यात्रामा हिँड्दा केले तपाईंको ध्यान बढी तान्छ ?
यात्रामा सबैको आँखाअगाडि सबैभन्दा पहिले आउने त प्रकृति नै हो, तर मेरो बढी ध्यानचाहिँ मानिसहरूप्रति नै जान्छ । कुनै नयाँ ठाउँमा पुगेपछि त्यो ठाउँका मानिसबीचको सम्बन्ध कस्तो छ भन्नेतिर नै मेरो चासो हुन्छ । त्यसैले पनि घुम्न निस्कँदा मिलेसम्म होटेलमा भन्दा घरहरूमा घुलमिल भएर बस्न रुचाउँछु ।
नेपालभित्रको खास ठाउँ जान पाए हुन्थ्यो जस्तो केही छ ?
कुनै ठाउँको रोमाञ्चक दृश्य मात्रै हेर्न जाऊँ जस्तो मलाई लाग्दैन । त्यो ठाउँको समाज बुझ्न नै मलाई रहर हुन्छ । हिमाली समाजले मेरो ध्यान तानेको छ । हिमाली समुदायमाथि लेखिएका केही किताब त पढेको छु तर तिनले मेरो तिर्सना मेटिएको छैन । चिमाल जहाँदेखि फुल्न सुरु हुन्छ, त्यहाँबाट हिमाली क्षेत्र सुरु हुन्छ । जान त गइएको छ, तर समाज अध्ययन गर्ने गरी समय बिताउन पाइएको छैन । त्यसैगरी नेपालका मुस्लिमको समाजलाई नजिकबाट अनुभूत गर्ने गरी उनीहरूका बस्ती घुम्न पाएको छैन । काठमाडौंका जामे र कास्मिरी तकिया दुवै मस्जिद अनि ललितपुरको मस्जिद धेरैपटक गएको छु । प्रत्येकपटक मुस्लिमबहुल तराई र पहाडका बस्ती डुल्नैपर्ने मन बनाएर फर्केको छु ।
यात्राका क्रममा बिर्सनै नसकिने कुनै पात्र भेट्नुभएको छ ? जुन पात्र अहिले सम्झँदा कुनै आख्यानको पात्रजस्तो लाग्छ ?
त्यस्ता त धेरै छन् । ०४४ सालतिर सिन्धुपाल्चोकको भोटेचौर क्षेत्रमा एकजना गरिब तामाङ थिए, उनका चारवटी श्रीमती थिए । किन धेरै श्रीमती जोडेको भन्दा उनी भन्थे, ‘जेठी बाउआमाले जुराइदिएकाले ल्याइयो । माइलीलाई पहिलेको लोग्नेले घरबाट निकाल्देर बाटोमा रोइबसेकी रैछ । जाने ठाउँ कहीँ छैन भनी, अनि कसरी छाडेर हिँड्नु बाटोमा एक्लै ? ल्याएँ । साइँलीको लोग्ने मरेर माइती बसेकी रैछ, जात्रामा गीत गाउँदै जाँदा लोग्नै रैनछ भन्ने थाहा भो । ओहो, यति राम्री यति मीठो गितालुको लोग्ने खोस्ने कस्तो भगवान् होला, मै भए नि लोग्ने बन्दिन्छु भनेर मनमा आयो अनि ल्याएको, उपकार गर्दागर्दै चार पुगे ।’ प्रत्येक श्रीमती थप्दाका अनौठा मानवीयताका कथा थिए उनीसँग ।
सिन्धुली जिल्ला डुल्दा मरिन क्षेत्रमा उन्नाइसपटक बिहे गर्ने उजेली दनुवारका कथा पनि सुनियो । प्रत्येक पुरुषले माया गर्छु भनेर लैजाने तर केही महिना वा वर्षपछि पहिलेको लोग्नेजस्तै खराब हुन थालेपछि त्योसँग किन बस्ने भन्ने उनका कुरा गज्जबका विद्रोही थिए । अरब यात्राका क्रममा यस्ती नेपाली युवती पनि देखियो, जसका आठजना प्रेमी थिए । उनको कथा डरलाग्दो थियो । उनको कमाइ मासिक १२ हजार रहेछ । खाना, लत्ताकपडा, रिचार्ज, सिंगारका सार्दम आदिमा खर्च गर्ने हो भने नेपाल पठाउँन केही बच्न गाह्रो ।
ऋण गरेर विदेश आइसकियो, घरगाउँमा के भन्ने, उफ् कति दुःख तिनको ! लाखौँ नेपाली युवा अरबमा तर नेपाली युवतीहरू त केही हजार मात्रै, फेरि सबै युवतीको मन चञ्चल हुने कुरा पनि भएन । यस्तै परिवेश, आवश्यकता र बाध्यताका बीचमा तलब बचाएर घर पठाउँने धुनमा कसैबाट रिचार्ज गरिमाग्दा माग्दै, कसैसँग यस्सो सपिङ जाँदा–जाँदै इत्यादि मेलोमा प्रेमी आठजना पुगेका थिए । उनको कथा वास्तवमा नेपालको अर्थतन्त्र, गरिबी, राजनीति र युवाहरूको अकल्पनीय दुःखको ज्वलन्त बिम्ब थियो ।
विदेशमा नेपाली–नेपालीबीचको सांस्कृतिक सम्बन्ध कस्तो पाउनुभएको छ ?
नेपाली जहाँ पुग्छन्, त्यहाँ आफ्नो सांस्कृतिक दृष्टिकोण पनि सँगै लिएर जान्छन् नै । नेपाली भएको ठाउँमा धेरथोर सग्लै नेपाल पुगिहाल्छ । यो स्वाभािवक पनि हो । दुई–चारजना जम्मा भयो सांस्कृतिक गतिविधि, साहित्यिक गतिविधि थालिहाल्ने प्रवृत्तिचाहिँ नेपालीहरूको विशेषता नै बनेको पाइन्छ, यो गजब लाग्छ मलाई र राम्रो पनि । अरू त फेरि उस्तै हो, नेपालको राजनीति, जातपात सबै–सबै मात्रा धेर–थोरको कुरा हो, सबै कुरा विदेशमा पनि पुगेकै पाएको छु । प्रवासमा पनि सामाजिक असमानताको लघु नेपाल प्रस्टै देख्न सकिन्छ ।
अहिलेसम्म यात्रा गर्दा तपाईंले चाहेजस्तै सामाजिक, आर्थिक रूपमा समानता भएको कुनै समाज वा ठाउँ भेट्नुभएको छ ?
त्यस्तो समाज आज सम्भव नै छैन । समानतासहितको समाज म हुर्किएदेखि नै थिएन । राजनीतिक र शैक्षिक चेतनाका कारण औपचारिक ठाउँमा मात्रै विभेद नभेटिएला । जातपात मुखर नभएका ठाउँ भेटिएलान्, छन् पनि । तर, महिला, बालबालिकामाथि विभेद छ । बौद्धिक श्रम र शारीरिक श्रम गर्नेबीच धेरै खाडल छ । त्यस्तो समानता र समता भएको समाज कहाँ भेटिन्छ र आज ? कहिलेकाहीँ म चिहानतिर घुम्छु । चिहानवरपर च्याउजस्ता दार्शनिक, जलिरहेका लासहरू, रोइरहेका मानिसहरू, छिटो घाटबाट बाटो तताउँन बहाना बनाइरहेका आफन्तहरू, लासमाथि समेत रिस पोख्नेहरू अनि लासको गुलामी गर्नेहरू । बाफरे बाफ ! गजब दुनियाँ देखिन्छ चिहानमा । चिहानमा त विभेद नहुनुपर्ने तर चिहानमा पनि अझैै विभेदहरू बाँकी छन् भने अन्तको कुरा के गर्नु ?
यात्राको क्रममा कुन क्षेत्रका मानिस तुलनात्मक रूपमा बढी इमानदार पाउनुभयो ?
मैले महसुस गरेसम्म भित्री मधेस र हिमाली क्षेत्रका जनजातिको मन सापेक्षतामा सङ्लो छ । ती क्षेत्रमा महिलाहरूको स्थान पनि अलि बढी सम्मानजनक छ । नेपालको भूबनोट हेर्दा जति–जति उचाइ बढ्दै जान्छ, त्यति–त्यति महिलाको स्थिति पनि राम्रो हुँदै जान्छ । मैदानका मधेसी र मुस्लिम महिलाको भन्दा भित्री मधेस र पहाडका महिलाको अवस्था राम्रो छ । पहाड पनि काटेर हिमाली क्षेत्रतिर उक्लेपछि महिलाहरूको स्थिति अझै राम्रो छ ।
पुँजीवादले क्रमशः घुम्नुलाई पनि एउटा ठूलो व्यापार बनाइदियो, उद्योग नामकरण गर्नसम्म भ्याइसक्यो । त्यसैले नेपालको पुँजीवादले पनि घुम्ने संस्कृतिलाई बल गरेर प्रोत्साहित गर्दै छ ।
१० वर्षअघि पुगेको कुनै ठाउँमा १० वर्षपछि पुग्दा कताकता परिवर्तन देख्नुभएको छ कि ?
बितेको १० वर्षमा समाजमा धेरै नै परिवर्तन भयो । मुख्यतः दुई–तीनवटा परिवर्तन प्रस्टै देखिन्छ । पहिलो, उत्पादन घटेको छ । किनेर बेसाएर खाने अवस्था तीव्र रूपमा बढेको छ । अर्को जुन ठाउँबाट १० वर्षअघि दशजना युवा बिदेसिएका थिए, अहिले त्यो ठाउँबाट सयजना युवा बिदेसिएका छन् । जताततै पुग्दा देखिने अर्को परिवर्तन भनेको सञ्चारमा आममानिसको पहुँच हो । यो परिवर्तनले मानिसलाई सुखतिरभन्दा दुःखतिर धकेल्दै छ ।
जर्मनीको बियर नेपाली पहाडको कुनाकन्दारामा पुगेको छ । तर, आम्दानी बढेको छैन । घरहरू बनेका छन्, तर घरमा बस्ने युवा छैनन् । परिवर्तनले समाजलाई सुगठनतिर होइन, संकट र विघटनतिर लगिरहेको छ । उत्पादन नगर्ने बरु आयातित चिज उपभोग मात्र गर्ने उल्टो परिवर्तनको प्रक्रिया बढेको छ । ठाउँ–ठाउँमा पाँचतारे होटेल खुलेको छ, क्यासिनो खुलेको छ । झट्ट हेर्दा समाज परिवर्तन भएको देखिन्छ, तर त्यसले आमश्रमजीवीको जीवनमा परिवर्तन ल्याइरहेको छैन । सबैतिर जता पुग्दा पनि दश वर्षको बीचमा क्याफेहरू, पार्टी प्यालेसहरू, पार्कहरू, सपिङ मलहरू टोल–टोलमा ह्वात्तै बढेका छन्, ती सबै खर्च गर्ने ठाउँहरू हुन्, सेवाक्षेत्र हुन् । तर, उत्पादनको परिवर्तन जहाँ गए पनि देखिँदैन् । तब खर्च गर्ने पैसा खोज्न जसरी पनि विदेश जानुपर्ने दुर्भाग्यको मात्रा ह्वात्तै बढेको छ ।
अहिले नेपालीको घुम्ने संस्कृति बढ्दै गएको हो ?
बढेको त देखिन्छ, तर नेपालीको घुम्ने संस्कृति कमजोर नै छ, किनकि सामन्तवादी अवस्थाबाट नेपाली समाज भर्खरै निस्केको छ । सामन्तवादी समाजमा घुम्ने संस्कृति कम हुन्छ । सामन्तवादी समाज नै कम डुलुवा समाज हो । सामन्तवादी समाज अलगथलग भएर बसेको हुन्छ । जात, धर्म, इलाकामा अलगथलग रूपमा संकुचनमा रहेको हुन्छ । आफूलाई चाहिने मन्दिर नजिकै बनाउँछन् । उच्च पहाडी भेगका मानिस मुग्लान जाँदा र नुन लिन मात्रै मधेस झर्थे । सामन्तवादमा खास विद्वान् र व्यापारी मात्रै घुम्थे । घुम्ने संस्कृति त मूल रूपमा पुँजीवादले ल्यायो ।
पुँजीवादले सामान ओसार–पसार गर्दा मानिसको आवतजावत बढ्छ । बन्द–व्यापार बढेपछि मानिसहरू अर्को ठाउँ र त्यहाँका मानिससँग घुलमिल हुन पुग्छन् । अर्को स्थानको महत्व बुझ्न थाल्छन् किनभने आफ्नो ठाउँसँग दाँज्ने अवसर पाउँछन् । पुँजीवादले क्रमशः घुम्नुलाई पनि एउटा ठूलो व्यापार बनाइदियो, उद्योग नामकरण गर्नसम्म भ्याइसक्यो । त्यसैले नेपालको पुँजीवादले पनि घुम्ने संस्कृतिलाई बल गरेर प्रोत्साहित गर्दै छ । राज्यले नै बल गरेपछि जनतामा केही प्रभाव त पर्छ नै । अर्को कुरा मानिसहरू शिक्षित बन्ने प्रक्रिया तीव्र भएको छ ।
शिक्षित मानिसमा अलि बढी घुम्ने चरित्र हुने भयो । ध्यान दिनैपर्ने विषयचाहिँ के हो जस्तो लाग्छ भने व्यापारी र आजको राज्यले केवल पैसा खर्च गराउनलाई पर्यटनका निम्ति प्रोत्साहित गर्छन्, त्यसबाट जोगिनु जरुरी छ । घुम्दा पैसा र समय दुवै खर्च हुन्छ । समय भनेको जीवन हो र खर्च जीवनको सबैभन्दा महŒवपूर्ण कामका निम्ति हुन सकोस् भन्ने कुरामा सचेत हुनैपर्छ । त्यसैले घुम्नुलाई सकेसम्म पातलो मनोरञ्जन मात्र नबनाई थप ज्ञान आर्जनको कर्मसित पनि जोड्नु आवश्यक छ ।
(यो सामाग्री नयाँ पत्रिकाको झन नयाँबाट साभार गरिएको हो ।)
Leave a Reply