एनआरएनए डेभलपमेन्ट फण्ड : १० अर्ब लगानीका लागि ८५ प्रतिशत आइपिओ जारी गर्न स्वीकृति

दलित अनलाइन साउन २७, २०८३

काठमाडौँ —  गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गत सञ्चालित एनआरएनए नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडले प्रस्ताव गरेको १० अर्ब रुपैयाँ बराबरको लगानी परियोजना छिट्टै कार्यान्वयनमा आउने भएको छ।

मंगलबार सरकारले आवश्यक कानुनी तथा प्रक्रियागत स्वीकृति पूरा गरेपछि आइपिओ जारी गर्ने बाटो खुलेको हो। फण्डमा १० अर्ब रुपैयाँको लगानीमध्ये ८५ प्रतिशत शेयर विदेशमा रहेका नेपालीहरूलाई आइपिओमार्फत वितरण गर्ने प्रस्ताव गरिएको थियो।

यसअघि ५१ प्रतिशतसम्म मात्र स्वीकृति प्राप्त भएकामा सरकारले अहिले ८५ प्रतिशत शेयर आइपिओमार्फत वितरण गर्न स्वीकृति दिएको छ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. हेमराज शर्माले हालै आयोजित एनआरएनए युरोप क्षेत्रीय सम्मेलनमा एनआरएनए नेपाल डेभलपमेन्ट फण्डको काम तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

सरकारको निर्णयलाई एनआरएनएका प्रमुख संरक्षक बद्री केसीले गैरआवासीय नेपालीहरूको सामूहिक लगानीमार्फत देशको समृद्धिमा सहभागिताका लागि ऐतिहासिक सफलता भनेका छन्।

उनका अनुसार फण्डमा नेपाल सरकारको ५ प्रतिशत, प्रमोटरहरूको १० प्रतिशत तथा विश्वभरका गैरआवासीय नेपालीहरूबाट प्रारम्भिक शेयरमार्फत ८५ प्रतिशत लगानी जुटाउने नियमावली पास भएको छ। उक्त फण्डमा एक व्यक्तिले १ लाखदेखि १० करोडसम्म लगानी गर्न सक्ने प्रावधान रहेको छ।

उनले यस कार्यका लागि अथक रूपमा मेहनत गरिरहने सम्पूर्ण अभियानीहरू, फण्डको सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, नेपाल सरकार तथा सम्पूर्ण सरोकारवालाहरूलाई हार्दिक धन्यवाद तथा बधाईसमेत दिएका छन्।

त्यस्तै, उपाध्यक्ष रोजिना प्रधान राईले विगत सात वर्षदेखि निरन्तर प्रयास हुँदै आएको यस परियोजनाले अब मूर्त रूप लिने बाटो खुलेको बताइन्।  उनले एनआरएनए डेभलपमेन्ट फण्डको प्रस्तावित १० अर्ब रुपैयाँको लगानी परियोजनाका लागि आवश्यक कानुनी तथा प्रक्रियागत स्वीकृति प्राप्त हुनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank