काठमाडौं — हिन्दू, बौद्ध र किरात धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र हलेसी महादेव मन्दिरभित्रै पुजारीले जातीय आधारमा गाली–गलौज र कुटपिट गरेका छन् ।
हलेसी तुवाचुङ्ग नगरपालिका–७ का युवराज शंकर विकले मन्दिरका पुजारी गोपाल गिरीले आफूलाई जातीय आधारमा अपमान गर्दै कुटपिट गरेको भनि राष्ट्रिय दलित आयोगमा उजुरी दर्ता गराएका छन् ।
विकका अनुसार साउन १८ गते मन्दिरभित्रै पुजारी गिरीले जातीय आधारमा अपमानजनक शब्द प्रयोग गर्दै आफूमाथि कुटपिट गरेका थिए । घटनामा संलग्नमाथि निष्पक्ष छानबिन गरी कानुनबमोजिम कारबाहीको माग गर्दै उनले बुधाबार आयोगमा उजुरी दिएका हुन् ।

दलित समुदायको व्यक्तिहरुसँग यसअघि पनि पटक पटक जातीय विभेद गरेको दावी गदैँ पुजारीसँग मन्दिर व्यवस्थापन समितिका अध्यक्ष, वडा अध्यक्षसहित ८ जनाविरुद्ध उजुरी दर्ता गरेका विकले बताए । ‘हामीमाथि पटक पटक विभेद भएको छ, मन्दिरभित्रै हातपात गर्ने पुजारीलाई कानुनी कारबाही हुनुपर्छ । ’
धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने हलेसी महादेव मन्दिरभित्रै पुजारीबाट जातीय विभेदका घटनाको उजुरी दलित आयोगमा दर्ता भएको दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले बताए ।
‘युवराज शंकर विकले हिजो आयोगमा कानुनी कारबाहीको लागि उजुरी दर्ता गराउनु भएको छ , त्यसको अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडी बढ्छौं । ’


























Leave a Reply