काठमाडौं — नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सम्पत्ति छानिबन आफूहरूबाटै सुरु गर्न प्रस्ताव राखेका छन्। आजको प्रतिनिधिसभा बैठकमा उनले प्रतिपक्षीको नेताको रूपमा आफू र सत्ताको नेतृत्वकर्ता प्रधानमन्त्रीको सम्पत्ति छानबिन गरी सुरु गर्नु पर्ने बताए।
‘म विपक्षी दलको नेता हो। मेरो नाम भीष्मराज आङ्देम्बे हो। मैबाट सुरु गरौँ। र, प्रधामन्त्रीजीबाटै गरौँ। अरुबाट होइन। सम्पत्ति छानबिनको सुरुआत हामीबाटै सुरु गरौं,’ उनले भने।
उनले प्रधानमन्त्रीले आर्जन गरेको सम्पत्ति अवैध नभएको आफूलाई विश्वास रहेको बताए। तर, जनताले यति धेरै सुन कहाँबाट आयो भनेर सोधिरहेको बताए ।

उनले प्रधानमन्त्रीको सम्पत्तिमा झन्डै दुई सय तोला सुन रहेको भन्दै मन्त्रीहरूको पनि सुन धेरै देखिएको बताए। ‘सुन आर्जनको स्रोत के हो? नेपाली जनताले जान्न पाउनुपर्छ,’ उनले भने।
पूर्वप्रधानमन्त्री, उच्च राजनीतिक व्यक्ति र कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने भन्दै प्रधानमन्त्रीलाई सम्पत्ति छानबिनका लागि तयार हो भन्दै प्रश्न गरे।
‘प्रतिपक्षी दलको नेताको रूपमा मबाट सुरु गरौँ । सत्ताको नेतृत्वको गरिरहनुभएको तपाईंबाट सुरु गरौँ। प्रधानमन्त्री तयार हो कि होइन? म तयार छु। छानबिन आफूमाथि नगर्ने अरुमाथि मात्रै गर्ने भन्ने हुँदैन,’ उनले प्रस्ट पारे।
सरकारका मन्त्रीहरू कानुन र कानुनको दायरामाथि रहेको उनले टिप्पणी गरे। सत्ता छानिछानी प्रतिसोधबाट अघि बढेको अनुभूति भइरहेको बताए। कानुन बनाएर मात्रै सम्पत्ति छानबिन गर्नुपर्ने उनको धारणा छ।


























Leave a Reply