कक्षा ४ मा पढ्दापढ्दै ११ वर्षको उमेरमा कालिकोटकी दर्शना नेपाली रहरले तत्कालीन अवस्थामा युद्धरत माओवादी पार्टीको डब्लूटी अर्थात् होलटाइमर (पूर्णकालीन) बनिन् ।
०६२ साउन १२ मा भूमिगत भएदेखि नै दन्ताको नाम ‘दर्शना’ रह्यो । तर भूमिगत भएको केही दिनमै दर्शना घर फर्किन् । धेरै पढेपछि जनसेना बन्न सजिलो हुन्छ भनेर एक अग्रज नेताले सल्लाह दिएपछि उनी पढ्नका लागि घर फर्किएकी थिइन् ।
४ वर्षपछि दर्शना कक्षा ८ मा पढ्दै गर्दा एक माओवादी नेता दर्शनाको घरमा आइपुगे, उनलाई डब्लुटी बन्नुर्पयो भन्दै अफर लिएर । तर दर्शनाले कक्षा ८ को जिल्लास्तरीय परीक्षा आइसकेकाले नजाने अडान लिएपछि नेता फर्किए ।
दर्शना ०६७ मा एसएलसी पास गरेपछि काठमाडौं पढ्न आइन् । गोठाटारको गान्धी आदर्श उमाविबाट ०७० मा प्लस टु पास भएपछि विद्यार्थी राजनीतिमा बढी सक्रिय हुन थालिन् । ०७० मा बीबीएस पढ्न काठमाडौंको पद्मकन्या कलेज भर्ना भएकी दर्शना ,०७१ मा अखिल क्रान्तिकारीको पीके क्याम्पस एकाइ अध्यक्ष बनिन् । ०७३ फागुनमा हुने भनिएको स्ववियु चुनावमा अखिल क्रान्तिकारीका तर्फबाट सभापतिको उम्मेदवारी पाइन् । तर, विद्यार्थी संगठनको किचलोले चुनाव भने भएन ।
०७४ बैशाख ५ गते बीबीएस चौथो वर्षको परीक्षा सकाएर स्थानीय तह चुनाव लड्न कालिकोट पुगिन्, दर्शना । ‘सुरुमा त मेयरकै दाबेदारी हो,’ दर्शनाले सुनाइन, ‘मेयर नदिने भनिएपछि पोस्टरमा राख्ने फोटोसमेत नखिचाएर मान्मबाट गाउँ पुगें । सबैले अहिले अनुभव हुन्छ भनेपछि उपमै चित्त बुझाएँ ।’
चुनाव दर्शनालाई निकै फाप्यो । युवा, दलित महिलाको साझा उम्मेदवारका रूपमा माओवादी केन्द्रबाट उनी विजयी भइन् । नगरपालिकामा मेयरको चर्चामा रहेका दलित नेता दिनेश चदाराले टिकट नपाएपछि दलितको भोट तान्न माओवादी केन्द्रले दर्शनालाई टिकट दिएको थियो । उनी स्थानीय तहमा उपमेयर जित्ने सम्भवतः कान्छी दलित महिला हुन् ।
छुवाछूत विरुद्ध दर्शनाको अठोट
पीके क्याम्पसमा पढ्दा विपक्षी विद्यार्थी नेताले आफूमाथि जातीय विभेद गरेको तीतो अनुभव दर्शना सुनाउँछिन् । उनले साह्रै भएपछि केही विद्यार्थी नेताका नाममा जातीय छुवाछूत तथा कसुर ऐन ०६८ अनुसार जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा मुद्दा दायरसमेत गरेकी थिइन् । तर राजनीतिक दबाब र राजनीतिक स्वरुपमै घटना मिलापत्र गरिएको थियो ।
दर्शना नेपाली तिलागुफा नगरपालिकामा निर्वाचित भएर गएदेखि समुदायगत मुद्दामा केन्द्रित भएर सार्वजनिक कार्यक्रमहरुमा बढी जाने गरेकी छन् । त्यसभित्र पनि कालिकोट जिल्ला आफैमा विकट जिल्ला होइन । राज्य संरचनाले विकट बनाइएको हो । तिलागुफा नगरपालिका स्याउ, सिमी, आलु, ओखर उत्पादनका लागि कर्णालीकै गनिएको क्षेत्र हो । रमणीय पर्यटकीय स्थल, यार्चागुम्बा घुच्ची च्याउ, पाँचऔंले, पाखनवेद, जटामसी लगायतका महत्त्वपूर्ण जडीबुटी पनि यसै क्षेत्रमा पाइन्छ । यसको व्यवस्थापन गर्न सके नगर आफैं समृद्ध बन्ने दर्शनाको ठम्याइ छ ।
दलित समुदायमाथि भइरहेको जातीय छुवाछूतको घटनाहरुलाई आफुले पहिलो प्रथामिकताका साथ राखेर काम गरेको दर्शनाको बुझाइ छ । शिक्षाको पहुँचबाट टाढै रहेका दलित समुदायलाई शिक्षा दिक्षा दिलाउने आफु लागिरहेको बताउँछिन् ।
अर्को कुरा जुन दलितमाथि विभेद भइरहेको छ त्यो विभेद गर्ने समुदायलाई नै ल्याएर पढाउनुपर्ने जरुरी छ । सबै मान्छे एउटै हो , कसैलाई जातीयताको आधारमा भेदभाव गर्नु र गराउनु अमानवीय व्यवहार हो । जातीय छुवाछूत गर्न समुदायलाई कानुनसम्बन्धी धेरै कुरा बुझाउनु जरुरी छ । उनीहरुको दिमाग नै विभेदकारी मानसिकताले भरिएको छ । दलित समुदायको पक्षमा लेखिएका कानुनहरुलाई व्यवहारिक रुपमा अन्त्य गर्नु अब गैर दलित समुदायलाई पनि एक साथ लैजाउनुपर्छ । हिजो पीडक भनिएको समुदाय आज संविधान कार्यान्वयन गराउने थलोमा बसेका छन् । दलित समुदायको प्रशासिनक निकाय र कानुन कार्यान्वयन गराउने निकायहरुमा उपस्थिति न्यून छ । संविधानमा लेखिएको कानुनलाई कार्यान्वयन गर्न हामी जनप्रतिनिधिजस्तो व्यक्तिहरुलाई हम्मेहम्मे परिरहेको छ भने अरुलाई कति गाह्रो छ । मेरो नगरपालिकामा जातीय छुवाछूतको मुद्दालाई कहिले पनि पछि हट्ने गरी काम गरेकी छैन । केही घटनाहरुमा राजनीति रंगका आधारमा मिलापत्र भए । त्यो दुख लाग्दो कुरा हो । दलित समुदायलाई आत्मसमान बनाउने र सामाजिक न्यायको दृष्टिकोणबाट अगाडी बढेर काम गर्छु । म मेरो समुदायको संविधानमा लेखिएको हक अधिकारको व्यवहारिक कार्यान्वयन गर्न र भावी योजना र कार्ययोजनामा एकरथी पनि पछि नहटी काम गर्छु ,यो नै मेरो अठोट हो ।
Leave a Reply