अस्तित्वकाे बयान

दलित अनलाईन १३ आश्विन २०७५, शनिबार २१:५६

म निर् प्लस मला निर्मला
म हुनुकाे अस्तित्व जाेगाउँछु भन्दा भन्दै
हाँगाबाट खसेकाे याैटा गुलाफ हुँ ।

थाहै नदिएर टिपी दियाे फुल्नै नपाएकाे मेराे गुलाफ
खुसीहरू एकाएक हराइदियाे अाेठबाट
म छिया छिया भएँ त्यसै दिनबाट
टुक्राटुक्रा भयाे मुटु र कलेजाे
मेराे गुहारकाे अावाजले कसैका कानहरू ब्युँझेनन्
म त्यसपछि मात्रै लुटिएकाे हुँ
मेराे फाेक्साेबाट उत्पादित सास
एकाएक छुट्याे नलीबाट ।

छुट्याे गन्तव्य भेटाउन हिँडेकाे बाटाे
हरायाे सपनाहरूकाे राजधानी
बस्याे क्यानभासमा पैतालाकाे छाप
कसैले सुनेन साक्षी बसेका ऊखुहरूहरूकाे गुनासाे
रह्याे शरीरभरि दरिद्रहरूकाे अाैँलाहरूकाे डाेब ।

बयान नम्बर एक
मलाई कसैले छाेयाे
लडायाे निलाे भूगोलको एक कुनामा
काँचुली फेर्न नपाएकाे वैँसालु फूलमा
खस्राे हत्केलाले मुसार्याे र बाघले झैँ झम्टियाे
सास दबाइदियाे र
रगत लतपतिएकाे सुरुवाले छाेपि दियाे मेराे पृथ्वी ।
बयान नम्बर दुइ
चुस्याे रगतकाे प्याला सिंहले झैँ
मेराे चिन्ताकार सुन्ने त्यहि हाे
जस्ले मेराे याैवनलाई मुसार्याे
साक्षी म छु उ पनि छ
उ बाेल्न सक्छ लुकाउछ उसलाई बाँच्ने रहर छ
म बाेल्न सक्छु तर अावाज हराएकाे छ
बाँकी त प्रकृति छ जाे माैन छ
म कसरी भनूँ बलातकारी त्यहि हाे ?

जज- साब
म यहाँभन्दा बढी बयान कसरी दिऊँ
याे भन्दा साँच्चाे बयान अरू के हुन सक्छ ?
विश्वास गर्दा गर्दै विश्वासकै पहाडले किन थिच्छ
मेराे भाग्य ?
मैले मरेर पनि न्याय पाउन अझैँ केके गर्नुपर्छ ?
सरकार
मेराे लागि कानुनमा किन लेखिएन मेरै भाग्यकाे रेखा ?

मैलेजस्तै न्याय पाउन नसकेकाहरूले
अझै कति पटक बलात्कृत हुनुपर्छ ?
भन्नाेस त किन हाम्रो शरीर हाम्रै अधीनमा हुँदैन ?

रामेछाप

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank