काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर संगठन विस्तार अभियानअन्तर्गत ५६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ भने १२ जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको जनाएको छ ।
पार्टीले शनिबार र आइतबार दुई चरणमा जिल्ला अधिवेशन सञ्चालन गरेको थियो । शनिबार ३८ जिल्लामा अधिवेशन सम्पन्न भएको थियो भने आइतबार २८ जिल्लामा अधिवेशन सुरु गरिएको र अधिकांश स्थानमा नयाँ कार्यसमिति चयन भइसकेको रास्वपाले जनाएको छ ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार कोशी प्रदेशका झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, पाँचथर, ओखलढुङ्गा, सुनसरी, सोलुखुम्बु, खोटाङ, इलाम र धनकुटामा अधिवेशन सम्पन्न भइसकेको छ भने उदयपुरमा निर्वाचनको तयारी भइरहेको छ । मधेस प्रदेशमा महोत्तरी, रौतहट, सिरहा, पर्सा र सर्लाहीमा अधिवेशनपछि निर्वाचन प्रक्रिया अघि बढाइएको छ । सप्तरी र बारामा आज तथा धनुषामा मङ्गलबार अधिवेशन हुने पार्टीले जनाएको छ ।

बागमती प्रदेशका अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भइसकेका छन् । सिन्धुपाल्चोकमा भने अधिवेशन स्थगित गरिएको छ ।
गण्डकी प्रदेशमा स्याङ्जा, कास्की, पर्वत, लमजुङ, म्याग्दी, तनहुँ र गोरखामा अधिवेशन सम्पन्न भएको छ । बागलुङमा भने उजुरी परेपछि प्रक्रिया हालका लागि रोकिएको छ भने नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा निर्वाचन प्रक्रिया चलिरहेको छ । लुम्बिनी प्रदेशका सबै जिल्लामा अधिवेशन सम्पन्न भएको र कर्णाली तथा सुदूरपश्चिमका अधिकांश जिल्लामा पनि संगठन विस्तार पूरा भएको रास्वपाले जनाएको छ ।
पार्टीका अनुसार कर्णालीका कालीकोट, सल्यान, रुकुम पश्चिम, मुगु र जुम्लामा अधिवेशन सकिएको छ भने सुर्खेत, जाजरकोट र दैलेखमा निर्वाचन प्रक्रिया चलिरहेको छ ।
त्यस्तै सुदूरपश्चिमका बैतडी, बझाङ, दार्चुला, अछाम, डडेल्धुरा, कैलाली र कञ्चनपुरमा अधिवेशन सम्पन्न भइसकेको छ भने डोटी र बाजुरामा निर्वाचन बाँकी छ । रास्वपाले यही जेठ २६ गतेदेखि प्रदेश अधिवेशन सुरु गर्ने तयारी गरेको छ । मङ्गलबार बागमती प्रदेशको अधिवेशन हुने र त्यसपछि पार्टी असार ७ देखि ९ गतेसम्म चितवनमा प्रथम राष्ट्रिय महाधिवेशनमा जाने तयारीमा रहेको जनाएको छ ।
यस अघि नै पार्टीले चार हजार २५० वडा र ५१६ पालिकामा अधिवेशन सम्पन्न गरिसकेको छ ।


























Leave a Reply