सँस्कृतिका धरोहर गन्धर्व जाति

दलित अनलाईन २३ श्रावण २०७५, बुधबार ००:०७

गन्धर्व वा गाइने जाति नेपालकै अति कम जनसंख्या भएको लोपोन्मुख जाति हो । यो जातिको मुख्य वाहुल्यता कास्की जिल्लाको बाटुलेचौर भएता पनि अन्य विभिन्न जिल्लाहरु जस्तै, तनहुँ, लम्जुङ्ग, गोर्खा, चितवन, वाग्लुङ्ग, पाल्पा, दैलेख, सुर्खेत, भोजपुर, दाङ तथा जाजरकोट गरी नेपालको झण्डै ६९ जिल्लाहरुमा गन्धर्व जातिहरुको वसोबास रहेको पाइन्छ ।
नेपाली लोकसंगीत र रङ्गमञ्चको क्षेत्रलाई परापूर्वकालदेखि संरक्षण, संम्वद्र्धन र विकास गर्दै आएका लोक जीवनका संवाहक गन्धर्व जाति र तिनको वाद्यवादन सारंगी पनि एक हो । नेपाल एक वनजङ्गल भिरपाखा र खोलानालाले ढाकिएको देश हो । यहाँ आफ्नै प्रकारका स्थानिय क्रन्दन र शुसेलीहरु पाइन्छन् । विविध जातजाति तथा गाँउघरले भरिएको र विविध रीतिपरम्परा रहेको यो सुन्दर देशलाई आफ्ना पाईतलाले नाप्दै, यीनै जातजाति, वनजङ्गल, भिरपाखा, र खोलानाला संग मितेरी लाउदै नेपालका लोक गीत–संगीत, लोक जीवन र लोक सँस्कृतिलाई गन्धर्व जातिले आफ्नो मौलिक बाजा सारंगीको माध्यमबाट जीवन्त बनाई रहेका छन् ।
नेपालमा भएका हरेक राजनीतिक परिवर्तनमा गन्धर्व जातिको सहभागिता रहेको पाइन्छ । नेपाल एकीकरणको समयका हिरादेवी गाइने, मणिराम गाइने, बखतवीर बूढापृथीलगायतको योगदान र पछिल्लो समयमा २०६२÷६३ को जनआन्दोलनमा बालकलाकार रुविन गन्धर्वले खेलेको भूमिका महत्वपूर्ण छ । समग्रमा नेपाली कला र संगीतको मूल आधार नै दलित समुदायले धानेका छन् । तर,नेपालको विभिन्न भूगोलमा अवस्थित आम दलितहरुबीच भएका कला संस्कृतिहरु आधुनिकतासँगै भूमण्डलीकरणको प्रभाव तथा जातीय विभेदका कारणले विस्तारै छायाँमा परिरहेको छ ।
वीरताका गाथा, कर्खा, घटना, ठट्यौली तथा मनोरञ्जन र लोकगीतलाई मूर्त रुप दिई सजिवता प्रदान गर्ने गन्धर्वहरु नै हुन भन्ने कुरामा दुईमत छैन । प्रारम्भिक चरणमा गन्धर्वहरु धार्मिक गीत (भजन कीर्तन) र विरताका गाथा गाउँदै आएको पाइन्छ । आज आएर लोकगीतलाई (स्थानीय गीत) स्थायित्व गराई पेशाको रुपमा अपनाउँदै आएका छन् । यिनै लोकस्रष्टाका पे्ररणबाट आजकल अन्य जातिले पनि सारंगी बजाउने र बनाउने गरेको पाईन्छ । यस्तो विषम परिस्थितिलाई मध्यनजर गरी लोपोन्मुख गन्धर्व जातिमा रहेको मौलिक लोक तथा परम्परागत गीत, नाच, भाषा, सँस्कृति, नाटक र वाद्यवादनका बारेमा नयाँ पुस्तालाई जानकारी गराउने गन्धर्व जातिका परम्परागत सीप र कौशललाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उदेश्यले यो लेख तयार गरिएको छ ।

गन्धर्व जाति नामकरणको इतिहास  :
नेपालमा गाईने शब्द गायकको सट्टा यसरी प्रचलनमा आईसक्यो की त्यो सबैको जिब्रोबाट फुस्कि हाल्छ । विं.संं २००७ सालको परिवर्तन पछि पनि यिनीहरुलाई गाइने नै भनियो । नेपालमा कथित मुलुकी ऐन लागू भएपछि मात्र यिनीहरु प्रति केहि ध्यान गएको पाईन्छ । परम्परागत रुपमा गाईनेको सम्मानसूचक शब्द मिजार थियो । मिजार शब्दले जातिगत रुप दर्शाए पनि गन्धर्व शब्दले गाउने र बजाउने पेशा लिएका जन्मजात कलाकार भन्ने बुझाउँछ । यसर्थ, आज सम्मानजनक रुपमा गन्धर्व भनी संवोधन गरिनु न्यायसंगत देखिन्छ । चार वेदमध्ये सामवेदलाई सामगान पनि भनिन्छ । सामवेदमा पाँचै स्वर मात्र प्रयोग हुन्थे । वेद पछि विस्तार विस्तार गान्धर्व शैलीको संगीत विस्तार हुन थाल्यो । यसका प्रयोक्ता नारद, तुम्बुरु, विश्वावसु, चित्रसेन र अरु गन्धर्वहरु मिली अर्को एउटा गान्धर्ववेद खडा गरे । जसलाई पञ्चम वेद वा उपवेद पनि भािन्छ । चार उपवेदमा गान्धर्ववेद प्रमुख मानिन्छ । यसैले सामगान पछि गान्धर्ववेदलाई गन्धर्व गान भन्न थालियो देवाता र गन्र्धवले मात्र गाउने भएकोले यसलाई मार्ग अर्थात् अध्यात्म–संगीत पनि भनिन्छ । शास्त्रीय–संगतिलाई आज पनि र्वैदिक संगीत भन्ने गरिन्छ । धर्मग्रन्थहरुमा गन्धर्व जातिलाई गायक मानिएको छ । पछिका संगीत शास्त्रहरुमा पनि गान्धर्व गान र गान्धार ग्रामको उल्लेख भएको पाइन्छ । संगीत वर्णमालाको तेस्रो स्वर “ग” लाई संगीत शास्त्रानुसार गान्धार ग्राम नारद, तुम्बरु आदिले बाहेक मनुष्यले गाउन नसक्ने भएकोले हाल गान्धार ग्राम लोप भएको छ । यी सबै शास्त्रीय प्रमाणहरुबाट के भन्न सकिन्छ भने गाउने जातिको सोझो सम्बन्ध जति गन्धर्व शब्दमा प्रतिबिम्बित हुन्छ, त्यति अरु शब्दमा भएको पाइँदैन । यसैले शास्त्रका प्रमाणहरु, हाम्रा साँस्कृतिक परम्परा र उनीहरुको आजसम्मको संस्कारले पनि गाईनेलाई गन्धर्व नामले चिनाउनु उपर्युक्त देखिन्छ ।

सारंगीको मिठो सुरमा सवाई गाएर अन्य राज्यमा गोर्खाली राजाको कीर्ति फैलाउने गाईनेहरु प्रचारका ठूला साधन थिए । त्यसैले गाईनेको कदर थियो,मान थियो,व्यवस्था थियो । प्रधानमन्त्री माथविरसिंह सम्मले आफ्नो निजी गाईने राखेको विवरणबाटै गाईनेको त्यस बेला के स्थान थियो, सो थाहा हुन्छ ।

इतिहासको विभिन्न कालखण्डमा पनि सोझै गाइने शब्दको प्रयोग गरिएको पाइँदैन् । यसको सट्टामा अरु नै शब्दको प्रयोग गरिएको पाईन्छ । पृथ्वी मल्लको शाके १२७९ को दुल्लु कोटिस्तम्भको अभिलेखमा सबै कर माफ गरिएको जातहरु मध्ये “गायन” को पनि उल्लेख भएको छ । गायन शब्दले गायनकलासँग सम्बद्ध जातिलाई जनाउँछ । यसैगरि, जयस्थिति मल्लको अभिलेखमा पनि गायन शब्द कुँदिएको छ । यसले पनि गाउने पेशाको कुनै जातलाई जनाउँछ । श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानमा लँडाईका सामग्री फिरिस्तमा गाईनेको नाम र संख्या पनि किटिएको पाइन्छ । नुवाकोटको पहिलो हमलामा सारा गोर्खाली भारदारहरु सहित मनिराम गाईनेको नाम पनि आएको छ । यसबाट थाहा हुन्छकी गन्धर्व (गाइने) जातिले पनि नेपाल राष्ट्रिय एकिकरण र त्यस पछि पनि राष्ट्रिय एकता र सद्भाव कायम राख्नमा आफ्नो अमूल्य योगदान राष्ट्रलाई समर्पण गरेका थिए । सारंगीको मिठो सुरमा सवाई गाएर अन्य राज्यमा गोर्खाली राजाको कीर्ति फैलाउने गाईनेहरु प्रचारका ठूला साधन थिए । त्यसैले गाईनेको कदर थियो,मान थियो,व्यवस्था थियो । प्रधानमन्त्री माथविरसिंह सम्मले आफ्नो निजी गाईने राखेको विवरणबाटै गाईनेको त्यस बेला के स्थान थियो, सो थाहा हुन्छ । पछि सम्म पनि वीरगञ्जका भाँड (भाट) हरुले हरेक वर्ष नयाँ धुनको गाना रच्ने र गाइनेहरुले सारंगीमा धुन उतारेर गाउने चलन थियो । लोकगीतको प्रबन्ध गीतको पहिलो खुड्किला चढेको यस गीतिकाव्यको अग्रदूत आज बिलाउँदै गएको छ । पर्यटकलाई देखाउन र सुनाउन पनि आफ्नो परम्परागत बाजा सहजै उपलब्ध नभएर विशेष मिहिनेतसाथ खोजेर ल्याउनु पर्ने अवस्थामा पुगिसक्यो ।

अरबाजोः

सारंगीको पुरानो रुपलाई नै अरबाजो भनिन्छ । यसलाई भालेस्वर बाजा र सारंगीलाई पोथीस्वर बाजा भनिन्छ । विशेष प्रकारको धुन निकालेर काख माथि राखेर बजाईने गरिन्छ । काठको टुक्राले तारमा हानेर बजाईने गरिन्छ । यो बाजा गन्धर्व जातिको सबै भन्दा पुरानो बाजा हो । सारंगी भन्दा जेठो बाजा हो यो । यो बाजा एउटै काठको टुक्राबाट बनाईन्छ । यसको घाँटी लामो हुन्छ । त्यसको तल्लो भागमा बाख्राको छालाले मोढिएको हुन्छ । यसमा चारवटा तार रहेको हुन्छ । अरबाजो तिबेटियन टुंङना सँग धेरै मिल्दोजुल्दो रहेको हुन्छ । पोखराका स्वर्गिय मोहन बहादुर गन्धर्व कुशल अरबाजोबादक हुनुहुन्थ्यो । पूर्खाको मृत्युसँगै यो बाजा बजाउने पुस्ता समेत लोप भैसकेका छन् । हिजोआज यो बाजा प्रयोगमै आउन छोडिसकेको छ ।

सारंगीः पौराणिक लोकमतका अनुसार सारंगीको उत्पतिकाल वैद्धिक काल भन्दा अघि मानिएको छ । सारंगीको आकार निर्माण चाँहि घोडाको शरिरबाट भएको पाइन्छ । गोर्खाका गायक पूर्ण बहादुर गन्धर्वका अनुसार यर्थाथमा सारंगीको बनावट घोडाको शरिरबाट भएकोले यसको अंगको नाम पनि घोडाको झै टाउको, गाला, करङ, लगाम, पेट,(पुची) घोडी नामकरण गरिएको छ । सारंगीका अंगहरुमा सबैभन्दा माथिल्लो भाग कलश हो भने तार कस्नेलाई मुर्रा भनिन्छ । अन्य भागमा गलो, लोती, धनु, कम्मर, चाँप आदि हुन् । र्याई–र्याई रेटनलाई काठको धनुमा बाँधिने वस्तु सक्कली घोडाकै पुच्छरबाट जडान गरिएको हुन्छ । जडान गरिएको तार पनि घोडाकै आन्द्रबाट तयार गरिएको हुन्छ । तर, हिजोआज घोडाको आन्द्रा दुर्लभ भएकोले खसी बोकाको आन्द्रा वा प्यारासुतको धागोबाट काम चलाईन्छ । सारंगीको काठ भने दुधे खिर्रो, टुनी, पैयूँ, ओखर र आँपबाट पनि निर्माण गरिन्छ । नेपालमा तीन प्रकारका सारंगी पाइन्छ । ढोड सारंगी (घोर), मझौला सारंगी र टीप सारंगी (तार) । सात स्वर (सरगम) को प्रथम मूलस्वर सा (षडज) को रङ दिने र रञ्जकता पैदा गर्ने भएकोले सारंगी नाम रहेको पनि विश्वास गरिएको छ । सारङ चरा (रुपी) को जस्तो सुमधुर आवाज दिने भएकोले पनि यसको नाम सारंगी रहन गएको जनविश्वास रहेको छ । शुरुमा सारंगीको १ तार हुन्थ्यो । पछि ३ तारबाट पनि ४ तारमा विकसित भएको छ ।

भाषा : गन्धर्व जातिको आफ्रनै मौलिक भाषा पनि रहेको छ । जुन भाषा आज सम्म पनि प्रयोगमा रहेको पाईन्छ । तर,थप खोज अनुसन्धान तथा संरक्षणको अभावमा लोप भैसकेको अवस्था छ । गन्धर्व जातिको आफ्नै संगति पिङगुल स्वर लिपी पनि रहेको छ । जुन लिपीमा लेखिएको पुस्तकहरु पढ्न सक्ने कोही पनि अग्रजहरु अब जीवित हुनुहुन्न । केहि वर्ष अघि सम्म गोर्खामा एक जना रहनु भएको कुरा थियो ।

खश नेपाली भाषा         गन्धर्व भाषा
जाँड                             शेर्नो
सँङ्लो                         खुम्सो
रक्सी                           सँङ्लो
मासु                           खुम्सो
ब्राम्हण÷                       क्षेत्री खिष्ट
भात                            जाऊलो
बा (पिता)                     खिबाऊ
छोरा                             छिम्को
छोरी                              छिम्की
श्रीमती ,स्वास्नी                ख्याऊली
रुपैयाँ, पैसा                         फुर्चो
राजा                               शेरुवा
रानी                                शेरुविनी
नेपालको तहगत जातीय संरचनाको भाष्यमा फसेका गन्धर्व जातिमाथि समाजशास्त्रीय अध्ययनमा समेत विभेद गरिएकोले भाषाशास्त्रीको नजरमा समेत पर्न सकेको छैन् । उनीहरुको भाषा माथि गहन अध्ययन अनुसन्धानमा राज्यको ध्यान जान सकेमा गन्धर्व जातिले समेत विर्सिएको र लोप भैसकेको भाषा जीवित रहने थियो ।

नेपालमा तीन प्रकारका सारंगी पाइन्छ । ढोड सारंगी (घोर), मझौला सारंगी र टीप सारंगी (तार) । सात स्वर (सरगम) को प्रथम मूलस्वर सा (षडज) को रङ दिने र रञ्जकता पैदा गर्ने भएकोले सारंगी नाम रहेको पनि विश्वास गरिएको छ । सारङ चरा (रुपी) को जस्तो सुमधुर आवाज दिने भएकोले पनि यसको नाम सारंगी रहन गएको जनविश्वास रहेको छ । शुरुमा सारंगीको १ तार हुन्थ्यो । पछि ३ तारबाट पनि ४ तारमा विकसित भएको छ ।

मौलिक चाडः अन्य जातिको जस्तै गन्धर्व जातिको आफ्नै मौलिक चाडबाड रहेको पाईन्छ । संगीत सँस्कृतिमा धनी यो जाति जन्मदेखि मृत्युसम्म संगीतमय हुने यो जातिको आफ्नै केहि मौलिक चाड पनि रहेको पाईन्छ । नागपञ्मी र सरस्वती पुजाको दिन पूख्र्यौली मौलिक लोकबाजा सारंगीको पुजा गरी नाचगान गर्ने, रमाउने, मिठो मसिनो खाने, आफन्तकहाँ जाने, भेटघाट गर्ने खुशी साट्ने गर्दछन् । हिन्दू धर्मबाट प्रभावित गन्धर्व जाति माईदेवि, चण्डीपार्वती र सरस्वतीको पुजा गर्दछन् । महादेव गणेश नागपञ्चमी र सत्यनारायणको पुजा गर्छन । अकालमा मृत्यु भएकाहरुको मुक्तिको लागि खोलाको तीरमा गएर बायुको पुजा पनि गर्दछन् ।
गन्धर्व नाच सँस्कृति :
गन्धर्व जातिको आफ्नै मौलिक नाच सँस्कृति पनि रहेको पाईन्छ । जसलाई छोटकरीमा तल चर्चा गरिएको छ ।
१) जैलपत्ता नाचः यो नाच नाँच्दा “रामुन्नचल्यो बच्छै” बोलको गीत गाईन्छ । विशेष चाडपर्व, विवाह, अवसरहरुमा र माघ महिनामा पर्ने सिरा पञ्चमीमा नाच्ने गरिन्छ । यो नाचमा विशेष पोशाक लगाउने गरिन्छ । सेतोमा कालो कोठे रंगको दौरा सुरुवाल लगाईन्छ । सेतो फेटा, ढाकाको टोपी, सेतोमा कालो कोठे गाडो यसलाई घाँटीमा झुन्ड्याईन्छ । कम्मरमा सेतो पटुका बाँधिन्छ । तीन देखि सात जना सम्मको समूहमा हातमा तरवार वा ढाल अरबाजो, सारंगी लिएर दाँया–बाँया घुम्दै फूर्तिसाथ खाली खुट्टाले नै यो नाच नाच्ने गरिन्छ ।

२) झाउँर्या नाचः घुमफरिको क्रममा गन्धर्व र वादी जातिले यो नाच नाच्ने र विकास गरिएको पाईन्छ । यस नाचमा मादल र सारंगी मुख्य बाजा हो । यो नाच गन्धर्व र वादीले नाचे पनि पछिल्लो कालमा दमाई, कामी,सार्की, कुलाला र हुड्रक्याहरु प्नि सक्रयि भएको पाईन्छ । अन्य समुदायको घरमा विशेष, अवसर, चाडपर्वमा आमन्त्रण गरि नाचको पनि आयोजना गर्ने गरिन्छ । यो नाचमा पुरुषले महलिाको गरगहना र पहिरण लगाएर सिंगारिएका हुन्छन् र तिनीहरु हाँस्य र व्यङ्गयकारको रुपमा पनि देखिन्छन् । यस नाचका नर्तकको गोडामा चाँप (चुटुकी) लगाईएको हुन्छ । गन्धर्व र वादी बाहेक हिजोआज क्षेत्री ठकुरीहरुले पनि यो नाच नाचेको पाइन्छ ।
आादिम सञ्चारकर्मीःगन्धर्वः जुन समय नेपालमा सूचना आदन–प्रदानको लागि भरपर्दो कुनै पनि माध्यमको विकास भएको थिएन । सो समयमा टेलिफोन, टेलिभिजन, रेडियो आविष्कार र विकास भएकै थिएन । त्यतिबेला देशका कुनाकाप्चा, गाँउघरका घर, आँगन दैलो–दैलोमा राष्ट्र र राष्ट्रियताको सन्देश सुनाउने यिनै गन्धर्व जाति थिए । सुख–दुखका खबरबाहक र परि आएमा राष्ट्रका लागि मरिमेट्न तयार पार्न यिनै गन्धर्वले भूमिका खेल्दथे । राष्ट्र भक्ति र सुषुप्त वीरतालाई जगाई रणसंग्राममा जान उद्यत बनाँउथे । एक गाँउको भलाकुसारी अर्को गाँउमा पुर्रयाँथे । टिस्टादेखि पश्चिमकिल्ला काँगडासम्म पनि देश र जनताको प्रतिनिधि भई यिनै गन्धर्व गाउँदा–गाउँदै पुग्थे । स्वदेश वा विदेश जहाँँ पुगे पनि नेपाल र नेपालीको सुख–दुख, आँशु हाँसो,पीर व्यथाका भाव पोख्दै आफ्नो मातृभूमिको महिमापूर्ण गीत बिर्सदैनथे । नेपालका मुलवासी सांगीतिक जाति गन्धर्व ।

गीत संगीतका सर्जकः नेपाली गीत संगीथतको तस्नै विधा गायन, वादन र नर्तनमा गन्धर्व जातिहरुको ठूलो योगदान रहेको विदितै छ । आफ्नो जीवनलाई गायनको साधन मानेर यसलाई यीनीहरुले समर्पित भावले अपनाएका छन् । उनीहरुको पूख्र्यौली कलालाई ब्राम्ह्णवादी कोणले हेयको दृष्टिले हेरिए पनि वास्तवमा नेपाली गीत संगीतको श्रीवृद्धिमा उनीहरुको ठूलो सांगीतिक पृष्ठभूमि र परम्परागत आधार रहिआएको छ । जन्मजात नशा–नशा, रगत–रगतमा सानैदखि उनीहरु गाउन र बजाउन सिक्दछन् । चार पाँच वर्षको अभ्यास पछि उनीहरु आफ्नो कलाकारिता प्रदर्शन गर्न समर्थ भैसक्छन् । बिहान, दिउँसो, साँझ देखि फरक–फरक ऋतुका फरक–फरक सारंगीका धुनहरुले प्रकृतिलाई नै संगीतमय बनाईदिन्छ । आफ्नै भाका र भेष, आफ्नै लोक संगतिको चोखो शैली यिनीहरुले आज सम्म कायम राख्तै आएका छन् । यिनीहरुले कतिपय अलिखित इतिहास र वंशावली उनीहरुका कण्ठमा मौखिक सम्पदाको रुपमा सुरक्षित रहँदै आएको छ । यसरी लोक संगीत र नेपाली मौलिक सँस्कृति बचाई राख्नमा गन्धर्व जातिको ठूलो योगदान रहेको छ ।
विशिष्ट गायन शैलीः गन्धर्व जातिमा कुनै पनि गीत गाउन सक्ने विलक्ष्ण प्रतिभा रहेको हुन्छ । तर, उनीहरुको ऐतिहासिक विशेषताले भरपूर गीत हो– वीरगाथा “कर्खा” । कर्खा गन्धर्वहरुले मात्रै गाउने वीरहरुको गाथा हो । कर्खा गोर्खाका संस्थापक द्रव्य शाहदेखि राष्ट्रपिता त्रिभुवनसम्मको गाइएको पाईन्छ । यसैगरी, अरु गोर्खाली वीरहरुका पनि कर्खा चलेका छन् । पृथ्वीनारायण शाहको वीरगाथा कर्खा,सवाई,चरित्र,चाँचरी, मंगलधुन,बाह्मासे गीत,घट्नाप्रधान गीत, ठट्टा, रमाईलो प्यारोडी गीत, झ्याउरे ठेट लोकगीत, लाहुरेको सन्देश र डाँफे र मुरली चराको गीत गन्धर्व जातिको मौलिक सिर्जना पनि हो । कास्की, पोखरा, बाटुले चौरका गन्धर्वहरुले हिमालको डाँफे र तराई÷मधेशको मुरली चरीको विवाह गराएर कर्खा रचेका छन् । अतः डाँफे र मुरलीको कर्खा हिमाल, पहाड र तराई÷मधेशको भावनात्मक एकताको प्रतिक पनि हो । किन भने धोती पनि हाम्रै हो,टोपी पनि हाम्रै हो । धोतीले हाम्रो लाज छोप्छ, टोपीले हाम्रो शान बढाउँछ । धोती न टोपी भयो भने हामी कंगाल हुन्छौ भन्नुहुन्छ वरिष्ठ सँस्कृतिविद्ध जगमान गुरुङ ।

निष्कर्ष तथा सुभाव

हाल नेपालको जनसंख्या झन्डै तीन करोड रहेको छ । नेपालका १२५ जाति मध्ये गन्धर्व जाति पनि एक हो । वि.सं. २०५८ सालको जनगणनानुसार गन्धर्वहरुको मात्रै ५ हजार आठ सय ८७ रहेको छ । अर्थात, नेपालको कृ्ल जनसंख्याको ०.२१ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । वि.सं. २०६८ सालको जनगणना अनुुसार गन्धर्व जातिको जनसंख्या ६ हजार सात सय ९१ छ, जसमध्ये कास्कीमा ६ सय २४ जना रहेका छन् । कास्कीमा मात्रै एक सय २४ घरधुरीमा ६५ वटा त पोखराको बाटुलेचौरमा छन् । यो जातिको मुख्य वासस्थान कास्की जिल्ला हो भने अन्य विभिन्न जिल्लाहरुमा वाग्लुङ्ग, पाल्पा, दैलेख, सुर्खेत, भोजपुर तथा जाजरकोटमा पनि यिनीहरुको वसोबास रहेको पाइन्छ ।
कला कौशल, सीप–प्रविधि र सृजनशीलतामा राष्ट्रिय स्तरमै अब्बल भए जस्तै साँस्कृतिक रुपमा पनि गन्धर्व जाति अगाडी नै रहेको छ । तर, नेपालको तहगत विभेदपृ्र्ण जातीय संरचना, अज्ञानता, आफनो कलासँस्कृति संरक्षणप्रति चेतनाको अभाव, गहिरो खोज अनुसन्धानको कमी, सँस्कृतिको संरक्षणमा राज्यको उदासिनताले गर्दा गन्धर्व जातिको मौलिक लोकसँस्कृति लोप हुने अवस्थामा रहेको छ । अहिले सम्म पनि अपेक्षाकृत उनीहरुको विशिष्ट कलासँस्कृतिको अध्ययन अनुसन्धान हुन सकेको छैन । त्यसको विस्तृत अध्ययन अनुसन्धान र खोजविन गर्नुपर्ने खाँचो अहिले सम्मको स्थितिले पुष्टि गरेको छ । जातीय विभेदका कारणले गर्दा नै आज गन्धर्व जातिको मौलिक जातीय कलासँस्कृति लोप भैरहेको अवस्था छ । लोपोन्मुख गन्धर्व जातिमा रहेको मौलिाक लोक तथा परम्परागत गीत, नाच, भाषा, सँस्कृति, नाटक र वाद्यवादनको अभिलेखीकरण, संरक्षण, सम्वद्र्धन र विकास हुन सकेको छैन । गन्धर्व जातिका नयाँ पुस्तामा समेत आफ्नो जातिय लोक संस्कृति प्रति विकर्षण बढ्दै गएको पाईन्छ । अमूर्त सांस्कृतिक सम्पदा संरक्षणमा राज्यको उदासिनता, समुदायमा आर्थीक अभाव, जातिय भेदभाव, विश्वव्यापीकरणको प्रभाव, वैदेशिक रोजगारी, शिक्षा र चेतनाको कमि, र गन्धर्व कला संस्कृतिलाई सम्बन्धित समुदायमा राज्यले जिविकोपार्जन सँग नजोडिदिँदा गन्धर्व जाति र संस्कृतिनेै लोप हुने अवस्थामा रहेको छ ।
गन्धर्व जातिमा मात्रै प्रचलनमा रहेको सारंगीका लोपोन्मुख राग÷धुनको अनुसन्धान गरी श्रब्य, दृष्य छायांकन गरी त्यसलाई प्रकाशन समेत गरी अभिलेखीकरण गरिनु पर्दछ । यसले आम गन्धर्व जातिको बौद्धिक अमूर्त साँस्कृतिक सम्पदाको संरक्षणको सुनिश्चितता गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा यसलाई व्यावसायिक विकास गरिने संभावना रहेको छ । यसबाट गन्धर्व जातिको मौलिक सीप, कला, प्रविधि तथा सङ्गीत संस्कृतिको पहिचान, संरक्षण र प्रवद्र्धनमा समेत पर्याप्त योगदान पुग्नुका साथै परम्परागत अमूर्त सांस्कृतिक धरोहरहरूको संरक्षणमा नयाँ पुस्तको सहभागिता पनि बढ्ने छ । सरकारले स्थापना गरेको विभिन्न एकेडेमीहरुमा अक्सर राजीतिक झुकाव राख्नेहरुकै नियुक्ति हुने गरिएकोले गन्धर्व जातिले उचित स्थान आज सम्म पाउन सकेका छैनन् । संगीत सँस्कृतिको हिसाबले नेपाल मात्रै नभएर विश्वकै लागि अमूल्य रहेको सारंगीलाई विश्वसम्पदा सूचीमा सूचीकरण गरिनु पर्दछ ।

गन्धर्व जातिमा मात्रै प्रचलनमा रहेको सारंगीका लोपोन्मुख राग÷धुनको अनुसन्धान गरी श्रब्य, दृष्य छायांकन गरी त्यसलाई प्रकाशन समेत गरी अभिलेखीकरण गरिनु पर्दछ । यसले आम गन्धर्व जातिको बौद्धिक अमूर्त साँस्कृतिक सम्पदाको संरक्षणको सुनिश्चितता गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा यसलाई व्यावसायिक विकास गरिने संभावना रहेको छ ।

राज्यले छुट्टै प्रतिष्ठान स्थापना गरेरै भए पनि नेपालको सांगीतिक जाति गन्धर्वलाई सँस्कृतिको मुलप्रवाहमा ल्याउनै पर्दछ । आधुनिक आर्केष्टाको निर्माण गरि उनीहरुको गीत संगीतलाई आधुनिकीकरण गरिनु पर्दछ । संगीत सहचारीको रुपमा विभिन्न देशको राजदूतावासहरुमा उनीहरुलाई नियुक्तिको व्यवस्था गरिनु पर्दछ । कस्मेटिक प्रकारको वर्तमान गीत संगीतको बाढीमा गन्धर्व जातिलाई उनीहरुको मौलिकपन बचाउन निकै हम्मेहम्मे परिरहेको छ । भीडहरुको बीचमा गन्धर्व जातिको विशेष स्थान रहेको छ । तर, यसबाट जीविकोपार्जन हुन नसकेकोले अरु कामबाट आम्दानी हुने, सारंगी बजाएर गुजारा नहुने र गन्धर्वको सामाजिक प्रतिष्ठामा समेत जातीय भेद्भावको शिकार बन्नु परिरहेको छ । सामन्ती व्यवस्थाको राप र तापले सारंगी बजाएर मनोरञ्जन गर्ने, गराउने यी लोकप्रिय सांगीतिक जाति गन्धर्व र सारंगी लोप हुने अवस्थामा पुगेका छन् । उनीहरुको मौलिक साँस्कृतिक सम्पदा संरक्षणको लागि राज्यले विशेष साँस्कृतिक नीति बनाई लागू गर्नु पर्दछ । बिडम्बना राज्यले साँस्कृतिक नीति निर्माणको चरणमा छलफलमा सहभागिता समेत गराउन चाँहदैन । सर्वव्यापी, प्रभुत्ववादी शक्तिशाली जातीय प्रथाले मूलतः राज्य अहिले पनि एकात्मक एकल जातिवादी मानसकिताबाट बाहिर आउन सकेको अवस्था छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank