गाउँपालिकाका जनप्रतिनिधि अनशनमा

दलित अनलाईन २३ श्रावण २०७५, बुधबार १२:३९

पर्वत – गाउँपालिकाका उपाध्यक्ष जसमति गुरुङको राजीनामा माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनप्रतिनिधि आजदेखि अनिश्तिकालीन अनशन बसेका छन् ।

गाउँपालिका– ४ हुवासमा जनप्रतिनिधिले अनशन शुरु गरेका हुन् । वडाध्यक्ष महेन्द्र श्रेष्ठलाई बिनाकारण स्पष्टीकरण सोध्ने र पद रिक्त गराउने कोसिस गरेको भन्दै उपाध्यक्ष गुरुङको राजीनामा माग गरिएको छ ।

वडाध्यक्ष श्रेष्ठ परिवारलाई भेट्न जापान गएको बेला गाउँपालिकाका कार्यवाहक अध्यक्ष गुरुङले ‘लगातार तीन वटा बैठकमा बिनाजानकारी अनुपस्थित भएमा पद रिक्त हुने व्यवस्था भएको’ ब्यहोरासहित सात दिने स्पष्टीकरण सोधेपछि बिबाद भएको हो । कार्यवाहक अध्यक्ष गुरुङले साउन ८ गतेको मितिमा श्रेष्ठलाई सात दिनभित्र स्वयं उपस्थित भएर स्पष्टीकरण दिने पत्र पठाउनुभएको छ ।

वडाध्यक्ष श्रेष्ठले गएको जेठ २९ गते वडा सदस्य मोतीलाल न्यौपानेलाई कार्यवाहक दिएर जापान जानुभएको थियो । कार्यवाहक दिएको बारे श्रेष्ठले गाउँपालिकामा लिखितपत्र समेत दर्ता गराउनुभएको थियो । “मैले कार्यवाहक दिएर परिवारका सदस्य भेट्न जाँदा पदबाट हटाउने षड्यन्त्र भयो,” श्रेष्ठले भन्नुभयो, “षडयन्त्रपूर्वक गरिएको यस्तो कामका लागि उपाध्यक्षले राजीनामा दिनुपर्छ ।”

सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले अध्यक्ष र उपाध्यक्षलाई कार्यवाहक दिएको जानकारी नगराएका कारण समस्या भएको गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले बताउनुभयो । कार्यवाहक अध्यक्षको हैसियतमा सदस्य न्यौपानेले कार्यपालिकाको बैठकमा समेत भाग लिँदै आउनुभएको थियो । “हाम्रो नियत पद खारेज गराउने होइन, सचेत मात्रै गराउने थियो,” उहाँले भन्नुभयो, “कार्यवाहक दिएर गाउँपालिकामा जानकारी गराएर गएको कुरा कार्यकारीले नभन्दा समस्या भएको हो, समाधान खोज्ने प्रयासमा छौँ ।”

उपाध्यक्ष गुरुङले पत्र पठाएपछि नेकपाबाट विजयी श्रेष्ठ जापानबाट नेपाल फर्किनुभएको थियो । श्रेष्ठ नेपाल फर्केपछि सोमबार गाउँपालिकाका अध्यक्ष तिवारी र उपाध्यक्ष गुरुङलाई भित्र थुनेर गाउँपालिका कार्यालयमा नेकपाका कार्यकर्ता र निर्वाचित जनप्रतिनिधिले तालाबन्दीसमेत गरेका थिए । प्रहरीले ताला फोडेर दुवैजनालाई बाहिर निकालेको थियो । नेकपाका प्रतिनिधि उपाध्यक्ष गुरुङले राजीनामा दिनुपर्ने अडानमा छन् भने नेपाली काँग्रेसका तर्फबाट विजयी जनप्रतिनिधि भने उपाध्यक्षलाई माफी माग्न लगाएर समस्याको निकास निकाल्ने पक्षमा छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank