कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने नेकपाको निर्णय

दलित अनलाइन साउन ७, २०८३

काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको नेकपा कर्णाली प्रदेश संसदीय दलको बैठकले उक्त निर्णय गरेको दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बताए।

प्रमुख सचेतक जिसीका अनुसार नेपाली कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिँदै ३२ असारमा प्रदेशसभा सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय भएको हो । बुधबार बसेको नेपाली काँग्रेस संसदीय दलको बैठकले पनि मुख्यमन्त्रीविरुद्ध अविश्वासको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो।

नेकपाका ११ जना सांसद र नेपाली काँग्रेसका पाँच जना सहित १६ जना कर्णाली प्रदेशसभा सदस्यको हस्ताक्षरसहित साउन ३२ गते कर्णाली प्रदेशसभामा मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १५, नेकपाका १४, एमालेका १० तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद छन्।

आलोपालको सरकार सञ्चालनको सहमतिबाट मुख्यमन्त्री पछि हटेको भन्दै कांग्रेसले नेकपासँग सत्ता साझेदार गर्ने सहमतिका साथ प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो। दुई दलबिच भएको सहमति अनुसार कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा अघि सारिएको छ । प्रदेशसभामा दर्ता भएको अविश्वास पत्र संसदबाट पारित भएको खण्डमा मुख्यमन्त्री कँडेल पदमुक्त हुनेछन् ।

कर्णाली प्रदेशमा नेपाली काग्रेसको समर्थनमा नेकपा एमालेका यामलाल कँडेलले सत्ताको नेतृत्व गरिरहेका छन्। गत साता नेपाली काँग्रेसका मन्त्रीहरुले सामुहिक राजिनामा दिएपछि कर्णालीमा नयाँ गठबन्धनको खेल सुरु गरिएको थियो । नेपाली काँग्रेसबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी, जलस्रोत तथा उर्जा विकास मन्त्रीमा विजया बुढा र आर्थिक मामिला तथा योजना मन्त्रीमा राजिव विक्रम शाहले मुख्यमन्त्रीलाई राजिनामा बुझाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank