दलित समुदाय हिँड्ने बाटोमा पाँच फिटको पर्खाल

मणिलाल विक १ असार २०७६, आईतवार ०९:२०

मणिलाल विक

मिर्चैया–सिरहा सहायक सडकसँगै जोडिएको सिरहाको कल्याणपुर नगरपालिका–९ डुमरी गाउँका १३ घरधुरी दलित परिवार हिँड्दै आएको बाटोमा लागेको पर्खाल अझै खुलेको छैन । दलित बस्ती जोड्ने गाउँ ब्लकमा पर्ने बाटोको मुखैमा छिमेकीले दुई महिनाअघि लगाएको पर्खालका कारण दलित समुदाय समस्यामा परेका छन् । बाटोमा लगाइएको पाँच फिट अग्लो इँटा र सिमेन्टको पर्खाल नहटाइँदा आफूहरू समस्यामा परेको स्थानीय जोगी मण्डलले बताए ।

‘वडा तथा नगरपालिका कार्यालय धाउँदा–धाउँदा थाक्यौँ, बाटो थुनिएपछि बस्तीछेउको खाली खेत, छिमेकीको घर–आँगनबाट हिँड्दै आए पनि वर्षात् लागेपछि कहाँबाट हिँड्ने चिन्तामा छौँ,’ उनले भने, ‘पानी नपर्दा त छिमेकीको घर–आँगन र खाली खेतबाट हिँडौँला, वर्षात्मा छोराछोरीलाई पढ्न पठाउन पनि समस्या पर्ने भयो ।’

एक दशकभन्दा बढी समयदेखि कायम रहेको १० फिटको बाटोमा ‘आफ्नो जग्गा’ भन्दै लडुवती यादव र उनका भतिजहरूले सिमेन्ट र इँटाको पर्खाल खडा गरी बन्द गरेका हुन् । बस्तीको समस्याबारे जनप्रतिनिधिहरूले ध्यान नदिएको आरोप लगाउँदै स्थानीय दलितहरूले गत २५ जेठमा मिर्चैया–सिरहा सडकको डुमरीचोकमा सडक अवरुद्ध गरेका थिए । ‘त्यसपछि स्थानीय प्रहरी र वडाध्यक्षसमेत आएर नगरपालिकामा छलफल गरेर बाटो खुलाउने प्रतिबद्धता गरेपछि अवरोध खोल्यौँ, तर समस्या समाधान गर्न केही गरेनन्,’ स्थानीय सोेभित पासवानले भने ।

बाटो हडप्ने दाउ
डुमरी गाउँको दलित बस्ती जोड्ने करिब अढाई सय मिटर लामो बाटोमा तत्कालीन डुमरी गाविस कार्यालयको बजेटमा ग्राभेल र विद्युतीकरणसमेत गरिएको स्थानीय जयकुमार यादवले बताए । गाउँका अगुवाले दलित परिवार हिँड्दै आएको गाउँ ब्लकमा पर्ने पाँच धुर क्षेत्रफलको १० फिट बाटो कायम गरेको करिब १० वर्षपछि जग्गाको मूल्य बढेसँगै पर्खाल हालेर बन्द गरी अघोषित नाकाबन्दी गर्न खोजिएको उनको आरोप छ ।

डुमरी गाउँबाट दुई कित्ता पश्चिमतिर १३ घरको दलित बस्ती प्रवेश गर्ने बाटोले चर्चेको पाँच धुर जग्गा गाउँ ब्लकमा रहेको स्थानीय अगुवाहरू बताउँछन् । स्थानीय बिन्दी यादवका अनुसार १३ घरधुरीले करिब १० वर्षअघि स्थानीय देवनारायण यादवको स्वामित्वमा रहेको आठ कट्ठा क्षेत्रफलको दुई कित्ताबाट पाँच धुरदेखि एक कट्ठासम्म खरिद गरेर बस्ती बसालेका हुन् । त्यसवेला जग्गाधनी देवनारायणले बाटो छाडेरै बिक्री गरे पनि अहिले जग्गाको मूल्य बढेपछि बाटोसमेत हडप्ने दाउमा पर्खाल खडा गरेको दलित समुदायको भनाइ छ ।

डुमरी गाउँकी लडुवतीसँग जग्गा किनेका स्थानीय वंशी यादवले बाटो छाडेरै उत्तरतिरबाट घरको डिपिसी उठाएका छन् भने दक्षिणतिर देवनारायणसँगै सवा कट्ठा जग्गा किनेका विनोद यादवले पनि पर्खाल हालेका छन् । ‘उत्तर र दक्षिणका जग्गाधनीले अढाई–अढाई धुर गरी पाँच धुर क्षेत्रफलको १० फिट बाटो छाडेर आ–आफ्नो जग्गामा आफ्नो संरचना बनाएका भए पनि लडुवतीले बेचिसकेको जग्गा अगाडि पर्ने गाउँ ब्लकमा कायम भएको सार्वजनिक बाटो घेर्नु दलितहरूमाथि ठूलो अन्याय हो,’ स्थानीय जयराम यादवले भने ।

तत्काल पहल थाल्छु : सिडिओ गोपालकुमार अधिकारी
सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बाटो थुनिँदा दलित बस्तीले भोग्नु परेको समस्या समाधान गर्न आफूले तत्काल पहल थाल्ने बताए । ‘दलितहरू हिँड्दै आएको बाटो सार्वजनिक हो भने, त्यही कायम गर्ने गरी तत्काल बाटो खुलाउन नगरपालिका, प्रहरीसँगको समन्वयमा पलह गर्नेछु,’ अधिकारीले भने । कल्याणपुर नगरपालिकाका प्रमुख सूर्यनाथ मण्डलले बाटो थुनिएर समस्यामा परेका बस्तीका पीडित, बाटो घेर्ने र जग्गा बेच्ने सबै पक्ष एक ठाउँमा बसेर छलफल गर्ने योजना भए पनि बोलाएको समयमा सबै पक्ष नजुट्दा समस्या भएको बताए ।

यो समाचार नयाँ पत्रिका दैनिकबाट साभार गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank