महंगो वलिउड गीतलाई बिर्साउने कविराज गहतराजको ‘मैसाव’

हिरा विश्वकर्मा ११ फाल्गुन २०७८, बुधबार २०:०५

म पाल्पा तानसेन निवासी हुँ । मेरा जिजुबुवाहरु काठमाडौंबाट राणाहरुसँगै हतियार बनाउने कालीगढको रुपमा पाल्पा आएको भन्नेछ अत : उहाँहरुको संगत पाल्पा दरबारलाई आफ्नो वासस्थान बनाएका राणाहरुसँग हुने नै भयो । पाल्पालाई दोश्रो काठमाडौंको रुपमा लिइन्थ्यो किनभने पाल्पा दरवारमा जो प्रशासकको रुपमा पुग्थे उनीहरु श्री ३ हुने रोलक्रममा हुन्थे ।

२००७ को क्रान्ति हुनुभन्दा पहिले सो दरवारमा रुद्र शम्शेर जसलाई चिफ साहेब भनिन्थ्यो बस्थे, उनी तत्कालिन श्री ३ महाराज वीर शम्शेरका छोरा भएको हुँदा श्री ३ को दावेदार मानिथ्यो । अतः पाल्पा दरवारमा वस्ने ती रोलक्रमवाला राणाको शान शौकत काठमाडौंमा बस्ने उच्च ओहदावाला राणा भन्दा कम हुने कुरा भएन, अर्थात काठमाडौंका उच्चपदस्थ राणाहरुको जे व्यवहार थियो त्यो त्यहाँ रहने व्यक्तिको पनि थियो । हामी सानो हुँंदा हाम्रा आमाहरु सो दरवार भित्र हुने विभिन्न कुराहरु कथाको रुपमा सुनाउने गर्थे । सयौं कोठाहरु भएको सो दरवारमा खास गरि सुसारे र नोकरचाकरहरुको भीड हुन्थ्यो त्यस मध्ये धेरै जसो ती उच्चओहोदाका राणाको व्याईते र ल्याईते रानीहरु हुनुका साथै उनीहरुबाट जन्मिएका सन्तानहरु हुन्थे, ती सवै सन्तानहरुलाई आदरका साथ पुरुषभए राजा साहेव र महिला भए मैसाव भन्नु पथ्र्यो । त्यो बाहेक बाहिरबाट पनि हेर्दा सुन्दर देखिने किशोर अवस्था भन्दा पहिलेका बच्चीहरुलाई दरवारमा विभिन्न तरिकाले ल्याउने गर्थे, त्यो तरिकामा फकाई, फुलाई तर्साई सवै पथ्र्यो । त्यसरी दरवार छिराईएका किशोरीहरुलाई तालिम नानी भनि चिनिथ्यो ।

हाम्रा आमाहरुले भनेको कथा अनुसार ती तालिम नानीहरुलाई गीत संगीतको प्रशिक्षण दिईन्थ्यो र उनीहरुले किशोर अवस्थामा पुग्दासम्म प्राय जसो निपुर्ण कलाकार हुन्थे । उनीहरुको मुख्य काम भनेको दरवारमा रहेका राणा परिवारका पुरुषहरुलाई गीत, संगीत र नृत्य मार्फत  मनोरन्जन दिनु र पछि उनीहरुका यौनदासी हुनु । यहि तालिम नानी तथा यौनदासीहरुको कथालाई संयोजन गरेर वालकृष्ण समले प्रेमपिण्ड भन्ने नाटक लेखे र त्यसलाई फिल्मी रुप दिए यादव खरेलले । यस्तै तालिम नानीबाट फस्टाएकी नृत्यांगनाको कथालाई अत्यन्त सुन्दर ढंगले गीत मार्फत पस्किएका छन् नृत्य निर्देशक कविराज गहतराजले।

भविष्यमा पनि नृत्य निर्देशक कविराज गहतराजले यस्तै उत्कृष्ट श्रृजनाहरु दिदै जाने छन भन्ने आशा गर्न त सकिन्छ नै वलिउडमा नृत्य निर्देशकवाट सफल चलचित्र निर्देशक भएका फराहा खान, प्रभु देवा र रोमेन डिसुजाहरुको वाटो पहिल्याएर पनि एउटा सफल चलचित्र निर्देशक कविराज गहतराज बन्नेछन भन्ने आशा गर्न सकिन्छ ।

हुन त यो गीत युट्युवमा आज भन्दा करीव १ वर्ष अघि सार्वजनिक भएको थियो, यसले करोड भ्युज पाउन नसके पनि करिव ५५ लाखको भ्यूज पाएको छ । तर सम्पूर्णरुपमा तत्कालिन राणाकालीन परिवेशलाई जीवन्त रुपमा प्रस्तुत गरेको यो म्युजिक भिडियो आधुनिक तथा कौवाली शैलीको गीत मनपराउने दर्शकहरु माझ चीरस्थाई रहने् देखिन्छ । कविराज गहतराजको नृत्य निर्देशन हाम्रो कलिउड इन्डस्ट्रीमा कुन स्थान छ त्यो जानकारी भएन । तर उनले पाएका अनेक अवार्ड तथा उनले यसभन्दा अघि वुगी वुगी भन्ने डान्स रियालिटी शोको निर्णायक भएको देख्दा उनी एउटा अब्बल दर्जाका नृत्य निर्देशक हुन भन्न अन्य खोज गर्नु पर्दैन ।

यो गीतको संगीत संयोजन र गायन यसका गायकद्वय सत्य र स्वरुपराज आचार्य दाजुभाई छन् । हामीले तत्कालिन राणाकालीन गीत संगीतको बारेमा वुझ्नु पर्दा मेलवादेवीको गायनलाई सम्झिनु पर्छ । सुरुसुरुमा त राणाका दरवारहरुमा मञ्चन हुने नाटकहरुका भाषा पनि उर्दु हुने र गीत पनि त्यस्तै हुने भनिन्छ । अतः त्यही परिवेशको झझल्को दिने गरि यो मैसावगीतलाई संगीतकार र गायक द्वयले कौवालीशैलीमा प्रस्तुत गरेका छन । जुन अत्यन्त सान्दर्भिक र सुहाउदिलो देखिन्छ । यसको नृत्य र त्यसको संयोजनलाई हेर्दा लालदरवारको रुपमा परिचित होटल याक एण्ड यतिको भित्रि तथा बाहिरि परिवेशमा खिचिएको छ र केही दृश्यहरु हायात होटलमा पनि लिइएको छ । यसले निर्देशकको कल्पना शिलता र त्यसलाई नृत्यसँग संयोजन गर्न सक्ने क्षमताको प्रदर्शन गरेको छ ।

मलाई हाम्रा आमाहरुले भनेको कथा र निर्देशकले फिल्माउन सकेको परिवेश कसरी मेल खायो भन्नेमा अत्यन्त धेरै कौतुहलता जागेर आउँछ । यो गीतको शव्द संयोजन अमृत खतिवडा र सत्य स्वरुपले नै गरेका छन् । ती शव्दहरु पनि ती राणाकालीन परिवेशकै झझल्को दिने खालका छन् । कति सम्म भने वि सं १९१० मा पुरानो मुलुकी ऐन जारी भएको थियो र गीतको एउटा अन्तरामा मुलुकी ऐनको धारा चलाईश्यो भन्ने पनि मिलाइएको छ । यो गीतकी मुख्य नृत्यांगना जनजाति भित्रकी चोक्यला शेर्पा हुन, उनलाई यो गीतमा प्रस्तुत गर्दा राणाकालमा खास गरि तामाङ समुदायका बालिका तथा किशोरीहरुलाई नर्तकीको रुपमा विकास गरेको झझल्को दिन्छ, किनभने राणा दरवारभित्र हुर्केका बढेका किशोरीहरुलाई पनि सर्वसाधारण जनताले मैसाब नै भनि सम्वोधन गर्थे । अझै उनीहरुलाई राणा परिवारभित्रको उच्च ओहोदाका व्यक्तिहरुले ल्याइतेकै रुपमा विवाह गरे भने त महारानीकै दर्जा पनि पाउँथे । यो गीतका मुख्य नर्तक पल शाहको दोहोरो भूमिका रहेको छ । निर्देशकले पलशाहबाट पनि अत्यन्त राम्रो काम लिएको देखिन्छ ।

हुनतः अहिले प्रविधि धेरै अगाडि बढेको हुँदा एउटै फ्रेममा दोहोरो भूमिका देखाउन त्यति गाह्रो नहोला । तर पनि झट्ट हेर्दा एउटै फ्रेममा एउटै व्यक्तिबाट दुई फरक व्यक्ति जस्तो देखाउनु त्यति सजिलो काम भने हुन सक्दैन । पलशाहको नृत्यलाई कलात्मक र हास्यात्मक शैलीवाट कविराजले जुन देखाएका छन् त्यो पनि तारिफ योग्य रहेको छ । दुई प्रेमीहरुले एउटी प्रेमिकालाई प्रेम प्राप्तिको लागि जुन अनुनयन र विनयन गरेको देखाईएको छ त्यसले यो गीत हेर्ने दर्शकलाई भरपुर मनोरंजन दिन्छ । बलिउडका यस्तै प्रकारका गीतहरु वनाउन करोडौंको खर्च गरिएको हुन्छ भन्ने हामीले समाचारहरुमा पढ्छौं तर संभवतः आठदश लाखको लगानीमा त्यहि स्तरको भव्यता, शव्द र गीतको भावार्थ झल्किने नृत्य कलाकारहरुको प्रस्तुति हेर्दा कुनै पनि सफल बलिउडका गीत तथा नृत्यभन्दा यो मैसाबले भन्ने गीत कम छ भन्ने लाग्दैन । लगानी त चाहिन्छ नै तर शव्द, कला, संगीत र नृत्यको संयोजन र त्यसलाई प्रस्तुत गर्न सक्ने कल्पनाशिलता भयो भने तुलनात्मक रुपमा थोरै लगानीको गीत पनि उत्कृष्ट हुन सक्छ भन्ने यो गीत एउटा गतिलो उदाहरण हो ।

गीतको अन्त्यमा गायकद्वय सत्य र स्वरुप आफै कौवालको रुपमा प्रस्तुत भएका छन् । यसले गीतका वास्तविक श्रृजनाकारको परिचय त दिन्छ नै त्यसको साथै उनीहरुले कौवालको रुपमा लगाएको पहिरन, उनीहरुले गरेको अभिनय र विशेष गरी टोपीले पनि उनीहरुको प्रस्तुतिलाई एकदमै सिंगारेको छ । अहिलेको पुस्ताले यो शैलीको गीतलाई कत्तिको मन पराउँछ वा पछ्याउँछ त्यो त थाहा छैन तर जस्ले राणाकालीन कथा सुनेको छ वा पढेको छ त्यो पुस्तालाई मन परेरै होला यो गीतले करिव ५५ लाखको भ्युज पाउन सकेको । भविष्यमा पनि नृत्य निर्देशक कविराज गहतराजले यस्तै उत्कृष्ट श्रृजनाहरु दिदै जाने छन भन्ने आशा गर्न त सकिन्छ नै वलिउडमा नृत्य निर्देशकवाट सफल चलचित्र निर्देशक भएका फराहा खान, प्रभु देवा र रोमेन डिसुजाहरुको वाटो पहिल्याएर पनि एउटा सफल चलचित्र निर्देशक कविराज गहतराज बन्नेछन भन्ने आशा गर्न सकिन्छ ।

One response to “महंगो वलिउड गीतलाई बिर्साउने कविराज गहतराजको ‘मैसाव’”

  1. Dik Bishwakarma says:

    प्रख्यात लेखक, विश्लेषक, समीक्षक श्री हीरा विश्वकर्माको प्रस्तुत समीक्षात्मक लेख आद्योपान्त पढ़ेपछि मलाई बाल्यकालमा पढाई सिलसिलामा पाल्पा जिल्लाको सदरमुकाम तान्सेनमा बस्दा तेहाँका आफन्त अग्रजहरूबाट सुनेका र इतिहासको अध्ययन बाट तेसवारे जानेका कुराहरू जीवन्त भएर आए । यसमा वर्णित मैसाब गीत मैले ऐले सम्म सुन्ने सुआवसर पाएकोछैन , तापनि लेखकको यो प्रस्तुती पढेपछि धेरै जानकारी पाएँ, जो कि यथार्थमा आधारित छन् । अन्य पाठकहरूले पनि यो पढेर विगत अवस्थाको अनुभूति सहित यो गीत र कलाकार वारे धेरै जानकारी लिनु हुनेछ भन्ने विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank