काठमाडौँ — जिल्ला प्रशासन कार्यालय काठमाडौंले मनसुन सक्रिय भएसँगै सडकमार्गबाट काठमाडौं आउने–जाने यात्रु तथा सवारी चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गर्दै ‘ट्राभल अलर्ट’ जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा जल तथा मौसम विज्ञान विभागले केही क्षेत्रमा भारी वर्षाको ‘रेड अलर्ट’ जारी गरेको उल्लेख गर्दै बाढी, पहिरो र सडक अवरुद्ध हुने जोखिमलाई मध्यनजर गरी यात्रा गर्दा सावधानी अपनाउन भनिएको छ।
प्रशासनले विशेषगरी रातिको समयमा यात्रा गर्दा थप सतर्क रहन, यात्रा अघि सम्बन्धित सडक खुला वा अवरुद्ध रहेको जानकारी लिन तथा सडक अवरुद्ध भए सुरक्षित स्थानमै रोकिन आग्रह गरेको छ।
यात्राका क्रममा आवश्यक खानेपानी र खाद्य सामग्रीको व्यवस्था गर्न तथा प्रहरीबाट सडक सञ्चालन भएको पुष्टि भएपछि मात्र यात्रा अघि बढाउन प्रशासनले अनुरोध गरेको छ।

आपत्कालीन अवस्थामा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरी बलका हेल्पलाइन नम्बर १००, १०३, १११४ र ११४४ मा सम्पर्क गर्न पनि प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।


























Leave a Reply