दलित अनलाईन डेक्स
काठमाडाै- ‘बीबीसी विश्व सेवाले प्रकाशित गरेको ’बीबीसी १०० महिला’ को सूचीमा यस वर्ष नेपालकी उमादेवी वादी परेकी छन् । ‘बीबीसी १०० महिला’ मा प्रत्येक वर्ष संसारभरिका १०० प्रभावशाली र प्रेरणादायी महिलाको नाम र कामबारे उल्लेख गरिएको हुन्छ ।
बीबीसी विश्व सेवाको विश्वका १०० जना प्रेरणादायी महिलाको सूचीमा नेपालबाट आफु परेको समाचारले समुदाय र नेपालकै गर्वको विषय भएको उनले बताइन् । ‘यो मेरो समुदाय र नेपालकै गर्वको विषय हो ,‘म धेरै खुशी छु । ’
उमादेवी वादी, वादी समुदायकी एक्ली सांसद हुन् । प्रदेश ७ मा नेपाली कांग्रेसका तर्फबाट उनी समानुपातिकतर्फबाट सांसद भएकी हुन् । हुनत उनलाई कांग्रेसले २०६४ को संविधानसभामा समानुपातिकतर्फ राख्ने निकै चर्चा थियो तर अन्तिम अवस्थामा उनको नाम काटियो । २०७० मा भने उनको नाम लिस्टमा अट्यो तर पछि हट्यो । यस पटक भने महिला र दलित समुदायलाई अनिवार्य समेट्नुपर्ने बाध्यकारी व्यवस्थाका कारण उनको नाम काट्नै नमिल्ने गरी छनोटमा र्पयो। अहिले उनी संसदमा उपस्थित भएर आफ्नो समुदायको हक अधिकारका बारेमा कुरा राख्छिन ्। शून्य समय र विशेष समयमा पनि उनले वादी समुदायको बसोबास, सामाजिक सुरक्षा भत्ता र बालबालिकाको निस्शुल्क शिक्षाको व्यवस्था हुनुपर्ने भन्दै आवाज उठाउँछिन्। ‘ममाथि धेरैको विश्वास अडेको छ, हिजो जस्तो जीवन भोलि व्यतीत गर्नु नपरोस् भन्नका लागि आवाज उठाउँछु’, उनले भनिन, ‘हामी सम्मानजनक रूपले बाँच्न पाँउनुपर्छ।’
फिरन्ते जीवनबाट आएकी उमा
वि.सं. २०२१ मा सल्यानको थापागाउँमा जन्मिएकी उमाको बाल्यकाल घुमफिरमै बित्यो, सोखले होइन, बाध्यताले। जग्गाजमिन थिएन, आम्दानीको स्रोत भएन। परिवार गाउँ डुल्दै, गीत गाउँदै, खानेकुरा माग्दै हिँड्थे। उनी पनि आमाबुबासँगै गाउँगाउँ चहार्थिन्। महिना दिन, दुई महिना या तीन महिना, धेरै भए आधा वर्ष एउटा गाउँमा बित्थ्यो। आमाबुबाले स्कुल त भर्ना गरिदिन्थे तर वर्ष दिन कुनै स्कुलमा पढ्न मिल्दैनथ्यो। ‘कति हो कति स्कुल पुगेँ। सबै त याद नै छैन तर कहीँ पनि परीक्षा दिउन्जेलसम्म पढ्न पाइनँ’, उमासँग स्कुले जीवनको धमिलो सम्झना छ। सपरिवार केही वर्षपछि कैलाली आए। कैलालीमा स्थायी बसोबास कतै थिएन। सल्यानमा जस्तै कैलालीमा पनि उही पेसा अँगाले। उनीहरू राजपरिवारकहाँ हुने उत्सव र चाडबाडमा नाचगान गर्थे। त्यसवापत केही जिन्सी र नगर पाउँथे। जीविकोपार्जन यतिले मात्र धानिँदैनथ्यो। कतिपय महिलाहरू देहव्यापार गर्थे। युवा तथा पुरुष मादल बजाउँथे। यसरी नै बित्थ्यो फिरन्ते जीवन। उनले सुनाइन, ‘बस्ने ठाउँ कतै थिएन, माग्दै हिँड्ने भएपछि स्थायी बसोबास हुने कुरै भएन।’ त्यसबेला बादी महिलाहरू यौन पेसा गरेर जीविकोपार्जन गर्थे। त्यही क्रममा उनीहरूबाट बच्चा जन्मिन्थे। ती बच्चाहरूको बाबुको पहिचान हुँदैनथ्यो। बाबुको पहिचान नभएपछि बच्चाहरूले नागरिकता पाउन सक्दैनथे। नागरिकतामा बाबुको नाम उल्लेख हुनुपर्ने अनिवार्य कानुनी व्यवस्था थियो। वादी समुदायका अधिकांश व्यक्तिहरू नागरिकताविहीन थिए। उनीहरू नागरिकता नभएकै कारण शिक्षादीक्षा र रोजगारीलगायतका कुराबाट वंचित थिए ।
सरकार झुकाउने उमाको चर्चा
१७ असार २०६४ देखि २३ जिल्लाका ५०० बढी आन्दोलनकारी मुक्तिको सपना बोकेर राजधानी पुगे । त्यसको नेतृत्व उमाले सम्हालिन् । २६ बुँदे माग लिएर गाउँदेखि सिंहदरबार पुगेर माइतीघर मण्डलामा धर्ना, जुलुस र विरोध गर्न थाले । उनीहरूलाई सिंहदरबार प्रवेशमा रोक लगाइयो । उनीहरूले सिंहदरबारबाहिर धर्ना दिए । नारा जुलुस गरे । शान्तिपूर्ण विरोधका सबै उपाय अपनाए तैपनि सरकारले सुनेन । भदौ ५ गते छुट्टाछुट्र्टै ¥यालीको आयोजना गरियो। माइतीघरबाट सिंहदरबार जाने ¥यालीको नेतृत्व उनै उमादेवीले गरेकी थिइन । उनका पछाडि २०(२५ जना महिला मात्रै थिए। उनीहरू सोझै सिंहदरबारको गेटमा पुगे । सुरक्षाकर्मीले गेट बन्द गरिदिए। आक्रोशित उमा अर्धनग्न अवस्थामै सिंहदरबारको गेटमा चढिन्। उनले सरकारविरुद्ध नाराबाजी गरिन् । धेरै वादी महिलाहरूले अर्धनग्न अवस्थामै सरकारविरुद्ध नाराबाजी गरेर उनलाई साथ दिए । यो दृश्यले सबैको ध्यान खिच्यो । संचार माध्यम र मानवअधिकारकर्मीले वादी समुदायको आन्दोलनलाई साथ दिए । आन्दोलनले विस्तारै गति लियो । संचार माध्यमले आन्दोलनका बारेमा लेख्न थाले । बल्ल मात्रै आन्दोलनका बारेमा सरकारले समेत चासो दियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उमादेवीलगायतलाई बालुवाटार बोलाए । कोइरालाले आन्दोलन रोक्न आग्रह गर्दै नेपालगंजमा गास, बासको व्यवस्था गर्ने आश्वासन दिए । उनले वादी समुदायको समस्या नेपालगंजमा मात्रै नभएर देशैभर रहेको कुरा कोइरालालाई अवगत गराइन् । ‘सायद गिरिजाबाबुलाई वादीहरू नेपालगंजमा मात्रै बस्छन् भन्ने थियो होला, हाम्रो कुराप्रति त्यति वास्ता गर्नुभएन’, उनले दुखेसो पोखिन्। यही बेलामा कंचनपुरका वादी अगुवाले उमादेवीलाई शेरबहादुर देउवालाई भेट्ने सुझाव दिए। उनीहरू देउवाको नारायणस्थानस्थित निवास पुगे। देउवाले सबै कुरा सुने। तत्कालीन शान्तिमन्त्री रामचन्द्र पौडेललाई फोनमार्फत् कुरा सुनाए। एकैछिनपछि पौडेलका पिएले उमालाई फोन गरेर वार्तामा आउन भने । २०६४ भदौ २८ गते पौडेलकै कार्यकक्षमा वार्ता भयो । कांग्रेस नेता एनपी सावद, रामजनम चौधरी, फकिरसिंह कडायतले वादी समुदायको पक्षबाट कुरा राखे। सरकार वादी समुदायको समस्यालाई सम्बोधन गर्ने गरी अघि बढ्यो ।
Leave a Reply