काठमाडौँ — बलात्कारपछि हत्या भएकी सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा जोडिएका चार जनालाई सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन आदेश दिएको छ ।
जिल्ला अदालत सुर्खेतका न्यायाधीश दिपक ढकालको एकल इजलाशले उनीहरुलाई थुनामा पठाउन आदेश दिएको हो । चार जनाविरुद्ध जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोगपत्र दायर भएको थियो । चारै जना १८ वर्ष मुनिका भएका कारणले बालसुधार गृहमा पठाउन अदालतले आदेश दिएको छ ।

घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म थुनामै राखेर मुद्दा अघि बढाउने आदेश भएको अदालतका सूचना अधिकारी उज्वल रावलले बताए ।
गत २३ फागुनमा विद्यालय जान्छु भन्दै घरबाट निस्किएकी वीरेन्द्रनगर–१ कि १६ वर्षीय इनिशा वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन् ।
घटनामा प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै आइतबार चारै जनाविरुद्ध अदालतमा अभियोग दर्ता गराएको थियो । इनिशाको न्यायका लागि पीडित परिवार र अधिकारकर्मीहरुले आन्दोलन जारी राखेका छन् । इनिशाको शव २४ दिनयता कर्णाली प्रदेश अस्पतालको शव गृहमा छ ।


























Leave a Reply