भौतिक पूर्वाधार र कृषिमा अमेरिकाको सहयोग आवश्यक छ : अध्यक्ष प्रचण्ड

दलित अनलाईन १० भाद्र २०७५, आईतवार १९:३१

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भौतिक पूर्वाधार, पर्यटन क्षेत्र, जलविद्युत् र कृषिमा आधारित उद्योगको विकासमा अमेरिकी सहयोग आवश्यक रहने बताउनुभएको छ ।

आइतबार आफ्नो निवास खुमलटारमा अमेरिकी दक्षिण तथा मध्यएशिया मामिला उपसहायकमन्त्री एलिस जी वेल्ससँगको भेटमा उहाँले नेपाल सरकारका तर्फबाट लगानीको सुरक्षा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “नेपालमा हुन लागेको बिमस्टेक सम्मेलन आर्थिक विकासका लागि सहयोगी सिद्ध हुनेछ ।”

उहाँले शान्ति, समृद्धि र लोकतन्त्रप्रति आफूहरू पूर्णप्रतिबद्ध रहेको बताउँदै संसारमा स्थापित लोकतन्त्रको मान्यता नेपालमा अनुसरण गरिएको स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “नेपालको शान्ति प्रक्रिया, गणतन्त्रको घोषणा र संविधान निर्माण हुँदै त्यसको सफल कार्यान्वयनमा अमेरिकी जनता र सरकारको सद्भावका लागि धन्यवाद छ ।” सो अवसरमा अमेरिकी उपसहायकमन्त्री वेल्सले नेपालको राजनीतिक स्थायित्वमा महत्वपूर्ण योगदान गरेको भन्दै अध्यक्ष दाहालको प्रशंसा गर्नुभएको थियो । उहाँले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माण विश्वका लागि नमूना भएको बताउनुभयो ।

नेपाल र अमेरिकाको द्विपक्षीय सम्बन्ध राम्रो रहेको उपसहायकमन्त्री वेल्सको धारणा थियो। उनले वर्तमान स्थायी सरकार नेपालको आर्थिक समृद्धिका लागि गतिलो आधार भएको बताए। उनले साइबर सुरक्षा र प्रकोप नियन्त्रणमा आफूहरू सहयोग गर्न इच्छुक रहेको बताए। उपसहायकमन्त्री वेल्सले भने, “नेपाल प्राकृतिक रूपमा सुन्दर र सम्पन्न देश हो । यहाँ धेरै सम्भावना रहेका छन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank