आत्मदाह प्रयास गरेका गणेश नेपालीको अन्तिम संवाद- दाइ, मेरो गल्ती थिएन

दलित अनलाइन असार २६, २०८३

काठमाडौं —   त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको निधन भएको छ।

उनको निधनअघि वीर अस्पतालमा उपचारका क्रममा दाइ मदन नेपालीले भाइसँग भएको अन्तिम संवाद सम्झिँदै भावुक अभिव्यक्ति दिएका छन्।

वीर अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मदनले गणेशले आफूलाई अन्तिम अवस्थामा पनि ‘मेरो गल्ती थिएन’ भनेर पटक–पटक भनेको बताए।

मदनका अनुसार घटनाको अघिल्लो दिन गणेश र उनकी श्रीमती उनको कोठामा आएका थिए। साँझ करिब ९ बजेतिर गणेश बाहिर निस्किएका थिए। दुर्गम क्षेत्रबाट आएका कारण काठमाडौंमा मासु खान कठिन हुने गरेको उल्लेख गर्दै मदनले गणेशले खसीको खुट्टा ल्याएको र आफूलाई पकाइदिन भनेको सुनाए।

‘दाइ उठ्नुस् न बनाउनू भनेर उसले भनेको थियो। मैले भयो छाड भनेँ । त्यसपछि उसले त्यही भात खाएर सुत्यो,’ उनले भने।

घटनाको दिन बिहान आफूले गणेशलाई बाइकको किस्ता तिर्नुपर्ने भएकाले पठाओ चलाउन जान भनेको मदनले बताए। त्यसपछि गणेश बाइक लिएर बाहिर निस्किएको उनले सुनाए ।

‘मैले बिहान भनेँ–गणेश उज्यालो भयो, पर्सि बाइकको किस्ता बुझाउने दिन आइसक्यो। पठाओ गर्न जाऊ भनेर भनेँ,’ मदनले भने, ‘ऊ उठेर बाइक निकाल्यो । छिमेकीलाई असर नहोस् भनेर बाइक बाहिर लगेर स्टार्ट गरेको थियो।’

गणेश बिहान निस्किएपछि दिउँसोसम्म पनि घर नफर्किएपछि आफूले पर्खिरहेको उनले बताए। दिउँसो साढे २ बजेतिर प्रहरीको फोन आएपछि मात्र घटनाबारे जानकारी पाएको उनले बताए ।

‘प्रहरीको नम्बरबाट फोन आयो । तपाईंको मान्छेले पेट्रोल छर्केर यहाँ घटना गर्नुभएको रहेछ । वीर अस्पताल आउनुस् भन्नुभयो,’ उनले भने, ‘म तीन बजे अस्पताल आइपुगेँ।’

अस्पतालमा भेट्दा गणेशको बोली कमजोर अवस्थामा रहेको र उनले केही शब्द बोलेको उनले बताए ।

‘दाइ, बाबा–मम्मीलाई राम्रो गर्नुस् भनेको भन्यै ग¥यो,’ उनले भावुक हुँदै भने, ‘त्यसपछि उसले दाइ मेरो गल्ती थिएन है भनेर दुई पटक भन्यो।’

मदनका अनुसार गणेशले आफूले गल्ती नगरेको भन्दै ह्वील लक र ट्राफिक कारबाहीको कुरा गरेका थिए ।

‘मैंले कसको के भएको हो भनेर सोधेँ । उसले मेरो गल्ती थिएन, त्यो ह्वील लक लायो, ह्वील लक लगाउँदा–लगाउँदै ट्राफिक आएर त्यस्तो भयो भन्यो,’ मदनले भने ।

त्यसपछि गणेशको बोली बन्द भएको र थप कुरा गर्न नसकेको उनले बताए । गणेशको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

agni

side bar 24- nepal top

side bar 10- gbl

side bar 19- national life

blog 1- mega bank