एसिड आक्रमणकी घाइते सम्झनाको मृत्यु

दलित अनलाईन ८ आश्विन २०७५, सोमबार १०:४४

काठमाडौं : तेजाब आक्रमणमा घाइते भई उपचाररत रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको छ। आइतबार राति ११ बजेर ४० मिनेटमा १८ वर्षीया सम्झनाको कीर्तिपुर अस्पतालमा निधन भएको हो। उनको आइसीयूमा उपचार भइरहेको थियो।

सम्झनाकी बहिनी १५ वर्षीया सुस्मिताको भने अवस्था सामान्य छ। उपचारपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार सम्झनाको शरीर ३५ प्रतिशत भन्दा बढी जलेको थियो। यस्तो अवस्था चिकित्सकीय भाषामा ‘मेजर बर्न (गम्भीर जलेको) हो।

मेडिकल भाषामा ‘सेप्सिस’ (संक्रमण) अवस्थामा रहेकी उनको स्वासप्रस्वास प्रणालीले काम गर्न छोडेपछि निधन भएको अस्पतालका प्रवक्ता डा. सुरेन्द्रजंग बस्नेतले जानकारी दिए।

‘यस्तो अवस्थामा उपचारका लागि ल्याउँदै गर्दा नै शरीर चिस्याउनेदेखि पानी दिनेसम्मका साबधानीहरू अपनाउनुपर्छ’, उपचारमा संलग्न एक चिकित्सकले भने, ‘उहाँलाई यहाँ ल्याउनु अघि ती साबधानी अपनाउन सकेको देखिन्न। हामीले कोसिस त गर्‍यौँ तर सफल भएनौँ।’

शरीरको २० प्रतिशत भन्दा बढी भाग जलेको अवस्थालाई मेजर बर्न भनिन्छ। बच्चाहरूमा भने १० प्रतिशत शरीर जल्नुलाई मेजर बर्न भनिन्छ। एसिडबाट शरीर जल्नु जीवनरक्षाका दृष्टिले अझ संवेदनशील हुन्छ।

उपचाररत बहिनी सुस्मिता, जसलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ। फोटोः उमा बिष्ट

अस्पताल पुर्‍याउनुअघि आइसले शरीर चिस्याउने लगायतका काम गर्न नसकेमा उपचार प्रभावकारी नहुने चिकित्सकको भनाई छ। चिकित्सकका अनुसार सम्झनाको अनुहार, टाउको, छाति, ढाड, हात लगायतका अंग जलेका थिए।

घरमा सुतिरहेको अवस्थामा उनीहरूलाई भदौ २६ गते मंगलबार राति करिब १२ बजे अपरिचित व्यक्तिले तेजाब फ्याँकेका थिए। घाइते भएका दुवैजनालाई रौतहटको चन्द्रपुर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं ल्याइएको थियो। रौतहट चन्द्रपुर ६ का दास दिदीबहिनी स्थानीय जनज्योति माविमा ७ कक्षा र ६ कक्षामा अध्ययनरत थिए।

मृतक सम्झनाको सोमबार त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरी शव परिवारको जिम्मा लगाउने तयारी भएको अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank