देवानगन्ज गोलीकाण्ड : उपचारका क्रममा अर्का घाइते रवीन्द्र मेहताको मृत्यु

दलित अनलाइन साउन १९, २०८३

काठमाडौँ —  सुनसरीको देवानगन्ज गाउँपालिका– ३, कप्तानगन्जमा दुई समूहबिच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका अर्का युवकको उपचारका क्रममा मृत्यु भएको छ।

मंगलबार बिहान देवानगन्ज– ३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारकै क्रममा निधन भएपछि घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लका अनुसार रवीन्द्रको मृत्यु भएको जानकारी मंगलबार बिहान प्राप्त भएको हो। उनी १० साउनको घटनामा बायाँ तिघ्रामा गोली लागेर गम्भीर घाइते भएका थिए। प्रारम्भिक उपचारपछि उनलाई विराट नर्सिङ होमबाट थप उपचारका लागि काठमाडौंको शिक्षण अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको बायाँ खुट्टा काटिएको थियो।

१० साउनमा दुई समुदायबिच भएको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा १० जना गम्भीर घाइते भएका थिए। घटनाकै दिन देवानगन्ज– ४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने देवानगन्ज– ३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको थियो।

सरकारसँग सातबुँदे सहमति भएपछि शुक्रबार दुवै मृतकको शव गोली चलेको स्थानमै अन्त्येष्टि गरिएको थियो। यसै घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गणेश यादवको पनि मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank