चार सय ५० दलित परिवार जनता आवासबाट उठिबास

दलित अनलाईन १३ फाल्गुन २०७५, सोमबार १६:३६

जुम्ला – जनता आवास कार्यक्रमले भुक्तानी नदिँदा जुम्लाका विपन्न परिवार ऋणमा डुबेका छन्। घर नभएका विपन्नका लागि कार्यक्रमअन्तर्गत घर निर्माण गर्न लगाए पनि रकम भुक्तानी नपाउँदा ऋण तिर्न विपन्न दलित कालापहाड छिरेका छन्।

विपन्न परिवार छनोटमै विवाद देखिएको यस कार्यक्रमअन्तर्गत घर निर्माण गरेकाहरूले समेत अहिले कार्यक्रमबाट पाउनुपर्ने रकम पाउन सकेका छैनन्। पहिलो किस्ता पाएर घर निर्माण थालेका चार सय ५० दलित परिवारले दोस्रो र तेस्रो किस्ता नपाउँदा ऋणमा डुबेका हुन्। घर बनाउँदा लागेको ऋण तिर्न नसकेपछि अधिकांश परिवार भारततर्फ कामको खोजीमा गएका छन्।

यो कार्यक्रम लागू भएको पाँच वर्ष पुगेको छ। कतिपयका घर प्रयोगविहीन भएका छन्। गाउँका सहकारी र साहुबाट घर निर्माण गर्न लिएको ऋण तिर्न भारत छिर्नुपरेको तातोपानी–२ का हर्केश परियारले बताए। ‘गरिबलाई घर बनाउने सपना देखाएर सरकारले ऋणमा फसायो, साढे दुई लाखको घर बनाउन झन्डै चार लाखभन्दा बढी खर्च हुँदो रहेछ’, परियारले भने, ‘ऋण काढेर घर बनाइयो, ब्याज दिनदिनै बढ्दै गएपछि ऋण तिर्न कालापहाड छिरेको हुँ।’ उनीसँगै गाउँका अन्य पनि ऋण तिर्नकै लागि कालापहाड छिरेका छन्।

घर निर्माण क्रममा सबैले पहिलो किस्ता भने बुझिसकेका छन्। अब दोस्रो र अन्तिम किस्ताबापतको करिब दुई लाख रुपैयाँ भुक्तानी पाउन बाँकी छ। तर, त्यो रकम कहिले आउने हो भन्ने पत्तो छैन। यस्तै जर्मी गाउँका काँसे परियारका दुई छोरा पनि घर बनाउँदा लागेको ऋण तिर्न नसकेपछि कालापहाड गएका छन्। ‘घरमा ठूलो परिवार छ, ऋण निकाल्दै घर बनाएँ’, उनले भने, ‘सरकारले ल्याएको कार्यक्रमको आधारमा घर बनाउँदा छोराहरूको उठिबास नै गरायो।’ जर्मीका तिल चनारा पनि घर बनाउँदा लागेको ऋण तिर्न कतार पुगेका छन्। यहाँका मात्र नभई जिल्लाभरकै जनता आवासमार्फत घर निर्माण गरेका सबै विपन्न दलितको हालत उस्तै छ।

कालापहाड पुगेका श्रीमान्ले बेलाबेला जनता आवासको भुक्तानी भयो कि नाइँ रु भनेर सोध्दा आफूलाई पीडा हुने गरेको तातोपानीकी खुम्मेनी परियारले बताइन्। जनता आवासका निर्माण सम्पन्न भएका केही घर प्रयोगमा समेत आउन सकेका छैनन्। पहिले नै घर भएकाहरू जनता आवास कार्यक्रममा परेपछि उनीहरूले रकम सिध्याउन बनाएका घर गोठमा परणत भएका छन्।

शहरी तथा भवन डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख रामाशिष दासले भने भुक्तानी प्रक्रिया चाँडै सम्पन्न हुने बताए। आधा बजेट केन्द्रबाटै निकासा हुन ढिलाइ भएको उनको भनाइ छ। कार्यालयका अनुसार चन्दननाथ नगरपालिकामा दुई सय १४, तातोपानी गाउँपालिकामा २५, पातारासीमा ५७, पाण्डवगुफामा ४१, हिमामा ४९ र नराकोटमा २१ घर निर्माण भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank