काठमाडौं — परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकहरूमा रिक्त रहेको नेपालको राजदूत पदका लागि योग्य तथा इच्छुक नेपाली नागरिकबाट आवेदन र सिफारिस आह्वान गरेको छ ।
मन्त्रालयले मुलुकको परराष्ट्र नीति, अन्तरराष्ट्रिय सम्बन्ध तथा कूटनीतिक गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन र प्रवद्र्धन गर्ने उद्देश्यसहित राजदूत नियुक्ति प्रक्रियाअन्तर्गत आवेदन तथा सिफारिस माग गरेको जनाएको छ ।
मन्त्रालयद्वारा जारी सूचनाअनुसार इच्छुक तथा योग्य उम्मेदवारहरूले स्वयंले आवेदन दिन सक्नेछन् भने अन्य व्यक्ति वा संस्थाले समेत योग्य उम्मेदवारको नाम सिफारिस गर्न सक्ने व्यवस्था गरिएको छ ।
राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ बमोजिम आवश्यक योग्यता पूरा गरेका व्यक्तिहरूले आवेदन दिन सक्नेछन्। आवेदन वा सिफारिस गर्दा मन्त्रालयको वेबसाइटमा उपलब्ध फारममार्फत विस्तृत व्यक्तिगत विवरणसहित आवश्यक कागजातहरू पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। साथै मन्त्रालयले उपलब्ध गराएको इमेल ठेगानामार्फत पनि आवेदन तथा सिफारिस पठाउन सकिने जनाइएको छ।

मन्त्रालयले आवेदन तथा सिफारिस बुझाउने अन्तिम मिति यही जेठ २२ गते अपराह्न ५ बजेसम्म तोकेको छ। निर्धारित समयसीमा नाघेर प्राप्त भएका वा आवश्यक प्रक्रिया नपुगेका आवेदनहरूलाई छनोट प्रक्रियामा समावेश नगरिने स्पष्ट पारिएको छ।
प्राप्त आवेदन तथा सिफारिसहरूको अध्ययनपछि मन्त्रालयले प्रारम्भिक सूची तयार गर्नेछ। त्यसपछि योग्यता, अनुभव र उपयुक्तताका आधारमा उम्मेदवारहरूको ‘सर्टलिस्ट’ तयार गरिनेछ। सर्टलिस्टमा परेका उम्मेदवारहरूलाई मात्र थप छनोट प्रक्रियाका लागि सम्पर्क गरिने मन्त्रालयले जनाएको छ।
सरकारले राजदूत नियुक्ति प्रक्रियालाई थप पारदर्शी, प्रतिस्पर्धी र योग्यतामा आधारित बनाउन खुला आवेदन तथा सिफारिस प्रणाली अवलम्बन गरेको जनाएको छ।


























Leave a Reply