आफ्नै पौरखमा रमाउँदै राजबहादुर टमटा

शेर भण्डारी २ पुष २०७६, बुधबार २२:४९

डडेल्धुरा–डडेल्धुराको अमरगढी नगरपालिका–३ डोटी घटालका ५० वर्षीय राजबहादुर टमटाले धारिलो औजारहरुसँग साइनो गाँसेको ३२ वर्ष भइसकेको छ । घरबाट ११ मिनेट जति पैदल हिँडेपछि हाटिगाउँस्थित खेतको बीचमा रहेको सानो झुप्रोमा पुगिन्छ । जहाँ राजबहादुर टमटाको आरान छ । यही आरनबाट राजबहादुरले जिविकोपार्जनको मेसो एकाविहानै देखि साँझसम्म सुरु हुन्छ ।

३२ वर्षदेखि उनी आफ्नो पूख्र्यौली पेशा आरनमामा तलिन छन् । बाबु बाजेको पालादेखि नै गदै आइरहेको आरन पेशा राजबहादुरले १८ वर्षको उमेरदेखि नै पूख्र्यौली पेशा अँगालेका थिए । अहिले आरनलाई जीविकोपार्जनको माध्यम बनाएर काम गरिरहेका छन् । परम्परागत तरिकामा कोइला बाल्ने हाते मेसिनबाट उनी दिनभरी काम गरिरहेका छन् ।

हलो, कोदालो, बञ्चरो, हसिँया लगायतका औजारको मर्मत गर्ने देखि लिएर विभिन्न फलामका भाँडाकुँडा बनाएर उनले छोराछोरीको पढाई खर्च देखि लिएर साँझ विहानको छाक टार्दैछन् । दैनिक औषत कमाई १ हजार देखि १५ सय रुपैयाँ जति कमाई हुने गरेको राजबहादुर बताउँछन् ।

हलो बनाएको २ सय, हसिँया बनाएको ३०, कोदालो बनाएको ५० रुपैयाँ उनको रेट छ । गाउँघरको काम भएका थुप्रैले खलो (धान,गहुँ) दिने गरेको उनी बताउँछन् । अरु सिजन भन्दा पनि धान गहुँ पाक्ने र खेत जोत्ने समयमा राम्रो कमाइ हुने गरेको उनको भनाइ छ ।

सामाग्री चोरी हुने चिन्ता
‘अहिले एउटा खेतको बीचमा झुप्रो बनाएर आरन पेसा गरिरहेको छु । सामानहरु सबै घर लैजान र ल्याउन समस्या हुने भएकाले सामान यतै राखेर जान्छु ।’ उनले भने, ‘झुप्रोमा राखेका सामानहरु चोरी हुने गरेको छ । यसै झुप्रोबाट रोजिरोटी चल्छ । स्थानीय सरकारले यसको मर्मतमा ध्यान दिए केही राहात हुन्थ्यो ।’

काम गर्दागर्दै ५० वर्ष भयो । यो पेसाबाट आम्दानी राम्रो हुन्छ तर लगानी चाहिन्छ मसँग लगानी गर्ने पैसा छैन् कहाँबाट लगानी गर्ने निकै समस्या हुने गरेको उनले बताए । बिजुली पनि छैन् त्यही भएर दिउँसो मात्र काम गर्छु यदि कसैले बिजुलीको व्यवस्था गरिदियो भने राती पनि काम गर्न सजिलो हुने उनको भनाइ छ ।

पूख्यौली पेशा हराउने चिन्ता
आरन पेसा दलितहरुले मात्र गर्ने भएकाले परम्परागत आरन व्यवसाय लोप हुन थालेको छ । धेरै मेहेनत, थोरै आम्दानी, त्यसमाथि समाजले हेप्ने गरेका कारण यो पेसा संकटमा पर्दै गएको उनी बताउँछन्।

राजबहादुरलाई आफ्नै छोराले समेत यो पेसा नअपनाउने थाहा छ । ‘आफुले आरनको काम जानेको त छु, तर अब छोरो गर्छ जस्तो लाग्दैन । ’उनले भयो । बजारमा नयाँनयाँ तयार सामान फालाफाल पाइनु, मानिसहरुले गाउँमा समेत खेतीकिसानी छाड्नु लगायतका कारणले आरनको महत्व घटेको उनी बताउँछन ्।

यदि आरन पेसाको संरक्षण गर्ने हो भने आरन पेसा गर्नेहरुलाई सरकारले पुरस्कारको व्यवस्था गर्नुपर्छ । अहिले आरन व्यवसायमा लागेकाहरुलाई पनि सम्मान गर्नुपर्ने उनको भनाइ छ ।

सरकारसँग आग्रह
देशमै केही गर्ने उद्देश्यले काम गरिरहे पनि अहिलेसम्म आफ्नो पेसा–व्यवसायलाई प्रवर्द्धन गर्न सरकारबाट सहयोग नपाएको उनको गुनासो छ । ‘अहिलेसम्म कुनै ठाउँबाट पनि सहयोग पाइएको छैन’, उनले भने, ‘यो पेसा–व्यवसाय बढाउनका लागि केही आर्थिक सहयोग पाए राम्रो हुन्थ्यो ।’ सरकारले सहयोग गरेमा आफ्नो व्यवसायलाई विस्तार गर्ने उनको योजना छ ।

गाउँघरको सरकारका रूपमा रहेको स्थानीय सरकारले पनि आफूलाई नहेरेको उनको आरोप छ । लोप हुँदै गइरहेको आरन पेसाको संवर्द्धनका लागि स्थानीय सरकारले विभिन्न किसिमका तालिमहरू दिनुपर्ने उनको सुझाव छ । अहिले आरन पेसा संकटमा परिसकेको बताउँदै उनले त्यस पेसालाई संरक्षण गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए ।

स्थानीय सरकारले झुप्रो अलि व्यवस्थित गरिदिए केही मात्रामा राहात हुने उनको भनाइ छ । वर्षातको समयमा झुप्रो चुहिने गरेकाले काम गर्न निकै समस्या हन्छ, उनले भने ।

युवालाई सुझाव
रोजगारीका लागि लाखौँ लगानी गरेर विदेश जानुभन्दा आफ्नै देशमा पसिना बगाउन सके आम्दानीका साथै गर्वका साथ बाँच्न सकिने उनको भनाइ छ । ‘आधुनिक तरिकाले विभिन्न व्यवसाय गरेमा युवाहरू विदेश पलायन हुनुपर्दैन’, उनले भने, ‘आफूले गर्न लागेको पेसाबारे ज्ञान हुनुपर्छ ।

लगनशील भएर लाग्नुपर्छ, सरकारले बेरोजगार तथा गरिब युवाहरूलाई सीपमूलक तालिमको व्यवस्था गरे युवाले रोजगारीको खोजीमा विदेशिनु नपर्ने टमटा बताउँछन् । हरेक स्थानीय तहले युवाका लागि सीपमूलक तालिमको व्यवस्था गर्नुपर्नेमा उनको जोड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank