काठमाडौं-सर्लाहीको रामनगर–४ मा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपका क्रममा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ५० वर्षीय रामविलास महतो छन् । थप ४ जनालाई पनि गोलीको छर्रा लागे पनि उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।
सोमबार भएको सामान्य विवाद बढ्दै जाँदा मंगलबार बिहान झडप भएको बताइएको छ ।
गोली कसले चलायो भन्नेबारे खुल्न बाँकी रहेको छ । मृतक रामनगर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामनरेश महतोका काका हुन् । वडाध्यक्ष महतोले आफ्ना काकाको मृत्यु भएको पुष्टि गरे ।
वडाध्यक्षलाई दुर्व्यवहार गरिएको भन्दै शुरू भएको विवादले उग्ररूप लिँदा गोली चलेको हो । दुर्व्यवहारका क्रममा घाइते वडाध्यक्ष महतोको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रामनगर गाउँपालिका ४ मा बिहान साढे ८ बजेतिर दुई पार्टीका कार्यकर्ताबीच झडप भएको र सो क्रममा गोली चल्न पुगेको हो ।
Leave a Reply