँसले भरिने थिएन । यो उनको डेरा डेरा नभएर बाँसघर जस्तो लाग्छ ।

आफू बसेको लो बेड डम्बर बोल्छन्, ‘यो बेड मुनि पनि बाँस नै छ, उ त्यो दराजभरि पनि बाँसै बाँस ।’

बिहान उठेपछिको दुई घण्टा बाँसुरी बजाउने अभ्यास उनको नित्यकर्मजस्तै हो । त्यसपछि बाँसुरी बनाउनमा लाग्छन् । साँझ अवेरसम्म विभिन्न स्केलका बाँसुरी तयार पार्छन् । अनि छेउकै ओच्छ्यानमा घुक्रुक्क सुन्छन् । आजभोलि उनी बाँसुरी बजाउनभन्दा बनाउनमा बढ्ता समय बिताउँछन् । किनकि उनको परिवार धान्ने खर्च बाँसुरीको बिक्रीबाटै उठ्छ । ‘नेपालका असी प्रतिशतभन्दा बढी व्यवसायिक बाँसुरी बाधकले मेरो बाँसुरी प्रयोग गर्छन्’, डम्बर गर्वका साथ बोल्छन् ।

डम्बरले बाँसुरीसँगको साइनो भने बडो मुस्किलले तय गरे । बाँसुरीसँगको वाल्यकालदेखिको घनिष्ठता छुटाउनका लागि परिस्थितिले अनेक बल गर्‍यो । तर, सकेन ।

****

प्युठानको खलंगामा जंगल छेउ डम्बरको घर थियो । घरमा अलिकति भेडा थिए । दुई हल गोरु । एउटा भैँसी । उनी स्कुलजानुअघि घाँस काट्न जंगल पुग्थे । उनको बाँसुरीको धुनले जंगल गुञ्जिन्थ्यो । बिहान दुई घण्टाको दुरी पार गरर खानेपानी लिन पुग्नुपर्थ्यो । त्यतिबेला पनि उनको साथी बाँसुरी नै हुन्थ्यो । डम्बर फिस्स हाँस्छन्, ‘मलाई वास्तवमा जंगलले नै बाँसुरी सिकायो भन्दा हुन्छ ।’

स्कुलकमा अतिरिक्त कार्यक्रम हुन्थे । त्यहाँ पनि डम्बरकै बाँसुरी घन्किन्थ्यो । शिक्षकको हौसलाले उनी पुलकित बन्थे । अझ रमाइलो त स्कुल विदा भएपछि पो हुन्थ्यो । ‘असार-साउनमा ४५ दिन विदा हुन्थ्यो । त्यतिबेला सबैतिर तीजका गीतहरु बज्थे’, डम्बर रोमान्टिक बन्छन्, ‘आफ्नो गाउँ अरुको गाउँमा जान्थ्यौँ । साथीहरुले मादल बजाउँथे, मैले बाँसुरी । भेडा चराउन जंगल पुग्थ्यौँ । त्यहाँ पनि बजाउँथ्यौ, नाच्थ्यौँ रमाइलो गर्थ्यौं ।’ यस्ता गतिविधिले पनि उनी बाँसुरीप्रति झनै मोहित बन्थे ।

त्यसैले त उनको बाँसुरीको धुन गाउँमा अरुले बजाउनेभन्दा फरक हुन्थे । उनी खुब रेडियो नेपाल सुन्थे र गीतमा बज्ने बाँसुरीको पीसलाई हुबहु कपीगर्ने प्रयास गर्थे ।’ त्यतिबेला रेडियो नेपालमा बज्ने धुनका हरेक पिसलाई कण्ठै पार्ने प्रयास गर्थेँ’, डम्बर प्यासन बोल्छन् ।

‘म जिन्दगीमा जहाँ गएँ, साथमा बाँसुरी बोकेरै पुगेँ’, डम्बर सुनाउँदैछन्, ‘मेरो बाँसुरीको धुन सुनेपछि मलेसियामा पनि म्यानेजरहरुले बाँसुरी बजाउने माहौल नै बनाइदिनुहुन्थ्यो । माया गर्नुहुन्थ्यो ।’ यसरी डम्बरको चार वर्ष बित्यो मलेसियामा ।

यत्तिकैमा डम्बरले एसएलसी पास गरे र काठमाडौं प्रवेश गरे । डम्बरका बाबा भद्रकाली आर्मी क्याम्पमा उनका बुबाको दरबन्दी थियो । डम्बर सरस्वती क्याम्पसमा कमर्स पढ्थेँ । तर, उनलाई बाँसुरीको धुनले पछ्याउन छोडेन । कृष्ण गुरुङबाट दुई महिना बाँसुरी सिके ।

तर, परिस्थिति यस्तो थिएन कि बाँसुरीले जिविका चलाउन सकियोस् । ‘त्यतिबेला अहिलेजति प्लाटर्फमहरु थिएन । रेडियो नेपालका जागिरे र ब्याण्डहरुले मात्र बाँसुरी बजाएर बाँच्न सक्थे’, उनी साढे दुई दशक अघि पुग्छन्, ‘अहिलेजस्तो दोहोरी साँझ, महात्सव, भागवत, स्टुडियो कहाँ थिए त्यतिबेला । अहिले त अलिअलि बाँसुरी बजाउन जान्यो कि काम पाइहालिन्छ ।’

डम्बर दाङ फर्किए र फेन्सी पसल खोले । तीन/चार वर्षपछि घरबेटीले भने, ‘हामी आफैंलाई सटर चाहिने भयो, छोड्नुस् ।’

२५ वर्षको उमेरमा डम्बर मलेसिया लागे ।

डम्बरको काम रेलको लिकमा थियो । रेकको लिक जोड्नुपर्ने । उनी चर्को घामको रापमा काम गर्थे । थकाई मेट्ने बेला पसिना पुछ्दै बाँसुरी फुक्थे । धुन सुनेपछि म्यानेजरले उनलाई खोज्दै आउँथे र धाप मार्थे ।

डम्बर फेरि दुबई पुगे । उनले आफ्नो आनन्दका लागि बेला बेला बाँसुरी बजाउँथे । तर, त्यो धुन धेरैसँग नजिकिने माध्यम बन्थ्यो । उनी भन्छन्, ‘मेरै बाँसुरी बादन सुनेर त्यति अप्ठ्यारो ठाउँमा पनि काम गर्न पर्ने थिएन ।’

डम्बर दुबईबाट पनि फर्किए- ०६२ मा । पसिनाको कमाइले गाउँमै घर बनाए । त्यसपछि उनी खाडी फर्किएनन् । उनलाई बाँसुरीसँगको सम्बन्ध अझ प्रगाढ पार्न मन लाग्यो ।

उनको मनले भन्यो – एकपटक ट्राइ त गर्नैपर्छ । जतिबेला उनको उमेर ३२ वर्ष थियो ।

त्यसपछि शुरु भयो फेरि काठमाडौंको संघर्ष ।

जीवन आलेसँग संगीत सिक्न थाले । उनी भन्छन्, ‘एकदिन व्यस्त बाँसुरी बादक र मेकर बन्छु भन्ने आत्मविश्वास थियो । त्यसैले आँट गरेको थिएँ ।’

०५५ सालमा डम्बरले दाङको बजार र बबई किनारा बोलको आफ्नै गीत रेकर्ड गरे । र, केही अन्य गीतमा पनि उनले बाँसुरी बजाए । त्यसैले उनलाई काठमाडौंको बसाइ त्यति कठिनाइ रहेन । दोहोरीमा काम पाइहाले ।

राति दोहोरी, दिउँसो बाँसुरी निर्माण अनि बिहान बाँसुरीको अभ्यास । डम्बर अनुभव सुनाउँछन्, ‘आफूलाई मन परेको क्षेत्रमा जति नै दुःख गरे पनि त्यो दुःख जस्तो लाग्दो रहेनछ ।’

डम्बरले बाँसुरी बनाएर ठमेलका पसलहरु चाहार्न थाले । कहीँ बाँसुरी बिक्री पो हुन्छ कि ! बाँस खोज्नका लागि उसै गरी भौंतारिन्थे ।

डम्बरको सम्पर्क बढ्दै गयो । बाँसुरी मेकर बुद्ध लामाले सुझाव दिए, ‘मार्केट छ है, अझ राम्रो बनाउनुस् ।’ उनले स्केल निर्धारण गर्न सिके । बाँस कहाँबाट आउँछ, थाहा पाए । उनको व्यापार पनि बढ्दै गयो ।

इन्दिरा महाविद्यालय कलानिधिमा ६ वर्ष साधना गरेर संगीत प्रभाकर र संगीत विरासत प्राप्त गरे । उनी भन्छन्, ‘जति राम्रो बाँसुरी बजाउन जान्यो, त्यति राम्रो बाँसुरी बन्छ । नत्र त बाँसुरी बेसुरा हुन्छ ।’
उनी नियमित ८ वर्षको बादनपछि दोहोरी जान छाडे ।

अहिले ६ वर्षभन्दा बढी भयो डम्बरले होलटाइमर बाँसुरी निर्माण गर्न थालेको । कहिलेकाँही मात्र कार्यक्रममा पुग्छन् । ग्रहाकलाई बाँसुरी पुर्‍याउनै धौधौ छ । १५ लाख रुपैयाँभन्दा बढीको बाँस उनले स्टक राखेका छन्, जुन भारतबाट आयात हुन्छ ।

डम्बरले महिनामा करिव दुई सय बाँसुरी तयार पार्छन् । तीनजनालाई रोजगारी दिएका छन् । ‘मैले धेरै क्वालिटीको बाँसुरी निर्माण गर्छु’, उनी थप्छन्, ‘राम्रो बाँसुरी बनाउन सक्नुपर्‍यो, मार्केटको अभाव छैन ।’

‘सानो छँदा चर्चित बाँसुरी बादक हरिप्रसाद चौरसिया, सुशील विश्वकर्मा, प्रेम राना औतारी, जेवी लामाजस्ता मान्छेलाई भेट्न पाए भगवान भेटेजस्तो लाग्थ्यो होला भन्ने सोच्थेँ’, डम्बर भन्छन्, ‘अहिले उहाँहरु नै मसँग बाँसुरी लिन आउनुहुन्छ । बसेर चिया खान्छौँ ।’

अहिले आएर डम्बरलाई जीवनको सपना पूरा भएजस्तो लाग्छ । बाँसुरीले डम्बरलाई नाम र दाम दुवै दिएको छ ।

अझै बीसजना बाँसुरी निर्माताका लागि मार्केट खाली रहेको डम्बर बताउँछन् । उनलाई फेरि मलेसिया जानु परेको छैन । डम्बर भन्छन्, ‘खाडीको कुरा छोड्नुस्, अब मलाई जापान, कोरिया पनि जानुपर्दैन ।’

केही वर्षदेखि त डम्बरले बृहस्पति विद्या सदनमा बाँसुरी पढाउन पनि थालेका छन् । उनी भन्छन्, ‘शरीर स्वस्थ रह्यो भने ७०/७५ वर्षसम्म पनि मैले यही काम गरेर बस्न सक्छु ।’

(यो सामाग्री अनलाइन खबरबाट साभार गरिएको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank