विश्वभरिका दलित समुदायमा अपीलः जातीय विभेद चिरेर उदाएका रविलाई भोट गरौं

दलित अनलाईन २४ मंसिर २०७५, सोमबार १०:०९

लोकेश धामी

सुदूरपश्चिमको एक गाउँ, जातीय विभेद र गरिबीले गाँजेको बस्ती । पहाडको पखेरोले जिन्दगी धान्न कठीन भएपछि मधेस झर्छन् मानिसहरु ।

त्यसरी नै अछामको विकट पहाडबाट रविको परिवार झरे कञ्चनपुरको गुलरिया ।

बुवा भारतमा चौकीदारी गर्ने । चौकीदार अर्थात् राती लट्ठी बोकेर “जागते रहो’ चिच्च्याउँदै महिनामा दुई चार हजार भारु कमाउने जागिर । यही दुई चार हजारले पालिए रवि ओडको परिवार ।

गरिबी मानिसको जीवनको सबैभन्दा ठूलो त्रासदी हो । तर गरिबीले मान्छेको कला भने छिन्न नसक्दो रहेछ ।

यस्तै भयो रवि ओडको जीवनमा ।

गरिबी र चर्को जातीय विभेद भोगेका उनी आफ्नो यही कला निखार्न भने जसोतसो सफल भए ।

यसको जस उनी आफ्ना हजुरबुवालाई दिन्छन् ।

२०५४ सालमा जन्मिए रवि ओड । अछामको बुढाकोटबाट उनीहरु कञ्चनपुर जिल्लाको पूर्वी भेग गुलरियामा बसोबास सरे ।

कुनै बेला कामको खोजीमा भारतपनि पुगे रवि । त्यसो त १२ वर्षको उमेर भनेको बम्बईया हुने चलन नै हो सुदूरपश्चिमका पहाडी जिल्लामा । रवि पनि बुवासँगै हिँडे भारत । त्यहाँ उनले दुख गरे । तर उनको यो दुख वुवाले देख्न सकेनन । अनि फर्किए नेपाल । “जति दुख गर्नु छ, म गर्छु, तँ घर फर्केर पढाई गर” भनेको अहिले पनि सम्झिन्छन रवि ।

बुवाले दुख देखेका थिए । अपमान भोगेका थिए । सम्मानको खोजीमा भारतका गल्लीमा बुट बजाएर जिन्दगी बित्न थालेको थियो उनको ।

रवि नेपाल फर्किए र लागे पढाईमा । यता हजुरवुवा थिए गीत गुन्गुनाउने । बाजेले स्थानीय देउडा गाउने । यही क्रममा उनले पनि बिस्तारै गुनगुनाउन सुरु गरे । उनलाई गीत र संगीतको नशा चढदै गयो ।

बिस्तारै बिस्तारै रविभित्रको गायत निख्रिन थाल्यो ।

र नेपाल आइडलको मञ्च पाए उनले ।

रविका लागि एउटा स्टेजमा यसरी गाउनु नै ठूलो कुरा थियो । अझ त्यसमा पनि लाखौं दर्शकको माया पाउनु उनको जीवनको सबैभन्दा ठूलो खुसी ।

रविले अरु प्रतियोगीजस्तो संगीतको साधना गर्न पाएका छैनन । न त उनका लागि त्यो सम्भव नै थियो । तर उनले जुन परिवेशमा हुर्केर अहिले आफूलाई यो स्थानमा पुर्याएका छन, त्यो नै सम्मानयोग्य छ ।

भारतको बिग बस रियालिटी शोमा भारतको बिहारबाट एकजना प्रतियोगी छन दीपक । शुरुका दिनमा बिहारी, गँवार भनेर उनको मजाक पनि उडाइयो । आइतबार साँझको प्रस्तुतीमा उनका बुवा बिग बसको घरमा भेटन जाँदा उनले रुँदै अन्य प्रतियोगीसँग भने, – आज जीवनमा पहिलोपटक एक हजारको जुत्ता किनेर लगाएको छ । यो सुनेपछि सबै प्रतियोगीहरुको आँखामा आँसु रसायो ।

उनले भने, गरिबीमा जन्मेर पनि यसरी सबैको प्रिय बनेको छस दीपक, यसका लागि धन्यवाद ।

आज यता नेपालमा पनि रविको अवस्था यही छ । उनले चर्को जातीय शोषण र गरिबी झेलेर पनि अहिले लाखौंको मन जितेका छन् । यो हामी सबैका लागि सम्मान र गर्वको विषय हो ।

नेपाल आइडल रविले जित्लान या नजित्लान, अब त्यो कुरा मुख्य रहेन । किनभने रविले एउटा ठूलो सामाजिक आइडल जितिसकेका छन् । यो नै उनको ठूलो सफलता हो ।

रवि जुन समुदायबाट आएका हुन, अझै पनि त्यो समुदायमाथिको विभेद र शोषण चर्को छ । रवि जुन भूगोलबाट आएका हुन, त्यो भूगोल अझै पनि उपेक्षित छ । रविको आगामी यात्रा यही शोषण र विभेदविरुद्ध पनि आफूले योगदान गर्नेतर्फ अघि बढोस् ।
शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank