नेपाली संगीतले बिर्सिएका झलकमान

जेबी विश्वकर्मा २१ मंसिर २०७६, शनिबार १६:०९

गन्धर्व जाति र संगीत केवल मनोरञ्जनको माध्यम मात्रै होइनन्, नेपालकै लोक संस्कृतिका साधक, प्रवर्द्धन र संरक्षक हुन् । करिब १३औँ शताब्दीतिरदेखि नै कास्की क्षेत्रमा बसोवास गर्दै आएका गन्धर्वले आफ्नै मौलिकता र विशेषता बोकेका सारंगी र अरबाजोजस्ता तार वाद्ययन्त्र निर्माण गरे । अन्य वाद्यवादनभन्दा निकै फरक धुन र रागको निर्माण गरे जुन कुनै संगीतको नक्कल गर्ने काम थिएन, बरु आफैँमा मौलिक अन्वेषण थियो । सारंगीबाट ३६ राग, ३६ रागानी, ४८ पुत्र (प्रत्येक भाषाको शव्द/शब्द) र त्यसका शुद्ध/अशुद्ध निकाली संगीतका लय निकाल्न सकिने गन्धर्वहरू बताउँछन् ।

जेबी विश्वकर्मा

नेपालका अधिकांश जाति वा समुदायका आ–आफ्नै मौलिक संगीत छन् । गन्धर्वले त छुट्टै मौलिक ‘पिंगुला’ गायनशास्त्र नै तयार पारेर अभ्यास गरेका छन् । शास्त्रकै रूपमा संगीत र गायनशास्त्र तयार पार्ने अन्य समुदाय सायद छैनन्, यो नेपालको अभूतपूर्व सम्पदा हो । तर, यी मौलिक विशेषता बोकेको संगीतशास्त्रको प्रवद्र्धन र संरक्षण गर्ने दिशामा नेपाली संगीत क्षेत्रबाट कुनै काम हुन सकेको छैन । नेपालका विश्वविद्यालय र अन्य संगीत अध्यापन वा प्रशिक्षण केन्द्रमा यी मौलिक संगीत सधैँ उपेक्षामा छन् । बरु, भारतीय रवीन्द्र संगीत वा शास्त्रीय संगीतलाई नेपाली कथित मूलधारको संगीत मानिँदै आइरहेको अवस्था छ ।

गन्धर्वले गीत–संगीतकै क्षेत्रमा धेरै पुस्ता बिताइसकेका छन् । उनीहरूले मन्त्र, वेद, सवाई, कर्खा, बेलोल, रामकली, घटना, माहाल, मंगल, मालश्री, देउसी, भैलो, रत्यौली असारे झ्याउरे आदि धार्मिक र विविध लोक छन्दमा गाएर नयाँ पुस्तासम्म हस्तान्तरण गरेका छन् । अर्थात, गन्धर्व लोकसाहित्यका संरक्षक, प्रवर्तक संस्कृतिकर्मीसमेत हुन् । तर, गन्धर्वले जसको संस्कृतिको संरक्षक गरे, उनीहरूमाथि नै सत्ताले निरन्तर उत्पीडन, उपेक्षा र विभेद गरिरह्यो ।

गन्धर्वले गीत–संगीतको माध्यमबाट मनोरञ्जनका साथै सूचना आदान–प्रदान गर्ने काममा निकै ठूलो योगदान दिएको इतिहास छ । कास्कीका तत्कालीन राजा जगजित खान वा कुलमण्डन शाहले कास्कीमा शासक गर्ने बेलादेखि बाइसे–चौबीसे राज्यबीचको युद्धका वेला गन्धर्वलाई तत्कालीन शासकले आफ्नो स्वार्थअनुकूल सूचना संकलन गर्न पठाउँथे । गोरखाका राजा पृथ्वीनारायण शाहले आफूले चाहेअनुरूप सूचना जनतासम्म पुर्‍याउन र अन्य राज्यबाट सूचना संकलनका लागि गन्धर्वलाई नै प्रयोग गरेका थिए । त्यसका एकजना प्रतिनिधि पात्र मनिराम गाइने हुन् । सारङ्गी बजाउँदै गीत गाउँदै गाउँ–गाउँसम्म पुगेर शासकको वीरगाथा जनतासम्म पुर्‍याउने, अर्कोतिर विरोधी राज्यको सूचना संकलन गरी शासकसम्म पुर्‍याउने ऐतिहासिक जिम्मेवारी पूरा गर्ने सञ्चारकर्मी गन्धर्व नै थिए । यसरी सूचना आदान–प्रदान गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गरेका गन्धर्व तिनै शासकको विभेदकारी दमनबारे बेखबरझैँ हुनुपर्ने अवस्थामा पुर्‍याइए ।

गोर्खा भर्तीमा गएपछि युद्धमा पारिएका योद्धाका कथा हुन् वा नेपालको प्रशासकीय केन्द्र सिंहदरबारमा आगलागी भएको घटना हुन् वा भूकम्प, बाढीपहिरो वा स्वास्थ्यजन्य विपद्का कारण आइपरेको मानवीय क्षतिका घटना, सविस्तार जनतासम्म पुर्‍याउने गन्धर्व अलिखित इतिहासका संकलक र सम्प्रेषक हुन् । तर, ऐतिहासिक घटनालाई गीत–संगीतका माध्यमबाट नयाँ पुस्तासम्म पुर्‍याउने गन्धर्वको आफ्नै गीत–संगीत, वाद्यवादन र इतिहास भने कतै लेखिएन । गन्धर्वले नै संकलन वा रचना गरेका र भाका भरेका गीतलाई आफ्नो नाममा रेकर्डिङ गर्ने र चर्चित बनेका गायक/गायिकाले गरेको बेइमानीको इतिहास कतै लेखिएन वा गाइएन ।

गन्धर्व इमान्दार, श्रमजीवि र आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध रहने जाति हो । आधुनिक सञ्चार र मनोरञ्जनका साधनको उपलब्धता नहुँदासम्म शासकले गन्धर्वको गीत–संगीत र सञ्चारको भरपुर उपभोग गरे । राजा–रजौटा जहाँ–जहाँ पुगे, उनीहरूले गन्धर्वलाई लिएर गए । तर, विकल्प भेटिएपछि गन्धर्वमाथि शासकले निरन्तर बेवास्ता गरिरहे । एकातिर उनीहरूसँग उत्पादनका साधननमाथिको स्वामित्व थिएन भने अर्कोतिर शासकहरूले रुक्का, लालमोहर नै जारी गरेर परम्परागत पेशा उल्लङ्घन गर्न नपाइने व्यवस्था गरेका कारण चाहेर पनि उनीहरूले सारङ्गी बजाउँदै गीत गाउने पेसा छोड्न पनि पाएनन् । नेपाली मौलिक गीत–संगीतको संरक्षणमा निरन्तर लागिरहने गन्धर्वकै जीवन भने सधैँभरि सामाजिक अपमान र अपहेलनाबाट पीडित बनाइए ।

उपेक्षित सर्जक 
मंसिर ६ गते, अर्थात् नेपाली मौलिक लोकसंगीतका सर्जक, गायक तथा सारंगीवाधक झलकमान गन्धर्वको मृत्यु भएको दिन । आजीवन नेपाली गीत–संगीतकै क्षेत्रमा बिताएका झलकमानको मृत्यु भएको १६ वर्ष पुगिसकेछ । तर, समय बित्दै जाँदा मौलिक लोक–संगीत क्षेत्रका एक विशिष्ट स्रष्टा झलकमानलाई राज्यले त सम्झने कोसिस गरेन नै, नेपाली संगीत क्षेत्रले समेत बिर्सिँदै छ । यो केबल झलकमानमाथि मात्रै होइन, सिंगो गन्धर्व समुदायमाथिकै उपेक्षा हो ।

झलकमानले लोकजीवनका कथाव्यथालाई शब्दमा उनेर मौलिक कर्खा, सवाई, वीरगाथा, डाँफेचरीको गाथा गाए । ‘आमाले सोध्लिन नि खोई छोरा भन्लिन्,’ ‘अल्लारे नानी केसी’, ‘सरुमा रानी’ आदि गीत गाउने उनी गन्धर्व समुदायका एक महान् स्रष्टा हुन् । सानै उमेरदेखि सारंगी बजाउँदै हिँड्ने झलकमान नेपालका एक सिद्धहस्त व्यक्ति हुन् । उनले विदेशी सेनामा भर्ती हुनुका बाध्यता र युद्धमा मारिएका योद्धाका यथार्थ गाए । युद्धमा मारिएका जवानको परिवारमा परेको विपद्को यथार्थ गीतमार्फत गाए । ऐतिहासिक र सामाजिक घटनाका कथाव्यथा गाए । उनीहरूको मनोदशा गाए, अर्थात सिंगो सामाजिक—ऐतिहासिक घटनाको साङ्गोपाङ्गो इतिहास कर्खा, सवाई र लोकगीतमार्फत गाए । निकै संघर्ष गरेर उनले अरबाजो र सारङ्गीको सङ्गीत मन पराउने तर गन्धर्वलाई हेयभावले हेर्ने एउटा जमातलाई रेडियोमा गीत गाएर गतिलो जवाफ दिए । तर, रेडियो नेपाल र नेपाली संगीत क्षेत्रबाटै उनले अपेक्षित सहयोग पाएनन् । उनले कति गीत गाए, गाएका सबै गीत प्रसारण भए कि भएनन् ? उनले गाएका र रेकर्ड भएका गीत कहाँ पुगेका छन् ? त्यसबारे न त रेकर्डिङ गरेर प्रसारण गर्ने वा संरक्षित गर्ने निकायसँग जवाफ छ न त संस्कृति र सङ्गीतको रक्षा गर्ने दायित्व बोकेको संस्थाहरू नै ।

नेपालको कथित मूलधारको वा कतिपयले भन्ने गरेका कालजयी गीत शास्त्रीय सङ्गीतमा आधारित छन् जुन मूलतः नेपालको मौलिक सङ्गीत नभई भारतीय सङ्गीत हो । हिन्दू सांस्कृतिक सभ्यतामा आधारित शास्त्रीय सङ्गीत र नेपाली शब्दमा गाईएका गीतलाई मूलतः नेपाली संगीत मानिँदै आएको छ । नेपालमा विविध जाति, भाषा र सांस्कृतिक समुदायका आफ्ना मौलिक गीत, सङ्गीत र सिर्जनालाई कथित मूलधारको संगीत क्षेत्र हिच्किचाउँछ । पश्चिमा र भारतीय शास्त्रीय सङ्गीतभन्दा फरक मौलिक र लोकजीवनसँग सम्बन्धित संगीत उपेक्षामा परेको पोखरा बाटुले चौरका खिमबहादुर गन्धर्वको एउटा विदेश भ्रमणकै उदाहरणले प्रस्ट्याउँछ । उनी भन्छन्, ‘एकपटक चीन जाँदा सबै देशका संगीकारले आ–आफ्नो मौलिक संगीतको प्रस्तुति दिए । तर, नेपालीले आफ्नो प्रस्तुति दिँदा यो त भारतीय संगीत हो भनेर सुनाए ।’ पछि उनले सारंगी बजाउँदै गीत गाएपछि मात्रै नेपाली संगीतको आभास पाएको उनको अनुभव छ । झलकमान गन्धर्वले पनि मौलिक नेपाली संगीतलाई विदेशसम्म पु¥याउने काममा निकै ठूलो भूमिका खेलेका थिए । झलकमानले नेपाली मौलिक लोकसंगीत र सारंगीलाई संसारभरि चिनाए, तर अहिले झलकमानलाई नै नेपाली संगीत क्षेत्रले भुलिरहेको छ ।

गन्धर्वहरू नेपालको मौलिक संगीत र सारंगीलाई देश–विदेशसम्म पुर्‍याउने, जनताका सुख–दुःखका गीत गाउँदै हिँड्ने जनगायक हुन् । तर, नेपालको अमूर्त सांस्कृतिक सम्पदाका रूपमा रहेका गन्धर्वका वाद्ययन्त्रदेखि मौलिक धुन र संगीत पनि हराउँदै गइरहेका छन् । खस नेपाली भाषाका गायक नारायणगोपालको जन्म वा मृत्युको तिथि वरिपरि उनीबारे नेपालका पत्र–पत्रिकामा विशेषांक प्रकाशित हुन्छन्, रेडियो र टेलिभिजनमा उनकै चर्चा हुन्छ । आफूलाई कालजयी गीत–संगीतको दाबी गर्ने कलाकारदेखि संगीत क्षेत्रको विज्ञ ठान्नेहरू उनको देवत्वकरण गर्छन् । उनले नेपाली समाज, संस्कृति र नेपाली मौलिक संगीतको क्षेत्रमा पु¥याएको योगदान वा क्षतिको चर्चा हुँदैन वा ती गीतको सांस्कृतिक र वैचारिक पक्षबारे छलफल गर्न तयार हुँदैनन् ।

हिन्दू वर्णधर्मलाई निरन्तरता दिन, महेन्द्रीय राष्ट्रवादलाई प्रवद्र्धन गर्ने वा हिन्दू वर्णधर्ममा आधारित संस्कृतिलाई राष्ट्रिय संस्कृतिका रूपमा स्थापित गराउन र नेपालको मौलिक संगीतलाई पाखा लगाउने नियोजित उद्देश्यसहित नेपाल ल्याइएका केही संगीतकारबारे चर्चा गर्दा आफूलाई विशिष्ट ठान्ने संगीतकर्मी सारंगी बजाउँदै नेपाली मौलिक र लोकजीवनका गीत गाउने झलकमानको योगदानबारे बेखबर भएको बहाना गर्छन् । गीत, संगीत, कला र संस्कृतिका क्षेत्रमा काम गर्ने विशिष्ट व्यक्तित्वहरूलाई राज्यले सम्मान गर्नुपर्छ । तर, कसैको नाममा राज्यले ठुल्ठूला मूर्ति बनाउने, ठाउँको नामाकरण गर्ने, तर झलकमानको एउटा प्रतिमा राख्नसमेत राज्यसँगै लडाइँ गर्नुपर्ने विडम्बना अहिले पनि कायम छ ।

गीत, संगीत र गायकीका आफ्नै मौलिक विशेषता हुन्छन् । ती सबै क्षेत्रमा योगदान पुर्‍याउने विशिष्ट व्यक्तिलाई राज्यले उचित सम्मान दिनुपर्छ । तर, लोकजीवनको गीत गाउने, अरबाजो र सारंगीजस्ता मौलिक सांगीतिक वाद्ययन्त्र निर्माण गर्ने भएकै कारण झलकमानलाई गन्धर्व जातिकै कारण विभेद गरिनु खेदजनक छ । राज्य अन्तर्राष्ट्रिय ज्याज डे मनाउन उत्साहित हुन्छ । नेपालको संस्कृति मन्त्रालय, प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रतिष्ठान न त सारंगी दिवस मनाउने काममा सहयोग गर्न तयार छन् न त झलकमानलाई नै सम्झन्छन् ।

राज्य र नेपाली संगीत क्षेत्रको उपेक्षाकै कारण अरबाजोको अस्तित्व नै लगभग समाप्त भइसक्यो । सारंगीको मौलिक धुन र राग पनि मासिएको अवस्था छ । गन्धर्व गायनको मौलिकता पिंगुलाशास्त्रको अस्तित्व नै नामेट भइसकेको छ । यतिमात्रै होइन, ती मौलिकतासहित वाद्यवादन र गायन गन्धर्व समुदायबाटै लोप भइसकेको छ । अर्कोतिर, नेपाली संगीत साधना, प्रशिक्षण, अध्ययन/अध्यापन गराउने कुनै पनि ठाउँमा सारंगी र मौलिक लोकबाजाबारे अध्यापन गरिँदैन । गन्धर्व संगीत लगभग लोप हुने अवस्थामा पुगिसक्दा पनि अर्बाजो, सारंगी, गन्धर्व संगीत, नेपाली संगीत क्षेत्रमा झलकमानजस्ता विशिष्ट सर्जक र गन्धर्वबारे न त नेपालमा गम्भीर अध्ययन अनुसन्धान भएका छन् न त राज्य र संगीत क्षेत्रले नै यसको संरक्षण र प्रवद्र्धन गर्ने कार्य गरेका छन् । के झलकमानजस्ता सर्जक तथा सिंगो गन्धर्व समुदाय र उनीहरूको योगदानलाई भुलेर नेपाली संगीत पूर्ण हुन्छ ? यदि हुन्न भने गन्धर्व संगीत सर्जक र उनीहरूको सिर्जनामाथि राज्य र संगीत क्षेत्रको गैरजिम्मेवारीपना किन ? नेपाली मौलिक संगीतलाई कालजयी वा अजम्बरी संगीत नठान्ने र गन्धर्व भएकै कारण अपमान गर्ने सांस्कृतिक मनोविज्ञानबाट माथि नउठेसम्म नेपाली संगीत क्षेत्रले गन्धर्वमाथिको अपमान गरिरहनेछ ।

(यो सामाग्री नयाँ पत्रिकाको झन् नयाँबाट साभार गरिएको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank