कामी भएको हुँदा

तुलसीप्रसाद भट्टराई १७ जेष्ठ २०७७, शनिबार १६:००

कोही कर्म उदण्ड गर्दछ भने भोग्ने छ दण्डै पनि
हत्या गर्नु हुँदैनथ्यो अधम वा कस्तै भएता पनि
कानूनी उपचार खोज गरिँदा हुन्थ्यो बुँदाका बुँदा
हत्या भो नवराजको तर यहाँ कामी भएको हुँदा ।

हत्या गर्नु हुँदैन हे मनुज हो कानूनले सुन्छ के
जान्नै पर्छ स्वधर्म मानिस भए कर्तव्यमा हुन्छ के
सत्ता खोज तुरुन्त न्यायलयका के के रहेछन् बुँदा
हत्या भो नवराजको रुकुममा कामी भएको हुँदा ।

छोरा ब्राह्मणको थियो यदि भने पक्कै नमर्ने थियो
छोरो बन्न सकेन आज नवराज् कामी हुँदै जन्मियो
आमाको मन के भयो सजन हो त्यो लासलाई छुँदा
छोरा त्यो नवराज मारिन गयो कामी भएको हुँदा ।

प्यारीको मन जित्छु मित्र जन हो भन्दै गएका थिए
सारा गाउँ समाज नै खनिन गो जन्ती सबै गाँजिए
खेदा खेद भयो बिचार नगरी सुन्थे र के ती रुदा
हत्या भो नवराजको रुकुममा कामी भएको हुँदा ।

मान्छेमा किन भेदभाव गरछौ तल्लो उपल्लो भनी
कोहो ब्राह्मण वा कुजात कुनहो भन्छौ तिमी केअनि
यौटै हो अधिकार यो प्रकृतिको आकाश साझा धरा
मान्छे हो भनिएन मारिन गयो कामी भएरै बरा ।

साँचो मानवता बिलाउन गयो जाती र पाती भनि
माया प्रेम कता गयो विलय भो सद्भाव के भो अनि
कस्तो सोच भएर मानिस कठै बिर्सन्छ मान्छे पनि
भेरी आँसु बगाउँदै छ अहिले मान्छे जले दन्दनी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank